स्कुले झोलाले थिचिएका भविष्यका कर्णधार

स्कुले झोलाले थिचिएका भविष्यका कर्णधार

सन् २०१२ मा भारतको नयाँ दिल्लीको एउटा स्कुलमा ६ कक्षा पढ्ने एक विद्यार्थीको लडेर मृत्यु भयो । १२ वर्षीय वरुण जैन छुट्टी भएपछि स्कुल बस चढ्नका लागि हतारहतार तल ओर्लिंदै थिए । उनले पिठ्युँमा अजंगको झोला बोकेका थिए । उत्रिँदै गर्दा किताबको भारी थेगिरहन सकेनन् अनि अनियन्त्रित भएर लड्दै भुइँमा बजारिए ।

टाउकामा लागेको गहिरो चोटका कारण उनको दुःखद निधन भयो । प्रहरी अनुसन्धान अनुसार, वरुणले आफ्नो शरीरको तौलको अनुपातमा लगभग ४० प्रतिशत वजन भएको झोला बोकेका थिए । उक्त घटनापछि भारतको केन्द्रीय स्कुल नियामक निकायले कुन कक्षाको किताबको झोला अधिकतम कति तौलसम्मको हुनुपर्ने भन्ने सम्बन्धमा मापदण्ड नै बनायो । १ र २ कक्षाका विद्यार्थीको झोलाको तौल डेढ किलोभन्दा बढी हुन नहुने अनि ८ र ९ कक्षाका विद्यार्थीको झोला अधिकतम साढे चार किलोसम्मको मात्रै हुनुपर्ने नियम तोकियो । दिल्ली उच्च न्यायालयले पनि स्कुले विद्यार्थीहरूलाई उनीहरूको शरीरको तौलको १० प्रतिशतभन्दा धेरै वजनको झोला नबोकाउन आदेश दियो । उक्त आदेशमा अदालतले भनेको छ— ‘स्कुले बालबालिका भारवाहक होइनन्, न त उनीहरूको झोला नै लोड कन्टेनर हो ।’ यद्यपि अदालतको आदेश तथा नियामक निकायले तय गरेको मापदण्ड बमोजिम भारतका केही राज्यले मात्र कानुन बनाएरै स्कुले झोलाको वजनलाई सीमित गर्ने काम गरेका छन् ।

 

नेपालमा भने यो कुरा न नीतिनिर्माताको ‘चित्तमा लागेको’ छ न त राष्ट्रव्यापी बहसको विषय बन्न सकेको छ । आफ्नै छोरीहरूको स्कुले झोलाको वजन हेर्दा लाग्छ, हाम्रा विद्यार्थीहरू आफ्नो शरीरको तौलको कम्तीमा २५–३० प्रतिशत वजनको भारी बोकेर कुप्रिँदै दिनहुँ स्कुल गइरहेका छन् । दिन अनुसार झोलाको तौल र अन्य चीजबीजको भारी घटबढ भैरहेको हुन्छ । मनै अमिलो पार्ने यो दारुण दृश्यले भविष्यका कर्णधार बालबालिका स्कुले झोलाको भारले थिचिँदै दीर्घकालीन प्रकृतिका शारीरिक–मानसिक समस्याहरूको जोखिममा परिरहेको देखाउँछ ।

