‘विशिष्ट’ व्यक्तिको अत्याचार : देशलाई २ हजार ‘भीआईपी’ को भार
भण्डारीको कार्यकालभर सडक खाली गरेर हिंड्ने र सडक प्रयोगकर्ताहरूले विरोध गर्ने क्रम चलिरह्यो । तर, तामझामपूर्ण सवारीका कारण आफनो जति नै आलोचना भए पनि राष्ट्रपति भण्डारी र सरकारले ‘भीआईपी सुरक्षा प्रोटोकल’माथि पुनर्विचार गरेन । यतिसम्म कि त्यसबेला यसलाई सामान्य छलफलमा ल्याउनसम्म जरूरी ठानिएन ।
२०७९ भदौ अन्तिम साता चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु काठमाडौं आउँदा समेत उनको आवतजावत हुने रुट खाली गराइयो । उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो । त्यतिवेला अत्यावश्यक सवारी साधन एम्बुलेन्स पनि रोकियो ।
चलचित्र निर्देशक निश्चल बस्नेतले सामाजिक सञ्जालमा तस्वीर राख्दै भने, ‘जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनुहुँदैन ।’
एम्बुलेन्स रोकिएको त्यो पहिलो घटना थिएन । १० मंसिर २०७८ मा नेकपा एमालेले चितवनमा गरेको शक्ति प्रदर्शनका क्रममा नेता, कार्यकर्ताको भीड माझ नेपाल रेडक्रस सोसाइटीको ग २ च ७७१० नम्बरको एम्बुलेन्स अलपत्र परेको थियो । चालक दीपक क्षेत्रीले चलाएको एम्बुलेन्समा दमले ग्रसित ८० वर्षीया बिरामी थिइन् ।
तर, भरतपुरको सीएमसी अस्पतालबाट अक्सिजन सहित लिएर हिंडेको बिरामी बोकेको एम्बुलेन्स नारायणघाट बजारमा झण्डै ६ घन्टा अलपत्र परेको चालक क्षेत्री बताउँछन् ।
विदेशी पाहुना, राष्ट्रपति वा प्रधानमन्त्रीको सवारी वा मुख्य दलका शीर्ष नेताहरूको आवतजावत हुँदा मात्र यो समस्या हुने होइन । जहाँ–जहाँ ‘अति विशिष्ट’ वा ‘विशिष्ट’ व्यक्तिको जमघट र आवतजावत हुन्छ, ती क्षेत्रमा नागरिकले यस्तो हैरानी खेप्नु सामान्य कुरा मानिन थालेको छ ।
हुँदा हुँदा ‘विशिष्ट’ भनिने मन्त्रीहरू समेतको भीआईपी व्यवहार सर्वसाधारणका लागि महँगो पर्दै गएको छ । एउटा उदाहरण ठमेलस्थित भीएफएक्स ग्लोबल मार्फत क्यानडाको भिसा आवेदन दिन १९ भदौ २०७९ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुग्दा सुरक्षागार्ड शेरजंग गुरुङले आफ्नो जिम्मेवारी पूरा गरेकै कारण पक्राउ पर्नु पर्यो ।
भएको के थियो भने विना पूर्व जानकारी त्यहाँ पुगेका श्रेष्ठ ‘आफू मन्त्री भएको’ भन्दै रवाफिलो शैलीमा लाइनमा नबसिकन अगाडि जान खोजे । आफूलाई विशिष्ट ठान्ने अधिकांशले जहींतहीं यस्तो व्यवहार गर्ने गर्छन् । तर, त्यहाँका सुरक्षागार्ड गुरुङले उनलाई लाइनमा बसेर आउन भने । फेरि पनि उनले सुरक्षा गार्ड गुरुङलाई ‘आफू मन्त्री भएको’ बताए ।
गुरुङले लाइनमा बसेर पालो पर्खन भनेको परिणाम सुखद् भएन । ‘मन्त्रीलाई दुव्र्यवहार गरेको’ आरोपमा गुरुङ पक्राउ परे । तत्कालीन मन्त्री श्रेष्ठको आदेशमा प्रहरीले उनलाई पक्राउ गर्यो । मन्त्रीको व्यवहारको व्यापक आलोचना भएपछि तीन दिनपछि गुरुङलाई थुनामुक्त गरियो ।
‘विशिष्ट’ भनिएका व्यक्तिहरूको रवाफ सडकमा पनि उस्तै हुन्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका पूर्वप्रमुख मिङ्मार लामाका अनुसार, ‘विशिष्ट’ व्यक्तिहरूकै कारण कतिपय अवस्थामा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ ।
सरकारी मर्यादाक्रममा शीर्ष ७ भित्र पर्ने विशिष्टहरूको आवागमनले राजधानीको सवारी अस्तव्यस्त बनाएको उपत्यका ट्राफिक कार्यालयले हालै गरेको अध्ययनले पनि देखाउँछ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलका अनुसार, मुलुकका विशिष्ट व्यक्तिका सवारीको हकमा गृह मन्त्रालयबाट सूचना प्राप्त भए त्यो अवधिमा लाइट बन्द गरेर आवतजावतलाई खुला गर्ने गरिन्छ ।
