रजत जयन्ती
नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले २५ औं रजत जयन्ती समारोह मनाएको छ ।
सन १९९८ स्थापना भएको एडवानले विगत पच्चीस वर्षमा जातीय छूवाछूत तथा विभेद अन्त्यको निम्ति सुरु गरेको विभिन्न किसिमका सामाजिक रूपान्तरणको अभियानहरुको स्मरण गर्दै उक्त रजत जयन्ती समारोह मनाएको हो ।
एडवानको २५ वर्षमा डेढ लाख दलित र सीमान्तकृत समुदाय लाभान्वित भएका छन् । रजत जयन्ती समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले एडवानको सामाजिक अभियान र रजत जयन्तीको शुभकामना दिदै दलितले सदियौँदेखि भोग्दै आएको जातीय भेद्भाव तथा छुवाछूतको समस्या समाधान गर्न उनीहरूको आर्थिक, सामाजिक र राजनीतिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
“आफैँले बनाएको मन्दिरमा आफैँ प्रवेश गर्न नपाउने, आफैँले बनाएको थालहरूमा आफैँले खाना खान नपाउने, त्यहाँ पनि विभेद हुने, यो मान्छेमान्छे बीचको विभेद, छुवाछूतको जुन विभेद छ, यसलाई दलितले मात्रै आवाज उठाएर हुदैन, सम्पूर्ण जातिले आवाज उठाउनुपर्छ ।” उहाँले भन्नुभयो ।
समारोहका विच एड्वानकी संस्थापक अध्यक्ष एवं सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा स्थापित फाउण्डेसनले एड्वानसंगको सहकार्यमा पहिलो “आत्मसम्मान मर्यादा पुरस्कारबाट जातीय विभेद र छुवाछूत विरूद्धको अभियानका अग्रणी व्यक्तित्वहरू लेखक, विचारक एवं सामाजिक अभियानकर्मी संजीव कार्की र सामाजिक अभियन्ता रामकुमारी दासलाई कदरपत्र र जनही रू. ५० हजार बरावरको नगद पुरस्कारले सम्मान गरेको छ ।
एड्वानकी अध्यक्ष विन्दू परियार थापाको अध्यक्षतामा आयोजित रजत जयन्ती समारोहका सहभागीहरुले नेपालमा सबै प्रकारका विभेद अन्त्यका लागि उत्पीडित समुदाय, आदिवासी र सीमान्तकृत जनता बीच एकता हुनुपर्ने कुरामा जोड दिए ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले जातीय भेद्भाव तथा छुवाछूत अन्त्यका लागि राज्यले नै अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
एड्वानकी संस्थापक तथा संरक्षक डा. विष्णुमाया परियारले सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायलाई शैक्षिक रूपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । डा. परियारले विश्वका सबै प्राणी र मानव समान छन् सोही समानताको अवधारणालाई आत्मसात गर्दै हामी काम गर्छौ । जातीय विभेद अन्त्यको लागि दलितले मात्र होइन गैर दलितले उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउदै कारण सबैलाई संगै लिएर हिंडनुपर्नेमा जोड दिनुभयो ।
पूर्व राजदूत पदम सुन्दासले नारीले हाँकेको संस्था सफल र लक्ष्य प्राप्तिमा अगाडी बढेको देख्दा नारीलाई समाजको हर क्षेत्रमा नेतृत्व दिन सकिने उदाहरण एडावानले प्रस्तुत गरेको विचार व्यक्त गर्नुभयो ।
संविधानसभा सदस्य विनोद पहाडी र सभासद निरा जैरुले दलित समुदायको प्राप्त अधिकार पनि गुम्ने खतरा बढ्दै गएको भन्दै अधिकार सुनिश्चितताका लागि दलित समुदायबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।
