पर्यटन

तीन महिनाभित्र पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

काठमाडौँ । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तीव्र तयारी गरिएको हो ।  पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताए । उनले नगरपालिकाले अहिले पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको जानकारी दिए ।