यस्तो लाग्छ, भरिलो, कसिलो र अजंगको स्कुले झोला नेपालमा ‘स्टाटस सिम्बोल’ बनिसकेको छ । किताब–कापीहरूले भरिएको; ज्यामितीय बक्स, कलम–पेन्सिल–रङ आदि चीजबीज कोचिएको; पर्स खाँदिएको; प्रोजेक्ट वर्क तथा ग्रुप वर्कका लामालामा चार्ट पेपरहरूको बेलना आकाशतर्फ निस्किएको अनि बाहिरी गोजीहरूमा पानीको बोतल तथा रेनकोटसमेत कोचिएको झोला भिराएर र हातमा छुट्टै टिफिन बक्सको अर्को झोला थमाएर स्कुल नपठाएसम्म अभिभावकहरूलाई पनि सन्तोष नै नलाग्ने भएको छ । लागोस् पनि कसरी, स्कुलको स्तर शुल्कले निर्धारण गर्ने र शुल्क बढी भएसँगै किताबको झोलाको वजन पनि बढ्दै जाने अभ्यास चलेको छ हामीकहाँ ! मानौं विद्यार्थीहरूले स्कुलमा सिक्ने कुरामा नभई झोलाको आकार तथा तौलमा प्रतिस्पर्धा चलेको छ । किताबी झोला जति ठूलो र वजनदार भयो, स्कुलमा उनीहरूले उति नै धेरै सिक्न पाउँछन् भन्ने लाग्छ अभिभावकहरूलाई ! कलिलो काँध र पिठ्युँमा झोलाको भारीले पार्ने असरका बारेमा न स्कुललाई हेक्का छ, न त अभिभावक र नीतिनिर्मातालाई नै । मासिक रूपमा चर्को शुल्क असुल्ने र त्यतिले पनि नपुगेर वार्षिक शुल्कका नाममा अतिरिक्त मोटो रकम असुल्ने स्कुलहरूले विद्यार्थीको बोझ घटाउनका लागि अलिकति पनि लगानी गरेको देखिँदैन । बेनामे शीर्षकहरूमा शुल्क असुल्ने स्कुलहरूले स्कुलमा एक सेट अतिरिक्त पाठ्यपुस्तकको व्यवस्था गरिदिए वा कक्षाकोठामा आफ्ना किताब राख्ने छुट्टै लकर बनाइदिए बालबालिकाले दिनहुँ सबै किताबको भारी बोकेर स्कुल आउजाउ गर्ने सकसबाट मुक्ति पाउन सक्थे । त्यसका लागि स्कुलका सञ्चालकहरूले कुनै ठूलो लगानी गर्नुपर्दैन, उनीहरूमा केवल असल मनसाय र सकारात्मक नवप्रवर्तनशीलताको आवश्यकता पर्छ ।

 

अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न अध्ययन अनुसार, ठूला तथा गह्रौं झोला बोकाउँदा बालबालिकाको ढाड, काँध तथा घाँटीमा उच्च दबाब परेर दुखाइ, असहजता पैदा भई पछि गएर ढाड, मांसपेशी तथा हड्डी सम्बन्धी दीर्घकालीन समस्याहरू देखिने जोखिम हुन्छ । झोलाको वजन धान्न बालबालिका निहुरिएर–कुप्रिएर हिँड्नुपर्ने र त्यसले उनीहरूमा स्थायी रूपमै कुप्रोपना आउनुका साथै काँध तथा टाउकाको ‘पोस्चर’ पनि बिग्रिने हुन्छ । बिहान झोलाको भारी बोकेर केही लामो बाटो हिँड्दै स्कुल जानुपर्दा बच्चाहरू थाक्ने, अल्छी लाग्ने भई दिनभर उनीहरूलाई प्रभावकारी रूपमा पढाइमा ध्यान केन्द्रित गर्न अप्ठेरो हुन्छ । यसले उनीहरूको सिकाइमै असर पार्छ । झोला बोक्दाबोक्दै थाकेका बच्चाहरू स्कुलपछिका शारीरिक क्रियाकलाप तथा खेलकुदमा पनि सहभागिता जनाउन जाँगर देखाउँदैनन् । घरमा आएर छिटै सुत्ने, गृहकार्यसमेत समयमा पूरा नगर्नेजस्ता समस्या देखिन्छन् । दिनहुँ वजनदार झोला बोकेर स्कुल जानुपर्ने चिन्ताका साथै झोलामा कुनै सामान राख्न छुटेर स्कुलमा सजाय पो पाइने हो कि भन्ने डरका कारण बालबालिकालाई मनोवैज्ञानिक असरसमेत पर्ने गरेको हुन्छ । आफ्ना बालबालिकाले दैनिक भोगिरहेको यो समस्या धेरै अभिभावकले अनुभूति गरिरहेका पनि हुन्छन् तर विद्यार्थीलाई भारी बोकाउनमै अभ्यस्त स्कुलहरूको चलनका अगाडि निरीह अभिभावक–विद्यार्थीहरूको जोर चल्ने कुरा भएन ।

Reference  :  https://ekantipur.com

प्रतिक्रिया