चीनले नेपालको चुच्चे नक्सा समावेश नगरेकोमा सरकारले कूटनीतिक नोट पठाउनुपर्छ : महर
काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु चीनको त्रुटिपूर्ण व्यवहार भएको टिप्पणी गरेका छन् । उनले त्यसलाई सच्याउन नेपाल सरकारले चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने बताए ।
शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता महरले चीनले जारी गरेको नक्साले नेपाल-चीनबीचमा सीमा समस्या रहेको विषय उजागर गरेको बताए ।
'चीन नेपालको असल छिमेकी हो । तर नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गर्नु र अहिले चीनले आफ्नो नक्सामा चुच्चे भाग नराख्नुले नेपाल र चीनका बीचमा पनि सीमा समस्या छन् भन्ने पुष्टि हुन्छ,' उनले भने, 'सरकारले कूटनीतिक पहल लिएर यसको समाधान गर्नुपर्छ ।'
उनले भूगोल र जनसंख्याले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने दाबी गरे । उनले एउटा छिमेकीले अर्को छिमेकीको अस्तित्व स्वीकार र सम्मान गर्न सक्नुपर्ने बताए ।
Reference :https://ekantipur.com/news
प्रतिक्रिया