एमाले केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा दुई वटा कुराको बडो राम्रो मन्थन, चित्रण र आत्मस्वीकृति छ ।
पहिलो, प्रतिवेदनले देशको आर्थिक तथा राजनीतिक संकटको बडो जीवन्त चित्रण गर्दछ । प्रतिवेदनको ‘आर्थिक मन्दी र आसन्न आर्थिक संकट’ उपशीर्षक त गज्जबको आर्थिक निबन्ध जस्तै लाग्दछ । भलै, देश यस्तो जटिल र संकटग्रस्त स्थितिमा किन, कसरी र कसको कारण पुग्यो ? त्यसको जिम्मेवारीमा स्वयं एमालेको अंशियारी कति हो ? यस्ता प्रश्नमा भने आफू बाहेकका अरू दल र राजनीतिक शक्तिलाई दोष लगाउँदै पन्सिन्छ । आफूलाई ‘पानीमाथिको ओभानो’ देखाउने प्रयास गर्दछ ।
दोस्रो, भर्खरै सम्पन्न उपनिर्वाचनमा पार्टी उल्लेखनीय रूपमा कमजोर भएको स्वीकार गर्दछ । एमालेले उपनिर्वाचनमा ‘संख्यात्मक क्षति व्यहोर्नु नपरेको भए पनि मतमा उल्लेखनीय कमी आउनु चिन्ताको विषय हो’ भन्दछ । ‘गत वर्ष मंसिरमा सम्पन्न आम निर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालका परिणाम आउनु गम्भीर विषय’ ठान्दछ ।
राजनीतिक प्रतिवेदनमा अभिव्यक्त यी दुई ‘सत्य’ बाट प्रष्ट हुन्छ कि एमालेको मनमा ढ्याङ्ग्रो बजिसकेको छ । देशको राजनीति, शक्ति सन्तुलन र जनमत उसले चाहेको/इच्छाएको बाटोमा वा पार्टीको अनुकूल हुने गरी हिंडिरहेको छैन भन्ने ज्ञान एमाले पंक्तिलाई भइसकेको छ । पार्टी अस्तित्व संकटको भय एमाले नेता/कार्यकर्तामा व्यापक हुँदै गएको छ ।
प्रतिक्रिया