हिनाअघि नै नेपालमा कोरोना संक्रमित ३९ लाख पुगेको अध्ययन निष्कर्ष, हालसम्म १७ लाख ६४ हजार परीक्षण
स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले देशभर ३९ लाखजना कोरोना संक्रमित भइसकेको देखाएको छ । सेप्टेम्बर अन्तिम साता गरिएको सर्वेक्षणको प्रतिवेदन विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ । तर, अझै उक्त प्रतिवेदन गोप्य राखिएको छ ।
देशको कुल जनसंख्याको कति प्रतिशत नागरिक कोरोना संक्रमित भए भन्ने जानकारी हासिल गर्न सर्वेक्षण गरिएको थियो । सर्वेक्षण टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालसहित डा. जनक कोइराला, डा. गुणराज लोहनी, डा. सुरेश तिवारी र विश्व स्वास्थ्य संगठनका विज्ञहरू थिए । सर्वेक्षणमा रगतको माध्यमबाट एन्टिबडी अध्ययन गरिएको थियो । त्यसयता संक्रमण थप फैलिएकाले यो संख्या अझै बढेको अनुमान सरकारी अधिकारीहरूको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीका अनुसार हिमाल, पहाड, तराई तीनैक्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वेक्षण गरिएको थियो । मनाङ र मुस्ताङबाहेक ७५ जिल्लाबाट ६ हजार पाँच सयजनाको नमुना संकलन गरिएको ती अधिकारीले जानकारी दिए । सर्वेक्षणमा सहभागी गराइएकाहरू ६ महिनादेखि बढी उमेर समूहका छन् । सहभागीबाट लिइएको रगतको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आफ्नो रिपोर्ट बुझाइसकेको छ ।
केही दिनभित्रै मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्ने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । मन्त्रालयले सार्वजनिक नगरुन्जेल रिपोर्ट उपलब्ध गराउन नमिल्ने उनको भनाइ छ ।
केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार सेप्टेम्बर अन्तिमसम्म देशको कुल जनसंख्या करिब तीन करोड एक लाख एक सय ३० रहेको प्रक्षेपण थियो । उक्त आँकडालाई आधार मान्दा कुल जनसंख्याको १२ दशमलव ९९ प्रतिशत अर्थात् करिब ३९ लाखजनामा कोरोना संक्रमण भइसकेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिवेदनमा थप अध्ययनपछि मात्र रिपोर्ट सार्वजनिक गर्ने पक्षमा मन्त्रालय देखिन्छ । त्यसअघि उल्लेखित विषय सार्वजनिक नगर्न मन्त्रालयले निर्देशन दिएको सर्वेक्षणमा सहभागी विज्ञहरू बताउँछन् ।
प्रदेश–२ सबैभन्दा बढी प्रभावित
महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार कोभिड–१९ बाट प्रदेश–२ सबैभन्दा बढी प्रभावित भएको सर्वेक्षणले देखाएको छ । उक्त प्रदेशको कति प्रतिशत जनसंख्या संक्रमित भयो भन्ने जानकारी डा. पाण्डेले नदिए पनि त्यहाँको कुल जनसंख्याको २३ प्रतिशत संक्रमित भइसकेको सर्वेक्षणमा देखिएको मन्त्रालयको एक उच्च स्रोतले जनाएको छ ।
सर्वेक्षणअनुसार कोरोना संक्रमण बढी देखिएका प्रदेशमध्ये दोस्रोमा बागमती, तेस्रोमा प्रदेश–१, चौथोमा लुम्बिनी र पाँचौँमा कर्णाली छन् । ती प्रदेशको कति प्रतिशत जनसंख्या संक्रमित भयो भन्ने गोप्य राखिएको छ । ‘६ हजार पाँच सयजनाको नमुनाबाट राष्ट्रकै प्रतिनिधित्व गर्ने हिसाबले सर्वेक्षण गरिएको थियो,’ मन्त्रालय स्रोत भन्छ
https://www.nayapatrikadaily.com/news-details/55889/2020-12-03
प्रतिक्रिया