समाचार

वीरगन्जका पोखरी छठ पर्वका लागि सिँगारियो

वीरगञ्ज (पर्सा), कात्तिक १९ गते । यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ । प्रायजसो: यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ । सोही अनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पार्ने काम गरिरहेका छन् । वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह पनि वीरगन्ज महानगरभित्र मनाइने छठ घाटहरूको नियमित रूपमा निरीक्षण गरिरहेका छन् । उहाँले छठ पर्वलाई भव्य र सभ्य ढङ्गले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिनुभयो ।