ताल हुनु त च्छो रोल्पा जस्तो
हामीलाई सिमी गाउँ सम्म पुग्नु थियो ।
रातको अँध्यारोले छेतछेतलाई निलिसकेको थियो । तल हल्ला गर्दै दगुरी रहेको तामाकोसी बाहेक केही पनि ठम्याउन मुस्किल थियो । यो अन्धकारको बीच नहिँडी उपाय नै थिएन र बाटोको नाममा उकालोको अर्को विकल्प पनि थिएन । उकालो यसरी ठडिएको थियो कि एउटा झोला र आफ्नो शरीर एक छिन घिस्रयाउन पनि मुस्किल भयो ।
मनिष केही मिनेट हिँड्ने बितिकै थ्याच्चै भुईंमा बस्यो । ‘कस्सम दाइ जीउ खरानी नै भइसकेछ,’ मनिष बोल्यो । मैले सोचे बरु खरानी भए उडेर सिमिगाउँ पुग्ला तर यो पाराले हिँडेर सिमिगाउँ पुगिन्न । ‘गाई बाख्रा खेदाउन पछि लाग्नु रे, मान्छे खेदाउन अघि’ भने जस्तै मोबाइलको लाइट बलेर म मनिषको अघि अघि हिँड्न थालेँ ।
‘भोलिदेखि ढुक्कै हिँड्न सक्छु दाइ,’ मनिषले मतिर मोबाइलको लाइट देखाउँदै भन्यो । पत्याएझैं गरेर मैले मुन्टो हल्लाएँ । अँध्यारोमा नाकै ठोकिएलाझैँ उकालो हे दैव कम्ता गाह्रो भएन । ए दाइ एकछिन बसौं यार निकै बेर हिँडेपछि भेटिएको धारामा पुगेर मनिषले भन्यो । हामीले त्यहाँ एक तिर्खा पानी खायौं र एकछिन थकाइ मार्यौं ।
सिमी गाउँ कहाँ छ हामीलाई अत्तोपत्तो थिएन । थियो त केवल फन्को मारिमारी घुमेको सिँढी नै सिँढी टाँसेको बाटो । हामी उकालो लाग्यौं । जति जति उकालो ज्यान उति भारी हुन थाल्यो । पसिनाले पूरै जीउ निथ्रुक्कै भिज्यो । सास बढ्यो । छेतछेत बाट लगभग दुई घण्टा लाग्यो सिमी गाउँ पुग्न। वरपर अँध्यारो बिच बत्तीहरू तिलमिलाई रहेको थियो गाउँमा ।
रात परे पनि सजिलै अनुमान लगाउन सकिन्थ्यो कि गाउँ बाक्लो छ भनेर । कतै कसैका आँगन कतै बारी टेक्दै हामी हत्तु हैरान भएर सिमी गाउँको सिरान पाल्देनको होटेल पुग्यौं । पाल्देनले हामीलाई कोठा सम्म डोर्याए । मैले झोलासँगै मेरो शरीरलाई खाटमा फालिदिएँ । आराम पाएर जीउ बिस्तारै बेलुनझैं हलुका भयो । हिडाइले तातेको शरीर अलिअलि गर्दै चिसिन थाल्यो ।
हामी कोठाबाट निस्कियौं र आँगनै छेउको गोठमा गयौं । अगेनोमा धुवाँ पुतपुताइरहेको थियो । ठोस ठास पारेर आगो बाल्यौं । पाल्देनले तातोपानी ल्याइदिए । मनिष र म तातोपानी पिउँदै अगेनो अघिल्तिर अड्डा जमाएर बस्यौं ।
केही समयपछि किचनबाट आवाज आयो – खाना रेडी भयो है सर । हामी पाल्देनको आवाज पछ्याउँदै किचन तिर लाग्यौँ । भोक गज्जबले लागेको थियो । खाना मजासँग खाइयो । पाल्देनले दिएको खानाले भोको पेट शान्त भयो तर उसको कुराले मन भने अशान्त । ‘नाँ गाउँ मा मान्छे छैनन् सर । चिसोले गर्दा सबै काठमाडौँ फर्किसके । होटेलमा मान्छे भेट्न मुस्किल छ हौ,’ पाल्देनले सुनायो । हामी अक्क न बक्क भयौँ । त्यो बेला मलाई सुरु नहुँदै हाम्रो यात्रा सकिएझैँ लाग्यो ।
Reference : https://www.onlinekhabar.com\
प्रतिक्रिया