एउटा गीतको समाजशास्त्र
यदि तपाईं ५९ प्रतिशत वा सामाजिक सञ्जालको पहुँचबाहिरको जनसंख्यामा पर्नुहुन्छ, तर यस लेखको पहुँचभित्र हुनुहुन्छ भने तपाईंलाई यो जानकारी गराऊँ, केही दिनयता प्रकाश सपूतको ‘फूलमाया (सकम्बरी)’ भन्ने गीत युट्युब र टिकटकको ट्रेन्डिडमा छ । आज त्यही गीतबारे केही विमर्श गरौं ।
सकम्बरी गीतले समाजलाई तरंगीत पार्ने केही लहर उत्पन्न गरेको छ । यसले टिकटक बनाउने गजबका लाइनहरू मात्र दिएको छैन, एउटा सिंगो कथा बोकेको छ । यसलाई गीत नभनेर गीतिकथा भन्दा पनि फरक नपर्ला । कलिलो उमेरकी फूलमाया एक थान सपना सँगालेर गाउँबाट सहर पस्छे । सहर पस्नु उसको रहर नभएर बाध्यता हुन्छ । नजिकैको दाइ पर्नेले सहर जाने मेसो मिलाउँछ, काम खोजिदिन्छ, बास मिलाइदिन्छ । तर फूलमायाले सोचेको सहर र भोग्ने सहर भिन्न हुन्छ । सहरमा फूलमायाले केही कुरा पाउँछे र त्योभन्दा कैयौं बढी गुमाउँछे । सहर पुगेदेखि नै एकपछि अर्को गर्दै फूलमायाका जीवनमा विभिन्न पात्र आउँछन्— कोही दाइ बनेर, कोही ग्राहक, कोही साहु, कोही लगानीकर्ता आदि बनेर । सबैले फूलमायालाई वस्तुका रूपमा भरपूर प्रयोग गर्छन् । बिस्तारै ऊ सहरको रंगीन दुनियाँमा अभ्यस्त हुन थाल्छे । एक दिन उसले आफ्नो जीवनलाई पुनः आफ्नै नियन्त्रणमा लिन्छे र सकम्बरी बन्छे । विम्बकै रूपमा पनि सकम्बरी बन्नु यो समाजका लागि आजको दिनमा पनि चुनौती हो । उसको यौनिकता र गतिशीलतामा नियन्त्रण गर्दै नाफा लुट्न अभ्यस्त वर्ग, समूह र लिंगलाई यो सह्य हुने कुरै भएन । जमातले ऊमाथि चोरीऔंलो ठड्याउँदै भन्छ- तँ पापिनी होस्, कुलंगार होस्, इज्जत नभएकी बेसरम होस् ।
सपूतले यो गीत वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने एक श्रमिक युवतीको जीवनमा आधारित भएर बनाएका छन् ।
प्रतिक्रिया