नेपाल एउटा देश छ
देशमा मान्छेमान्छे छन्
मान्छे मान्छेसँग मिल्दैनन्
बेमेलको बीउ आशंका
आशंका उमार्ने होहल्ला
अविश्वासले मान्छेलाई बेमेल गरायो हजुर,
हल्लैहल्लाको देश नेपाल मेरो !
नेपाल एउटा देश छ
देशमा मान्छेमान्छे छन्
मान्छे मान्छेसँग मिल्छन्
आशंका गर्नेहरू एकातिर
विश्वास गर्नेहरू अर्कैतिर
दुवै शंकालु छन् र शंका गर्छन्
शंका गर्नेहरू मिल्छन्
शंका नगर्नेहरू पनि मिल्छन्
यता भत्काएर उता मिलेको
फगत मेल-बेमेल छुट्टियो हजुर,
मेरो देश नेपाल दुईतिर बाँडियो!!
नेपाल एउटा देश छ
देशमा मान्छेमान्छे छन्
मान्छे मान्छेसँग डाही छन्
डाहले देश डामेको छ
घर जलाएर खरानीको व्यापार
खरानीमै लुछाचुँडी बढेको छ हजुर,
मेरो देश नेपाल निःशव्द टोलाइरहेको छ !
नेपाल एउटा देश छ
देशमा मान्छेमान्छे छन्
मान्छे मान्छेसँग कपटी छन्
कपटी स्वार्थ दन्दनी बलेको देशमा
विकासका नजरै लाग्न नदिएर
विनाश सहजै अँगालिएको छ हजुर,
ध्वस्त मेरो देश मलामीहरू पर्खिरहेको छ!
प्रतिक्रिया