जनता सन्तुष्ट छन्, योभन्दा बढी के गर्न सकिन्छ र !

भरतपुर महानगरपालिकाको दोस्रो कार्यकालका लागि महानगर प्रमुखमा रेनु दाहाल विजयी भएको पनि एक वर्ष पुग्यो । एक वर्षमा भए/गरेका काम, महानगरवासीका अपेक्षा, विकास निर्माणका कामको निरन्तरता जस्ता विषयमा महानगर प्रमुख दाहालसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी :

महानगर प्रमुखका रूपमा पहिलो कार्यकाल पूरा गरेर दोस्रो कार्यकालको पनि पहिलो वर्ष पूरा भयो, कस्तो पाउनु भा’छ महानगर ?

समग्र विकास र कामका हिसाबले सन्तुष्ट छु । जो पहिला सुरु गरिएका आयोजना थिए तिनीहरूको निरन्तरता र नयाँ आयोजना ल्याउने काम यो बीचमा भएको छ । प्रतिबद्धता अनुसार नै कामहरू भइरहेका छन् भन्ने लाग्छ, सन्तुष्ट नै छु । चालु वर्षमा भरतपुर विमानस्थलको विस्तारसहितको टर्मिनल भवनको काम अगाडि बढेको छ । जटिल बनेको गौतमबुद्ध क्रिकेट रंगशालाको काम गर्ने बाटो खुलेको छ । नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का लागेको छ । तटबन्धका कामहरू जारी छन् ।

संघीय सहकारी विकास मन्त्रालयबाट स्मार्ट सिटी बनाउन आवश्यक पूर्वाधार अन्तर्गत चालु वर्षमा नै ५० करोड बजेट आएको छ । त्यसबाट नारायणी नदी किनारमा ‘सी बिच’ मोडलमा ब्यूटिफिकेसन सहितको पूर्वाधारको काम जारी छ, देवघाटमा बसपार्क र थप ७ वटा लिंक सडकहरूका लागि सो रकम खर्च हुँदैछ । समग्रमा ठिकै भा’छ ।

स्वास्थ्य, शिक्षाको क्षेत्रमा पछिल्लो वर्ष के के काम भए ?

महानगरपालिकाका २९ वटै वडामा स्वास्थ्य कार्यालय भवनसहित जनशक्तिको उचित विन्यास गरेका छौं, जुन हाम्रो प्रतिबद्धता नै थियो । स–साना स्वास्थ्य समस्या हुँदा अब ठूला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भयो । भरतपुर अस्पताललाई केन्द्रीय संघीय अस्पताल र शिक्षण अस्पतालको रूपमा विकास गर्ने घोषणा भएको छ । सोही अनुसारको पूर्वाधार र जनशक्ति थपमा काम हुँदैछ । यस्तै, भरतपुर–१५ मा ७ बिघा जमिनमा केन्द्रीय शिक्षक अस्पताल बनाउन संघीय सरकारबाट गुरुयोजना बनाउने काम अगाडि बढेको छ । प्रदेशस्तरीय १०० बेडको आयुर्वेद अस्पताल बनाउन ३५ करोड बजेट विनियोजन भएर काम सुरु हुँदैछ ।

शिक्षाको क्षेत्रमा पनि हामीले महत्वपूर्ण उपलब्धि हात पारेका छौं । यो अवधिमा महानगरका ८ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा थप भएका छन् । नयाँ विद्यालय भवनहरू बनाउने, रंगरोगन र फल्स सिलिङ्ग हाल्ने, प्रयोगशाला आइटी ल्याबहरू खोल्ने, विद्यालयहरूलाई बसहरू उपलब्ध गराउने, नर्सको व्यवस्था गर्ने, शुद्ध  पिउने पानीको प्रबन्ध गर्ने जस्ता काम एकातिर भएका छन् भने अर्कोतिर, विद्यालयहरूमा पढ्दै कमाउँदै गर्ने नीति अनुसार सीप विकासका लागि ३ वटा विद्यालयमा तीन लाखका दरले रकम उपलब्ध गराउन कार्यविधि नै तयार गरेका छौं । पढ्ने मात्रै नभई व्यावहारिक ज्ञान नै दिलाउने हिसाबले काम थालेका छौं ।

प्रतिक्रिया