छोरी, तिमीले सोचेजस्तो सत्य र सुमधुर छैन यो संसार
बार्बी भन्छिन्, ‘मलाई प्लाष्टिकको गुडिया होइन, मान्छे भएर बाँच्नुछ ।’
यतिबेला उनको अघिल्तिर रुथ ह्यान्डलर छिन् । रुथ उनै हुन्, जसले छ दशकअघि फेसन डल ‘बार्बी’ को अवधारणा बनाइन् । त्यसयता हरेकलाई आफ्नो बाल्यकालमा फर्काउने मायालु खेलौना बन्यो यो ।
गुडियाको बजारमा बार्बीको उदय त्यसबेला भयो, जतिबेला दुनियाँभरका लालाबाला ‘बेबी डल’ खेलाउँदै हुर्किरहेका थिए । त्यो बेबी डललाई उनीहरुले आफ्नो काखमा राख्थे, कोक्रोमा हल्लाउथे, लिटो खुवाउथे, थाङ्ना धोइदिन्थे, दूध चुसाउँथे । अर्थात हाम्रा कलिला छोरीहरू आमा वा गृहणी बनेर खेल्थे । किनभने खेल्नका लागि उनीहरुसँग त्यही ‘बेबी डल’ जो थियो ।
तर, बार्बी कुनै ‘बेबी’ (शिशु) थिइनन्, जसलाई खुब स्यहारसुसार गरेर हुर्काउन परोस् । उनी त हाम्रा सानी छोरीहरु भन्दा पनि ठूली थिइन् । हलक्क बढेकी । चिरिच्याट्ट परेकी । जवानीले मस्त खुलेकी । उनी मोडल थिइन् । किसान थिइन् । पाइलट थिइन् । नर्स थिइन् । कामदार थिइन् । मोटी, गोरी, काली, पातली । सबै थिइन् । सबैमा एक थिइन्, बार्बी ।
हाम्रा कलिला छोरीहरुका लागि उनी फगत खेलौना थिइनन्, रोल मोडल थिइन् ।
अब हाम्रा छोरीहरुको ‘रोल’ पनि फेरियो । कहिले आर्मी बनिन्, कहिले अन्तरिक्ष यात्री । कहिले ड्राइभर बनिन्, कहिले डकर्मी । कहिले गायक बनिन्, कहिले गाइनोकोलोजिस्ट ।
उनीहरुले बाँच्ने धर्ती फराकिलो भयो । उनीहरुले अग्लिने आकाश अनन्त भयो ।
हाम्री छोरीहरु गृहणी मात्र रहिनन् ।
जब गुडियाले दुःख मनाउ गरे
अमेरिकी खेलौना उत्पादक कम्पनी म्याटेलले त्यही ‘बार्बी’लाई प्लाष्टिकको आवरणमा चिटिक्क पारेर बिक्री गरेको गर्यै छ, अर्बौंको अंकमा । खेलौनाको बजारमा बार्बी उत्कर्षमा छिन् । तर, यसका आविष्कारक रुथ ह्यान्डलरले यो संसारबाट बिदा लिइसकिन् ।
आत्माकै रुपमा सही, एकदिन आफ्नी जननी रुथसँग बार्बीको भेट हुन्छ । बार्बी अब खेलौना बनेर बेचिन तयार छैनन् । रुथ ह्यान्डलर सामुन्ने उनी बिलौना गर्छिन् ‘म मान्छे बन्न चाहन्छु ।’
तब बार्बीलाई सम्झाउने हेतुले रुथ भन्छिन्, ‘मान्छे भएपछि त मर्नुपर्छ । मान्छेहरु मर्छन् । तर, आइडिया (उसको सिर्जना) सधैंसधैंका लागि बाँचिरहन्छ ।’
बार्बी जवाफमा भन्छिन्, ‘मलाई मान्छे बन्नुछ । आइडिया होइन ।’
गुलाबी लोकका उन्मुक्त बार्बी
बार्बीलाई आफूसँग कुनै गुनासो थिएन, जतिबेला उनी गुलाबी लोकमा सुख-चैनको जीवन बिताइरहेकी थिइन् । त्यहाँ झेल थिएन, त्यहाँ छल-कपट थिएन, त्यहाँ प्रतिस्पर्धा थिएन, त्यहाँ हेलाहोचो थिएन, त्यहाँ स्वार्थ थिएन, त्यहाँ हिंसा थिएन, त्यहाँ लोभ थिएन ।
बार्बी हाँस्थिन्, खेल्थिन्, रमाउँथिन् । आफ्नो मर्जीको जीवन बाँच्थिन् । त्यहाँ उनको पुरुष मित्र केन थिए । केन एउटै खुसीमा बाँचेका थिए, बार्बीको प्रेमिल मुस्कान । वश, यति भए केनलाई केही चाहिएकै थिएन ।
किनकि, त्यो बार्बीको संसार थियो । बार्बी अर्थात गुडिया ।
एकदिन अचानक मृत्युको आभास भयो
रुथ सही छिन्, ‘आइडिया सधै बाँचिरहन्छ ।’ तर, उनको आइडिया उर्फ बार्बीलाई एकदिन मृत्युको आभाष भयो ।
त्यस बिहान निद्राबाट ब्युँझदा उनको जीवन त्यस्तै थिएन, जस्तो हिजो–अस्ति थियो । उनी हावामा कपास झै उड्न सक्दैन थिइन् । आफ्नो नित्यकर्म ठीक–ठीक ढंगले गर्न असमर्थ थिइन् । हाइ हिल स्यान्डलमा अभ्यस्त उनको पैतला पूर्ववत् स्थितीको थिएन, स्यान्डल खोल्नसाथ उनको कुर्कुचा धर्तीमा टेक्न पुग्यो । बार्बीको स्वप्निल दुनियाँ अब गडबड हुँदै थियो । आखिर यस्तो किन भयो ?
एक विचित्र बार्बीले यसको भेद खोलिदिइन्, ‘वास्तविक दुनियाँमा एक बालिका छिन्, जो बार्बीको कारण दुःखी छिन् ।’
अन्ततः बार्बी उक्त बालिकाको दुखेसो सुन्नका लागि गुडियाको लोकबाट मान्छेको संसारमा जानुपर्ने भयो । जब बार्बी गुलाबी कारमा चढेर जादै थिइन्, उनको पछि लागे केन पनि ।
https://www.onlinekhabar.com/2023/08/1345354
प्रतिक्रिया