तर ट्राफिक प्रहरीले २०७९ सालमा गरेको एउटा अध्ययनले नेपालका विशिष्ट व्यक्तिहरूले विना सूचना ट्राफिक नियम उल्लंघन गर्दै हिंड्ने गरेको देखाउँछ । सो अध्ययन अनुसार, २०७९ भदौ महिनामा मात्रै मुलुकका विशिष्ट व्यक्तिले १२ सय ५९ पटक ट्राफिक नियम उल्लंघन गरेका थिए ।
अनलाइनखबरलाई प्राप्त अध्ययनको सारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले मात्रै एक महिनामा १८ स्थानमा ८५ पटक ट्राफिक नियम उल्लंघन गरेको थियो । त्यस्तै तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ को सवारीले ९ स्थानमा १८ पटक ट्राफिक नियमको उल्लंघन गरेको थियो ।
त्यसवेला मुलुकको प्रधानमन्त्री रहेका शेरबहादुर देउवाको सवारीले उपत्यकाको २५ स्थानमा १६५ पटक सवारी नियमन उल्लंघन गरेको थियो भने तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको सवारीले २६ स्थानमा ८० पटक ट्राफिक नियम उल्लंघन गरेको थियो । यस्तै तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको सवारी साधनले ३४ स्थानमा १२३ पटक ट्राफिक नियम उल्लंघन गरेको विवरणमा उल्लेख छ ।
यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सवारी साधनले ३४ स्थानमा १२३ पटक ट्राफिक लाइट सम्बन्धी नियम उल्लंघन गरेको देखिन्छ भने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको गाडीले ७८ स्थानमा २७४ पटक ट्राफिक लाइट सम्बन्धी नियम तोडेको थियो ।
तत्कालीन गृह सचिव टेकनारायण पाण्डेको सवारी साधनले पनि ३३ स्थानमा ७६ पटक सवारी नियम उल्लंघन गरेको थियो । यस्तै सो अध्ययनले न्यायाधीशहरूका सवारी साधनहरूले पनि नियम उल्लंघन गरेको देखाएको छ । ती न्यायाधीशको गाडीले २६ स्थानमा ८० पटक सवारी नियमको उल्लंघन गरेको रेकर्ड देखिन्छ ।
नाम उल्लेख नगरी ‘अरू विशिष्ट व्यक्ति’ बाट पनि यो अवधिमा ट्राफिक नियम उल्लंघन गरेको अध्ययनबाट देखिन्छ । अध्ययनमा उनीहरूले ९७ स्थानमा १८० पटक सवारी नियम उल्लंघन गरेको भनिएको छ ।
जबकि, रातो बत्ती सम्बन्धी नियम उल्लंघन गरेको अभियोगमा २०८० साल असार र साउन महिनामा मात्रै १२ हजार ३१४ नागरिक कारबाहीमा परेका छन् । ट्राफिक बत्तीको उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीले ५०० देखि २ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
यो स्पष्ट रूपमा कानुनको पालनामा गरिएको विभेद हो । सर्वसाधारणले ५०० देखि २ हजार रुपैयाँसम्म तिर्नुपर्ने कसुरमा विशिष्ट भनिने व्यक्तिहरूले कसरी उन्मुक्ति पाइरहेका छन् भन्ने देखिने उदाहरण हो यो ।
सामाजिक अध्येता कैलाश राईका भनाइमा विशिष्ट व्यक्तिले आफूलाई अरूभन्दा फरक र उच्च देखाउने हिसाबले आमनागरिकलाई लागु हुने नियम पालना गर्न खोज्दैनन् । ‘यसले आमनागरिकमा व्यवस्थाप्रति नै दिग्दारी बढाउन थालेको छ, विशिष्ट व्यक्तिको सवारीका वेला हुने स्वतस्फूर्त प्रतिकार त्यसकै परिणाम हो ।’
‘एभिएसन सुरक्षा प्रोटोकल’ समेत उल्लंघन
विशिष्ट व्यक्तिको आवतजावतको वेला कतिसम्म गम्भीर लापरवाही गरिन्छ भन्ने त १७ पुस २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा घटनाले देखाउँछ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाँदा ‘एभिएसन सुरक्षा प्रोटोकल’ को समेत गम्भीर उल्लंघन गरिएको थियो ।
Reference : https://www.onlinekhabar.com
प्रतिक्रिया