भूकम्पपीडितका लागि बनाइएका घर रित्तै

भूकम्पपीडितका लागि बनाइएका घर रित्तै

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको गुरुङडाँडामा भूकम्प पीडितका लागि भनेर बनेका घर वनमारा, घाँस, उत्तिसका बिरुवाले ढाक्न थालेका छन् । पाँच वर्ष पहिले घर पुनःनिर्माण गरिएको हो । वास्तविक पीडितभन्दा आसेपासे र राजनीतिक पहुँचवालाका नाममा ती घर बनाइएपछि प्रयोगविहीन बनेका हुन् ।

स्थानीय रमेश परियार, ओख्रेका सुवास खड्का, खुतुम्बुका भोकेन्द्र श्रेष्ठ, खत्रीगाउँका भीम राई र खमारेका भैरव राईका नाममा ती घर बनाइएका हुन् । स्थानीय नालिमा कृष्ण कार्कीले बनाएको निजी आवास पनि अहिले खाली छ । यी लगायत अन्य थुप्रै निजी घर पनि उपयोगविहीन छन् । सडक तथा बजारमा व्यापारिक प्रयोजनका लागि बनाइएका निजी घर उपयोगविहीन भएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको भनाइ छ ।

वास्तविकलाई भन्दा पहुँचवालालाई लाभग्राही बनाइएकाले यो अवस्था आएको स्थानीयको गुनासो छ । घर हुँदाहुँदै व्यापारिक प्रयोजनका लागि घडेरी किनेर आ.व. २०७६/७७ मा यी घर बनाइएको स्थानीय युवराज गुरुङको भनाइ छ । ‘जसले नेताको झोला बोकेको छ, उसैलाई लाभग्राही बनाइयो,’ उनले भने, ‘वास्तविक भूकम्प पीडितले भने कुनै सुविधा पाएनन् ।’

आफूलगायत स्थानीय लीलाबहादुर खड्का, जगतबहादुर खड्का, अम्बर कार्की, महेन्द्रबहादुर सार्की, पदमबहादुर नेपाली, भक्तबहादुर सार्कीजस्ता वास्तविक पीडितलाई लाभग्राही नबनाएको गुरुङको आरोप छ । गाउँपालिकामा पटक–पटक गुहार माग्दासमेत बेवास्ता गरेको उनको भनाइ छ । पछिल्लो स्थानीय सरकार बनेपछि गुनासो नआएको गाउँपालिका अध्यक्ष राईले बताए । अघिल्लो कार्यकालमा आफू दिप्रुङ चुइचुम्मा–४, बतासेको वडाध्यक्ष हुँदा भने यस्तो गुनासो सुनिएको राईले स्विकारे ।

प्राधिकरणबाट खटिएर आएका कर्मचारीलाई जनप्रतिनिधिले सहयोग नगरेका कारण वास्तवित भूकम्प पीडित मर्कामा परेको सघन सहरी तथा भवन निर्माण आयोजनाकी सब–इन्जिनियर विणा राईले बताइन् । ‘प्राधिकरणबाट खटिएर आएका कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले स्थलगत सर्वेक्षणमा सहयोग गर्नुपर्थ्यो,’ उनले भनिन्, ‘गैरपीडितहरूले अर्काको भत्किएको घर देखाएकाले यस्तो अवस्था आएको हो ।’

Reference : https://ekantipur.com/news

प्रतिक्रिया