एड्वानकी अध्यक्ष विन्दु परियार थापाले महिला र पुरुषबिच समानताका लागि महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले एड्वानले जिविकोपार्जन कार्यक्रमलाई शसक्त रूपमा अगाडि बढाएको बताउनुभयो ।
यसैविच एडवानमा आफ् संलग्न भएदेखि आफूले गरेको मनकामना मन्दिर प्रवेशको विद्रोहको स्मरण गर्दै रजत जयन्ती समारोह सभाहललाई स्तब्ध पार्नुभयो ।
रजत जयन्ती समारोहका अन्य अतिथि वक्ताहरूमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य लिली थापा, प्रतिनिधिसभाका सदस्य मा. शिव नेपाली, राष्ट्रिय दलित आयोगका मा. अध्यक्ष देवराज विश्वकर्मा, पीस कोरका निर्देशक ट्रोए, जर्मन दूतावासकी प्रतिनिधि लिड्या विल्याण्ड्, युएस्एडकि प्रतिनिधि सुमित्रा मानन्धर, जर्मा संस्था कुर्भ वुस्ट्रोभका प्रतिनिधि पिटर डिजेल, एनआरएनएका अध्यक्ष डा. बद्री केसी, अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत तथा गायक प्रेमराजा महत र व्यावसायिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष कमला हेम्चुरीको सहभागीता रहेको थियो ।
सभामा डाक्टर विष्णुमाया परियारकी आमा कनमाया परियारले आफ्नो अनुभव बाँड्दै आफू्ना ११ जना सन्तानलाई पढाउने रहरको प्रतिफल आफ्नै जीवनकालमा देख्न र भोग्न पाए पनि आफ्ना श्रीमान स्वर्गीय रूपबहादुर परियारले त्यो अवसर थोरै मात्र देखेर स्वर्गवास हुनु भएको प्रसङ्गले पनि समारोह निकै भावुक र स्तब्ध बनेको थियो ।
चितवनबाट आएका विद्यार्थी समूहको नाटकमा देखाइएको छुवाछुत र विभेदको चित्रणले पनि सभालाई निकै आकर्षित गरेको थियो । प्रतिनिधि सभाका सदस्य मा. शिव नेपाली भन्नुभयो, “ म धेरै भावुक बने मेरा आँखा पनि अनयास रसाए । मेरो हृदयलाई बेस्सरी छोयो ” सो नाटक प्रदर्शन धेरै सहभागीको हृदय रसाएको थियो ।
रजत जयन्ती समारोहमा एड्वानको पच्चीस वर्ष अवसरमा रजत केक काटेर मनाईएको थियो भने रजत जयन्ती स्मारिकाको विमोचन गरिएको थियो।
जातिय तथा लैंगिक भेदभावको दोहोरो शोषणमा परेका वा पारिएका नेपाली दलित महिलाको सशक्तिकरण गरी उनीहरुलाई राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गराई आत्मनिर्भर तथा स्वावलम्बी वनाउनका लागि बिसं. २०५५ सालमा एड्वानको स्थापना भएको हो ।
पहिलो आत्मसम्मान पुरस्कार २०२३ द्वारा सम्मानित सञ्जीव कार्कीले नेपालमा छुवाछूत र जातीय विभेदका बिरुद्द सशक्त कलम चलाउँदै आउनु भएको छ । कार्की दलित चेतना निर्माण र स्वास्थ्य शिक्षाको आन्दोलनमा एक दशकभन्दा अघिदेखि सक्रिय हुनुहुन्छ । साथै,हाल उहाँ त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एम.फिल– पिएच.डी. अनुसन्धाता हुनुहुन्छ ।
पहिलो आत्मसम्मान पुरस्कार २०२३ द्वारा सम्मानित सिराहा जिल्लाको लाहान नगरपालिका वडा–१५ सदस्य एवं सामाजिक अभियन्ता राम कुमारी दास जातीय तथा लैंगिक विभेद बिरुद्ध संघर्षरत नारी नेत्री हुनुहुन्छ । उहाँ आफै बालबिबाह गर्न बाध्य पारिएकी, घरेलु हिंशाबाट पिडित एक महिला र दलित समुदायकि सदस्य भएर भोग्नु परेको जातीय विभेद र अन्यायको बिरुद्ध अन्य दलित, बालबालिका र महिलाहरुले भोग्नु नपरोस भनेर संघर्षरत हुनुहुन्छ ।
प्रतिक्रिया