एमालेमा ‘कोर्स करेक्सन’, कार्यकर्ताबाट नेतृत्व चयन

एमालेमा ‘कोर्स करेक्सन’, कार्यकर्ताबाट नेतृत्व चयन

२० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व पहिलोपटक प्रतिनिधिहरुबाट चयन भएका छन् । मुलुक संघीय संरचनामा गएको ८ वर्षपछि प्रदेश संरचनाको नेतृत्व पहिलो पटक प्रतिनिधिहरुले चयन गरेका हुन् ।

 

 

मंगलबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट १ हजार ५ प्रतिनिधिहरुको मतदानबाट नेताहरु निर्वाचित भए । मंगलबार सम्पन्न चुनावमा ४७९ मत ल्याएर राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा निर्वाचित हुँदा ४७७ मत ल्याएर हरि रिजाल पराजित भएका छन् ।

यसअघि प्रदेश इन्चार्ज, अध्यक्ष र सदस्य समेत पार्टी केन्द्रबाटै मनोनीत हुँदै आएका थिए । ३ असोज २०७२ मा संविधानसभाबाट संघीय संरचनासहितको संविधान जारी भएपछि विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको नेतृत्व लिएका थिए । त्यसबेला पौडेल एमाले उपमहासचिव थिए ।

२०७४ को चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ओनसरी घर्तिमगर अध्यक्ष भइन् । घर्तिमगरसहित २०६ सदस्यीय प्रदेश कमिटी सदस्य केन्द्रबाट चयन भएका थिए ।

 

 

तर नेकपाको एकता तीन वर्षभित्रै टुट्यो । २३ फागुन २०७७ मा एमाले ब्युतिएपछि लिला गिरी लुम्बिनीको अध्यक्ष मनोनीत भए । गिरीले एक वर्ष पनि नेतृत्व गरेनन् । १०–१४ मंसिर २०७८ मा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट गिरी पोलिटब्यूरो सदस्य बनेपछि राधाकृष्ण कँडेल प्रदेश अध्यक्ष मनोनीत भए । उनी नेतृत्वको ५७६ सदस्यीय प्रदेश सदस्य पनि केन्द्रबाटै नियुक्त भएका थिए ।

तर केन्द्रबाट मनोनीत कमिटी र नेतृत्व प्रभावकारी नबनेको निष्कर्षसहित अधिवेशनबाट नेतृत्व चयन गर्ने एमालेले निर्णय लिँदा प्रतिनिधिहरुको मतका आधारमा पुनः राधाकृष्ण कँडेल अध्यक्ष बनेका छन् ।

Reference :  https://www.onlinekhabar.com

प्रतिक्रिया