‘दलितमाथि ज्यादतिले सीमा नाघ्यो’

जातीय भेद्भाव र छुवाछूतजन्य व्यवहार

काठमाडौँ — अन्तरजातीय विवाहको निहुँमा जुम्लामा दलित समुदायका एक युवाको घरमै आगो लगाइदिएको घटनामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले जुम्लामा भएको घटनाले दलित समुदायमाथि अहिले पनि जातीय भेद्भाव र छुवाछूतजन्य व्यवहार कायम रहेको र त्यस्ता भेदभावपूर्ण सोचकै कारण जघन्य प्रकृतिका अपराधहरू समेत कम नभएको उजागर भएको बताएका छन् । 

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले दलित समुदायमाथि हुने ज्यादतिले सीमा नाघेको बताए । ‘दलित समुदायमाथि ज्यादतिले सीमा नाघ्यो, अब त अति भयो,’ उनले अघि भने, ‘जातीय भेद्भाव र छुवाछूतका एकपछि अर्को आपराधिक घटना दोहोरिएका छन् । सरकार समाजलाई यही अवस्थामा कहिलेसम्म राखिरहने हो ?’

उनले हालै जुम्लाको तातोपानी गाउँपालिका–४, गिडिखोलाका मुकेन्द्र नेपालीको घरमा उनले अन्तरजातीय विवाह गरेकै कारण गरिएको आगलागनीको घटनादेखि प्रभात बसेल र अजित मिजारसम्मका घटनाको विवरण उल्लेख गर्दै दलितमाथि अहिले पनि जघन्य अपराधको श्रृंखला नरोकिएको बताए ।

‘अहिले जुम्लामा जसरी आगलागी भयो, त्यस्तै अन्तरजातीय विवाह गरेकै कारण सात वर्षअघि काभ्रेका अजित मिजारको षड्यन्त्रपूर्ण हत्यो भयो । अहिले पनि हत्यारा खुलेआम हिँडिरहेका छन् । तर अजितको लास उठेको छैन । उनको लास अहिले पनि अस्पतालमै कुहिरहेको छ,’ सांसद बरालीले भने, ‘प्रेमविवाह गरेकै कारण अस्ति भर्खरै बागलुङका प्रभात बस्याललाई बलात्कार र अपहरणको मुद्दा लगाएको छ । यस्तो ज्यादति कहिलेसम्म रहिरहने ?’

उनले दलित समुदायमाथि भइरहेका विभेदपूर्ण व्यवहारको अन्त्य गर्न सरकारले सचेतनामूलक कार्यक्रमहरू ल्याउनुपर्ने माग गरे ।

सांसद बरालीले जातीय भेद्भाव र छुवाछूत अन्त्य गर्ने विषयमा अध्ययन र कार्ययोजना बनाउन संसदीय विशेष समिति गठन गर्नसमेत माग गरे ।

नेपाली कांग्रेसकी सांसद सीता मिजारले अन्तरजातीय विवाह गरेकै कारणले दलितको घरमा आगजनी गर्नु जातीय भेदभावको पराकाष्ठा भएको बताइन् । उनले विभेदकारी जात व्यवस्थाकै कारण दलित समुदायले अहिले पनि अन्यायपूर्ण जीवन बाँच्न बाध्य हुनुपरेको बताइन् ।

‘अन्तरजातीय प्रेम र विवाह गरेकै कारण दलित समुदायका अझै कति युवाले आफ्नो ज्यान र धनसम्पत्ति गुमाउनुपर्ने हो ? ज्यान जोगाउनकै कालागि कति जनाले बस्ती छोडेर भाग्नुपर्ने हो ? के यो राज्यका मानिसहरू र कानूनको नजरमा ग्रहण लागेको हो ?,’ सांसदको मिजारको प्रश्न छ । उनले दलित समुदायले आत्मसम्मानका साथ बाँच्न पाउने अवस्थाको सुनिश्चतता गर्न सरकारसँग माग गरिन् ।

जुम्लाबाटै निर्वाचित सांसद राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि जुम्लामा अन्तरजातीय विवाहका कारण भएको घटनाप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीका लागि माग गरे । ‘यो देशमा जातीय छुवाछूतविरुद्ध थुप्रै आन्दोलन भए । त्यसको जस लिनेहरू नै अहिले सत्तामा छन् । तर हामीलाई थाहै छ, इतिहासमै ठूलो नरसंहार अस्ति रुकुममा भयो, त्यस्तै प्रकृतिको घटना अहिले मेरो जिल्ला हुम्लामा घटेको छ,’ उनले भने, ‘अहिलेको २१ औँ शताब्दीमा आएर समेत यस्तो भेद्भभाव कायम रहनु एकदमै दुःखद् छ ।’

उनले दलित समुदायको राजनीतिक अवस्थालाई माथि उठाउन दलहरूले ध्यान पुर्‍याउनुपर्ने बताए । ‘जातीय भेद्भाव त्योबेला मात्रै अन्त्य हुन्छ, जतिबेला दलित समुदायको मान्छे यो देशका कार्यकारी बन्छ,’ उनले भने ।

उनले सर्वहारा वर्गको कुरा गर्ने, तर लक्षित समुदायको हितका लागि रत्तिभर काम नगर्ने राजनीतिक दलको चरित्रका कारण जातीय भेद्भाव र छुवाछूतको अन्त्य हुन नसकेको बताए ।

नेपाली कांग्रेसकी अर्की सांसद शान्ति परियार विकले संविधानले सबै मानिसले सम्मानपूर्वक जीवन बाँच्न पाउने हक दिएको भए पनि दलितहरूले भने त्यस्तो अधिकार नपाएको बताइन् । ‘संविधानले सबै मानिसलाई सम्मानपूर्वक बाँच्ने हक दिएको छ । तर यहाँ दलित समुदायमाथि भएका उत्पीडनका घटनाको विषयमा बोल्दामात्रै पनि अपमानित महसुस हुन्छ,’ उनले भनिन्, ‘अहिले पनि जातीय भेदभाव र छुवाछूतका विषयमा समाज कति निकृष्ट छ भन्ने कुरा अहिले जुम्लामा अन्तरजातीय विवाह गरेको निहुँमा मुकेन्द्र नेपालीको घरमा केटीका दाजुले गरेको आगलागीको घटनाले प्रस्ट पारेको छ ।’

उनले गोरखा, दाङ र बागलुङमा भएका घटनासमेत उल्लेख गर्दै दलित समुदायमाथिको अत्याचार अन्त्य गर्न ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया