हाम्रा नानीबाबुलाई सिकाउनु छ ‘आध्यात्मिक शिक्षा’

हाम्रा नानीबाबुलाई सिकाउनु छ ‘आध्यात्मिक शिक्षा’

हामी बालबालिकालाई ‘सिद्धार्थ गौतम’को जीवनी पढाउँछौं । उनीहरुले सरर बुद्धको जीवनकथा भन्न सक्छन् । त्यस पाठबाट सोधिएका प्रश्नको हुबहु जवाफ दिन सक्छन् । तर, यो पाठ छिचोलेका हाम्रा नानीबाबुहरुले आफुलाई बुझ्ने र संसारलाई हेर्ने दृष्टि बदल्छन् ?

गहन लाग्नसक्छ, तर यो प्रश्न हामीले आफैसँग सोध्नुपर्ने हुन्छ ।

हामीले उनीहरुलाई ‘बुद्ध’ पढायौं । तर बुद्धत्वको बाटोमा लाग्ने विधिहरु अभ्यास गराएनौं । त्यसैले उनीहरु पढे, पास भए, जागिर खाए, सम्पन्न भए । तर, के उनीहरु सन्तुष्ट छन् ? आनन्दित छन् ? सबैप्रति सद्भाव राख्छन् ? करुणा भाव जगाउँछन् ? विनयी छन् ?

आज मान्छे सफल छन् तर सन्तुष्ट छैनन् । सम्पन्न छन् तर आनन्दित छैनन् । किनभने उनीहरुले कसरी धन कमाउने भनेर त सिके तर, कस्तो जीवन बाँच्ने भनेर सिकेनन् । त्यसैले हिंसा, घृणा, इर्ष्या, लोभ, दूराचार जस्ता विकारले मान्छेलाई जीर्ण र खोक्रो बनायो ।

हाम्रा नानीबाबु कस्तो होउन् ?

के हामीले हाम्रा नानीबाबुहरु यसरी नै विकारग्रस्त होस् भन्ने चाहेका छौं । पक्कै छैनौं । हामी त चाहन्छौं, उनीहरु सधै सुख र आनन्दको जीवन बाँचोस् । आदर, श्रद्धा, प्रेमले सुशोभित होउन् । मीठो बोली, नम्र व्यवहार, सत्य दृष्टि, सकारत्मक चिन्तन जस्ता सद्गुणहरुको विकास गरुन् ।  सन्तुलित आहार-विहारले आफुलाई स्वस्थ, तन्दुरुस्त र ताजा राखुन् ।

तर, कसरी हाम्रा नानीबाबुहरु यस्ता गुणहरुले युक्त हुन सक्छन् ?

यसका लागि हामीले नानीबाबुलाई ‘बुद्ध कहाँ जन्मेको ?’ भन्ने प्रश्नको उत्तर घोकाएर मात्र पुग्दैन । उनले प्रतिपादन गरेको ध्यान र ज्ञानलाई जीवनमा उपयोग गर्न अभ्यास गराउनुपर्छ । त्यसलाई जीवन पद्धतीकै रुपमा विकास गराउनुपर्छ । तब, हाम्रा नानीबाबुहरु सही अर्थमा बुद्धभूमीका सन्तती कहलिन्छन् ।

के हो आध्यात्मिक शिक्षा ?

अहिले हाम्रो जुन शिक्षा प्रणाली छ, त्यसले बालबालिकालाई सफल बन्नुपर्छ भन्छ । आध्यात्मिक शिक्षाले असल बन्न प्रेरित गर्छ । जीवनको मूल्य बुझाउँछ । र, जगतलाई सही ढंगले हेर्न सिकाउँछ ।

विद्यमान शिक्षाले भन्छ, ‘मान्छेलाई कुट्नु हुँदैन । प्रहरीले समाउँछ ।’

आध्यात्मिक शिक्षाले भन्छ, ‘मान्छेलाई कुट्नु हुँदैन । उसलाई दुख्छ, पीडा हुन्छ ।’

आध्यात्मिक शिक्षाले मान्छेलाई अनुशासित होइन, आत्म-अनुशासित बनाउँछ । कर्म र कर्तव्य बोध गराउँछ । सही र गलत छुट्याउने चेतना दिन्छ । सबैप्रति हार्दिकता र प्रेमले बाँच्न सिकाउँछ ।

कुलत, कुसंगत, कुकर्म, कुदृष्टि जस्ता विकारबाट अलग गराउँछ । विनयी, विनम्रता, सद्भाव, सत्य जस्ता गुणहरुको विकास गरिदिन्छ । जसले गर्दा हाम्रा नानीबाबुहरु वास्तवमै सुन्दर जीवन बाँच्न सक्षम हुन्छन् ।

 

कसरी दिने आध्यात्मिक शिक्षा ?

योग, ध्यान, प्राणायाम, प्रार्थना, सत्संग आदिले आध्यात्मिक चेतनाको विकास गराउँछ । हाम्रा नानीबाबुलाई सानै उमेरदेखि ध्यान गर्न सिकाउने, प्राणायामको विधि अभ्यास गराउने, सत्संग सुनाउने गर्न सकिन्छ ।

अहिलेका बालबालिकाले कुनैपनि कुरालाई विज्ञानको तराजुमा जोख्ने गर्छन् । यो सही पनि हो । अध्यात्म आफैमा विज्ञान हो । उनीहरुलाई कुनैपनि आध्यात्मिक ज्ञान दिँदा त्यसको विज्ञान पनि बताइदिनुपर्छ ।

जस्तो हामी उनीहरुलाई भन्छौं, ‘बिहान उठ्नसाथ पूजापाठ वा प्रार्थना गर्नुपर्छ ।’ यसको अर्थ के हो त ?

यो मन र शरीर शुद्धि गर्ने विधि हो । जब हामी पूजापाठ वा प्रार्थना गर्छाैं, मनमा सकारात्मक भाव पैदा हुन्छ । त्यसले बेग्लै किसिमको सुखानुभूत गराउँछ । मानसिक तन्दुरुस्तीको यो एउटा राम्रो विधि हो ।

 

मानौं हाम्रो पूजास्थलमा गणेश भगवानको प्रतिमा वा चित्र छ । त्यसको सांकेतिक अर्थ निकै उपयोगी छ, जुन नानीबाबुलाई बुझाउन सकिन्छ । गणेशको ठूलो कान छ, त्यसको अर्थ हामीसँग धेरै कुरा सुन्ने क्षमता हुनुपर्छ । टाउकोको ठाउँमा हात्तिको सुँड छ । त्यसको अर्थ, हामीले खानेकुराको स्वच्छता जाँच्न सक्नुपर्छ । सही र गलत खानेकुरा छुट्याउन सक्नुपर्छ । आँखा सानो छ, त्यसको अर्थ कुनैपनि कुरालाई अति सुक्ष्म दृष्टिले वा महत्वका साथ हेर्नुपर्छ । गणेशजीको अगाडि लड्डु छ । त्यसको अर्थ जीवन मीठास एवं मधुर हुनुपर्छ ।

आध्यात्मिक चेतले जीवन र जगतलाई हेर्ने सही दृष्टिकोण दिन्छ । दुःख, निरासा, उदासी जस्ता मनोरोगबाट अलग राख्छ ।

https://www.onlinekhabar.com/2023/08/1344772

प्रतिक्रिया