साफ वुमन्स च्याम्पियनसिप नेपाली महिला फुटबल खेलाडी सम्मानित

कार्तिक १९, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल खेलाडीहरु अमिशा कार्की र प्रिती राईलाई नगदसहित सम्मान गरिएको छ ।
साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा गोल गर्ने खेलाडी अमिशा कार्की र गोल गर्न सहयोग गर्ने खेलाडी प्रिती राईलाई भिजन क्लब्स् इन्टरनेशनलले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । 

प्रति गोल गर्ने खेलाडीलाई १० हजार दिने पूर्व घोषित योजनाबमोजिम भिजन क्लब इन्टरनेशनलका अध्यक्ष मंगलदास श्रेष्ठले कार्की र राईलाई सोमवार १०–१० हजार नगदसहित सम्मान गर्नुभएको हो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल र भिजन क्लब इन्टरनेशनलका अध्यक्ष मंगलदास श्रेष्ठले खेलाडीलाई माला लगाएर नगद र सम्मान पत्र सहित सम्मान गर्नु भएको थियो । 

सम्मान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं. ४ किसिगालस्थित भिजन क्लब अफ काठमाडौंको कार्यालयमा आयोजना गरिएको थियो । 

गत हप्ता बुधबार साँझ दशरथ रंगशालमा भएको फाइनल खेलमा बंगालदेशसँग नेपाल २–१ गोालले पराजित भएको थियो । 

कार्यक्रममा गोकणेश्वर नगर प्रमुख तथा कार्यक्रममा प्रमुख अतिथि मेयर रिसालले नेपाली टिमको खेल उत्कृष्ट रहेकोमा प्रशंसा गर्दै गोकर्णेश्वर नगरपालिकाले पनि खेलकुद विकासलाई प्राथमिकता दिएको बताउनुभयो । 

त्यसैगरी विशेष अतिथि भिजन क्लब्स् इन्टरनेशनलका अध्यक्ष श्रेष्ठले खेलकुदको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
उहाँले महिला खेलाडीले विश्वमा नेपालको नाम फैलाउँदै नेपालीको गौरव बढाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी पुरस्कार वितरण तथा अभिमुखीकरण कार्यक्रमको अवसरमा क्लबले नुवाकोटको  दुप्चेश्वर गाउँपालिकाकी क्यान्सर पिडित बालिका कृतिका श्रेष्ठलाई नगद २० हजार सहयोग गरेको छ । 
कार्यक्रम भिजन क्लब अफ काठमाडौंका अध्यक्ष राजकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया