मेयर भएँ भन्दैमा चुप लाग्नुपर्छ भन्ने हुँदैन

धरानप्रतिको इमानदारी र सामाजिक अभियन्ताकै रूपमा मेयर बन्न सफल बनेको निष्कर्ष निकाल्ने साम्पाङ भन्छन्, ‘मैले आज यत्रो ठूलो अभियान सञ्चालन गरिरहेको सबै सामाजिक सञ्जालकै बलमा हो। आज म मेयर भएँ भन्दैमा चुप लाग्नुपर्छ भन्ने हुँदैन।’

प्रस्तुत छ, मेयर हर्क साम्पाङसँग अनलाइनखबरका सागर चन्दले गरेको कुराकानीको सम्पादित अंश :

खानेपानी भनेर चुनाव जित्नुभयो । एक वर्षदेखि त्यही भनिरहनुभएको छ । समस्या चाहिं कति समाधान भयो ?

सुधार मनग्ये भएको छ, समाधान भएको छैन । खोलाखोलीको पानी ट्यांकीमा जोड्ने काम भएको छ । वेलहरू मेन्टेन गर्ने, पम्प जडान गर्ने, जगेडा पम्प राख्ने काम भइरहेको छ । धरानको पानीको समस्या दीर्घकालीन गर्न भने कोशीकै भर छ । कोशीकै पानी ल्याउनुपर्छ ।

कोशीको पानी ल्याउन सम्भव छ त ?

अहिले हामीले गरिरहेको प्रयास अल्पकालीन समाधान हो । तर कोशीको पानी ल्याउने काम यही कार्यकालमा सम्भव हुन्छ । सम्भव गर्नैपर्छ, यसपालि हुनैपर्छ । यसका लागि म कहिले डिप्लोमेटिकल्ली, कहिले कडा आवाज उठाएर लागिरहेकै छु । यसपटक कोशीको पानी धरान ल्याउन बजेट चाहिन्छ भनेर मैले भनिरहेकै छु ।

धरान जस्तो आधुनिक शहरमा खानेपानी समस्या समाधान गर्न कोशीकै पानी चाहिन्छ । केन्द्र सरकारले धरान जस्तो पुरानो र ठूलो शहरलाई हेला गर्न पाउँदैन र सक्दैन पनि ।

कतै प्रशस्तै पानी आउने त कतै अपुग हुने रहेछ । वितरण प्रणाली सुधार किन हुन नसकेको ?

मैले कार्यपालिका बैठक बारम्बार बोलाइरहेको छु । केही वडाअध्यक्ष र कार्यपालिका सदस्यको के कुरामा चित्त बुझेको छैन मैले बुझ्न सकिरहेको छैन । मैले त मेरो काम गरिरा’छु, गरिराख्छु ।

वितरणको समस्या जति सक्दो समाधान गर्ने प्रयास भइरहेको छ । खानेपानी वितरण कर्मचारीले गर्छन्, सबै कुरा कर्मचारीलाई थाहा हुन्छ । कर्मचारीले यसमा लापरबाही गरेको देखिएको छ । काम नगर्नेलाई म घर जानुहोस् भनिहाल्छु ।

नियमन गर्दै जाँदा धेरै कर्मचारी छाँट्नुपर्ने देखेको छु । यसकारण वितरण समस्या समाधान गर्न सक्रियतापूर्वक लाग्न कर्मचारीलाई भनेको र आफैं खटिएको छु ।

  तपाईंले कार्यालयलाई भन्दा श्रमदानलाई बढ्ता समय दिनुभयो भन्ने सुनिन्छ नि ?

प्रतिक्रिया