नेपाल डे परेड 2025 को तयारी तीव्र, NYPD सँग परेड रुटको समन्वय सम्पन्न

न्युयोर्क, अप्रिल १५ – आउँदो मे १८, २०२५ मा अमेरिकाको न्युयोर्क सहरको म्यानहट्टनमा भव्य रूपमा आयोजना हुन गइरहेको नेपाल डे परेडको तयारीलाई तीव्रता दिइएको छ। परेडलाई सफल, सभ्य र शानशौकतपूर्ण ढंगले सम्पन्न गर्नका लागि NYPD (New York Police Department) का अधिकृतहरूसँग परेड आयोजक समितिको विशेष छलफल सम्पन्न भएको छ।

 

परेड सुरक्षाको संयोजन र व्यवस्थापनका लागि NYPD ले तोकेको अधिकृत Sergeant Lavine सहित विभिन्न शाखाका प्रमुखहरूसँग समितिका प्रतिनिधिहरूबीच विस्तृत छलफल गरिएको हो। छलफलमा नेपाल डे परेड २०२५ आयोजक समितिका संस्थापक अध्यक्ष लुइसाङ वाइबा, परेड संयोजक मनिता गुरुङ, NRNA न्युयोर्कका कार्यवाहक अध्यक्ष तथा परेड अध्यक्ष छिरिङ शेर्पा, सचिव राजु तामाङ, आर्थिक संयोजक कृष्ण आचार्य, साथै अन्य समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

छलफलमा परेडको सम्पूर्ण व्यवस्थापन, सुरक्षा, ट्राफिक सञ्चालन, सहभागीहरूको लाइनअप, सांस्कृतिक झाँकीहरूको व्यवस्थापन लगायतका विषयहरूमा गहन छलफल गरियो। NYPD ले परेडको आधिकारिक रुट समेत आयोजक समितिलाई हस्तान्तरण गरेको छ, जसअनुसार परेड म्यानहट्टनको निर्धारित मार्ग हुँदै सम्पन्न गरिनेछ। परेडको ऐतिहासिक महत्व, अपेक्षित भीड तथा न्यूयोर्क सहरका व्यस्त सडकलाई मध्यनजर गर्दै आयोजित उक्त बैठकमा परेड मार्ग, सडक बन्द हुने समय, सुरक्षाकर्मीहरूको तैनाथी, आपतकालीन योजना, स्वयंसेवकहरूको भूमिका लगायतका महत्वपूर्ण विषयमा पनि छलफल भएको छ ।

NYPD का अधिकारीहरूले परेडको शान्तिपूर्ण र व्यवस्थित सञ्चालनका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्। साथै, विशेष अतिथि तथा विदेशी पाहुनाहरूको सुरक्षाका साथै भीड व्यवस्थापनमा थप सतर्कता अपनाइने जानकारी गराइएको छ।

समितिका संयोजक मनिता गुरुङले यस पटकको परेडमा नेपाली पहिचान, संस्कृति, भाषा, भेषभूषा र विविधतालाई अझ भव्य रूपमा प्रस्तुत गरिने बताइन्। साथै, आयोजक समितिका अध्यक्ष छिरिङ शेर्पाले परेडमा न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायको ऐक्यबद्धता र गौरवपूर्ण सहभागिता देखिने विश्वास व्यक्त गरे।

संस्थापक अध्यक्ष लुइसाङ वाइबाले भने – “नेपाल डे परेड केवल सांस्कृतिक कार्यक्रम मात्र नभई, यसले प्रवासमा रहेका नेपालीहरूको पहिचान, एकता र गौरवलाई विश्व सामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हो।”

यसपटकको नेपाल डे परेडलाई ऐतिहासिक र सन्देशमूलक बनाउनका लागि आयोजक समितिले सम्पूर्ण नेपाली समुदायलाई अग्रिम निम्तो दिएको छ, साथै सबै पक्षलाई सहकार्य र सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया