‘वडाध्यक्ष र मेयर दुवैले पुराना कुरा भुलेर सहकार्य गर्नुपर्छ’

राणाकालदेखि नै धरानमा पानीको जोहो गर्ने प्रयास सुरु भएको हो । १९९२ सालतिर जुद्धशमशेरले फुस्रेको सर्दुमा पानी ट्यांकी बनाए, जहाँबाट धरान र माथि विजयपुरसम्म पानी पुर्याइन्थ्यो ।
सर्दु जलाधारको पानी खानेपानीका रूपमा प्रयोग गर्न थालिएपछि यसको संरक्षणको काम सुरुवाती दिनमा प्रभावकारी बन्न सकेन ।

२०३३ सालमा राजा वीरेन्द्रले सर्दुको जलाधार क्षेत्रलाई संरक्षण गर्न त्यस क्षेत्रमा बसोबास गरिरहेका मानिसलाई मोरङको शनिश्चरे सारे । तर, दुर्भाग्य के भने सट्टा भर्ना जग्गा दिए पनि फिल्ड बुकबाट यहाँको जग्गाको लगत काटिएन । परिणामतः मानिसहरूले फेरि सर्दु जलाधार क्षेत्र मिच्न सुरु गरे । आफ्नो हकअधिकार कायम छ भनेर बस्न थाले ।

पछि स्थानीय कृष्णनारायण पालिखेले सर्दु जलाधार क्षेत्र सार्वजनिक संरक्षित जग्गा हो र यसमा व्यक्तिको अधिकार छैन भन्दै मुद्दा हाले । अदालतले पनि सर्दुलाई संरक्षित क्षेत्र माने पछि यस विषयमा अहिलेसम्म सानोतिनो विवाद कायमै छ ।

यो महाभारत पर्वत शृंखलाको फेदमा रहेको बस्तीमा जनसंख्या बढ्दै गएपछि सर्दु, खर्दु लगायत जलाधार क्षेत्रको पानीले अपुग हुन थाल्यो । बेलायतीहरूले सैनिक भर्ती गर्ने क्याम्प राखेपछि जनसंख्या अझ बढ्यो र हाल करिब २ लाख पुगेको छ । यति धेरै जनसंख्यालाई सर्दु र खर्दुको पानीले मात्र पुग्ने कुरै भएन ।

प्रतिक्रिया