आफन्तको जग्गा हत्याउन खोज्नेहरू प्रहरी अनुसन्धानमा

आफन्तको जग्गा हत्याउन खोज्नेहरू प्रहरी अनुसन्धानमा

०७४ भदौ २६ मा मृत्यु भएकी उमादेवी गुरुङको कीर्तिपुरमा रहेको जग्गा हडप्ने सतराज गुरुङविरुद्ध जाहेरी दिएका दिदी पूर्णिमा गुरुङ र बहिनी मीरादेवी गुरुङ नै अनुसन्धान दायरामा

काठमाडौँ — मृतक उमादेवी गुरुङको जग्गा हत्याउन नक्कली कागजात बनाउने आफन्तमाथि प्रहरीले अनुसन्धान थालेको छ । कीर्तिपुरको जग्गा हडप्ने सतराज गुरुङविरुद्ध जाहेरी दिएका उमादेवीकी दिदी पूर्णिमा गुरुङ र बहिनी मीरादेवी गुरुङ नै अनुसन्धानको दायरामा तानिएका हुन् ।

उमादेवीका नाममा रहेको कित्ता नं. २०३ को ९९२.७० वर्गमिटर जग्गा मकवानपुरको थाहा नगरपालिका–१२ टिस्टुङका सतराजले नक्कली छोरो बनेर हत्याएका थिए । उनले नागरिकतालगायत सरकारी कागजातमा उमादेवीलाई आमा नाता स्थापित गरेर कलंकी मालपोत कार्यालयबाट ०८० वैशाख २७ मा जग्गा आफ्नो नाममा ल्याएका थिए ।

यो थाहा पाएपछि सतराजविरुद्ध पूर्णिमा र मीरादेवीले ०८० वैशाख २८ मा प्रहरीमा संयुक्त जाहेरी दिएका हुन् । पूर्णिमा र मीरादेवीले उमादेवीको ललितपुरमा रहेको जग्गा आफूहरूका नाममा सार्ने कानुनी प्रक्रिया चलिरहेका बेला सतराजले नक्कली नागरिकता र राहदानी बनाएर र विभिन्न सरकारी कार्यालयको कागजात किर्ते गरेर कीर्तिपुरको जग्गा आफ्नो नाउँमा पास गरेकाले कानुनबमोजिम गर्न माग गरेका थिए ।

उक्त जाहेरीमाथि महानगरीय प्रहरी परिसर टेकुले अनुसन्धान गर्नेक्रममा पूर्णिमा र मीरादेवीले नै जग्गा हत्याउने उद्देश्यले ललितपुर महानगर–२ र स्याङ्जाको बिरुवा गाउँपालिका–७ को वडा कार्यालयको नाम, छाप र दस्तखत किर्ते गरी उमादेवीसँगको नाता प्रमाणित र मृत्युदर्ताको नक्कली प्रमाणपत्र बनाएको खुलेको थियो । किर्ते गरेको खुलेपछि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई लेखी पठाएको महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) कुमुद ढुंगेलले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले भने, ‘जुन वडा कार्यालय खुलाएर किर्ते कागजात बनाइएको छ, वडा कार्यालयले हामीले दिएको छैन भनिसकेको छ, अनुसन्धान भइरहेको छ ।’

पूर्णिमा, उमादेवी र मीरादेवी दिदीबहिनी हुन् । बुबाआमा बितेपछि जापानी नागरिक युवा मोहराले ललितपुर महानगरपालिका–२ स्थित घरमा उनीहरूको लालनपालन गरेका थिए । उमादेवीले ०३८ माघ ७ मा भारतको कर्नाटक राज्यका एमसी परेरासँग विवाह गरिन् । उनले ०४१ सालदेखि ०४४ सालसम्म सहायक प्राध्यापक भई त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनमा शिक्षण गरिन् । पछि श्रीमान्–श्रीमती मिलेर उमादेवीका नाममा दर्ता रहेको चितवनको जग्गामा नमुना कृषि फार्म सञ्चालन गरे । उनीहरूका तीन सन्तान भए । उमादेवीको ब्रेन ह्यामरेज भएर भारतमा उपचारक्रममा ६४ वर्षको उमेरमा ०७४ भदौ २६ मा मृत्यु भयो ।

reference : https://ekantipur.com

प्रतिक्रिया