भक्तपुरको थिमीमा सिन्दूरेजात्रा

भक्तपुर, वैशाख २ गते । भक्तपुरको मध्यपुर थिमीमा सिन्दूरेजात्रा मनाइएको छ । हरेक वर्षको सुरुवातमा भक्तपुरको मध्यपुर थिमीमा मनाइने सिन्दूरे जात्रा बिस्केट जात्राअन्तर्गत हुने एक महत्त्वपूर्ण जात्रा हो । बिस्केट (बिस्काः) जात्राको अवसर पारेर मनाइने ३२ टोलबाट देव देवताका खट बालकुमारी मन्दिरमा ल्याइन्छ । त्यहाँ सबै खट आइपुगेपछि सिन्दूरेजात्रा मनाइन्छ । देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहिआएको छ । 

जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर, फूल छर्केर स्वागत गर्ने प्रचलन छ । जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकआपसमा सिन्दूर (अबिर) दलेर नगर परिक्रमा गर्ने परम्परा छ । जात्रामा थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन छ ।

Source: Gorkhapatra

प्रतिक्रिया