विकास व्यवस्थापनका लागि नागरिक-सिर्जित तथ्याङ्क
नेपालमा नागरिक सिर्जित तथ्याङ्कको महत्व र उपयोगिता ठूलो छ। रोगव्याधि र प्राकृतिक प्रकोपबारे स्थलगत सूचना नागरिकहरूको सहयोगबाट छिटोभन्दा छिटो प्राप्त हुनसक्छ। मोबाइल फोनको व्यापक प्रयोगबाट संकलित सामग्रीलाई सम्बन्धित विशेषज्ञले समयमै विश्लेषण गरेर आवश्यक निर्णय लिन र उद्धार कार्यमा मद्दत पुर्याउन सक्छन् ।
गत साउन २ गते अनलाइनखबरमा प्रकाशित पत्रकार शैलेन्द्र महतोको रिपोर्टमा मिटरब्याजी साहु महाजनहरूले साधारण किसानहरूलाई ऋण दिंदा चर्को ब्याजदर लगाइएको मात्र होइन, सुरुको तमसुकमा सावाँको रकम नै तीन-चार गुणा बढाई ठगेका उदाहरण र त्यसबाट किसान ठूलो घाटामा परेका तथ्याङ्कहरू पर्याप्त मात्रामा पेश गरेका छन् ।
यसरी नै विगतमा महिला हितको लागि कार्यरत केही गैर-सरकारी संस्थाहरूले पश्चिम नेपालका छाउपडीहरूमा बन्दी जस्तै बनाएर राखिएका किशोरीहरूको सङ्ख्या प्रकाशित गरेका थिए। कोभिड महामारी काल या डेंगुको प्रकोप बढेको समयमा स्थानीय सामुदायिक संस्थाहरूले रोगबाट प्रभावित क्षेत्र र आवश्यक पर्ने औषधिको परिमाण तथा स्वास्थ्यकर्मीहरूको अनुमानित सङ्ख्याको सूचना दिएका थिए ।
यी सबै सूचना नागरिकहरूले स्वेच्छाले आफ्नो सरोकारको विषय या क्षेत्रमा संकलन गरेका तथ्याङ्क हुन् जुन सरकारी स्रोतबाट उपलब्ध हुँदैन, तर यस्ता तथ्याङ्क उद्धार कार्यक्रम, विपद् जोखिम न्यूनीकरण र समग्र सामाजिक विकासको लागि उपयोगी सिद्ध हुँदै आएका छन् ।
यसै वर्षको मार्च महिनामा न्यूयोर्कमा सम्पन्न राष्ट्रसंघीय तथ्याङ्क आयोगको अधिवेशन र यस पंक्तिकार समेत सहभागी भएको गत जुलाईमा ओटावामा सम्पन्न विश्व तथ्याङ्क कंग्रेसले नागरिक सिर्जित तथ्याङ्कलाई अब दिगो विकासका लक्ष्यहरूको उपलब्धिहरूको अनुगमन गर्न प्रयोग गरिनुपर्ने कुरामा जोड दिएको छ।
Reference :
प्रतिक्रिया