एक्सप्लेनर : फिल्म ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद के हो ?

एक्सप्लेनर : फिल्म ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद के हो ?

काठमाडौं । फिल्म ‘एक भगवत् गीता’लाई लिएर यतिबेला विवाद चर्किएको छ । भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायतका कलाकार यसमा छन् । फिल्मलाई लिएर भइरहेको विवादले फिल्म क्षेत्र तरंगित बनेको छ । विवाद समाधानमा बोल्ड निर्णय गर्न फिल्मकर्मी र अध्येताले बोर्ड अध्यक्ष भुवन केसीलाई दबाब दिइरहेका छन् ।

 

बिहीबार बोर्डमा तनावको माहोल यतिबेला बन्यो, जहाँ फिल्म निर्माता र धार्मिक संघसंस्था आरोप-प्रत्यारोपमा उत्रिए । निर्माता सुनिलकुमार थापाले बोर्डमा प्रेसमिट गर्दै भक्कानिए भने हिन्दु धर्मसँग सम्बन्धित १३ संघसंस्थाका प्रतिनिधिले फिल्मको शीर्षक परिवर्तन नभईकन फिल्म चल्न नदिने अडान राखे ।

यो विवादको बीच चलचित्र विकास बोर्डले तत्काललाई सेन्सर सिफारिस दिन अस्वीकार गरेको छ । जसको कारण ‘एक भगवत् गीता’को सेन्सरलाई लिएर अन्योलता छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डलाई पत्र लेख्दै विवादलाई सकेसम्म त्यहीं मिलाउन निर्देशन दिंदै पत्र काटेकाले बोर्ड थप दबाबमा देखिन्छ । बोर्ड प्रवक्ता केएल बुढाथोकीले भविष्यमा नजीर स्थापना हुने भएकाले सोही पक्षलाई ख्याल राखेर निर्णय हुने बताएका छन् ।

विवादको कारण के हो ?

छायांकनको बेलादेखि नै शीर्षकलाई विवाद सुरु भएको थियो । त्यतिबेला केही धार्मिक संस्थाले शीर्षक परिवर्तनको माग राख्दै बोर्डमा उजुरी दिएका थिए । सुरुमा फिल्मको नाम ‘भागवद् गीता’ थियो । उक्त उजुरीपछि निर्माताले नाममा केही परिवर्तन गर्दै ‘भागवत् गीता’ राखे । विवाद र उजुरीको क्रम रोकिएन । त्यसपछि निर्माताले शीर्षक चेन्ज गरेर ‘एक भगवत् गीता’ राखे । यति हुँदासम्म पनि धार्मिक संघसंस्था सहमत भएनन् ।

निर्माताले पनि शीर्षकमा ड्यास थपेर ‘एक भागवत्-गीता’ प्रस्ताव गरेका छन् । साथै, ती धार्मिक संस्थाले फिल्ममा बालक र बालिकाको प्रेम कथा भएकाले सो फिल्म हेर्ने दर्शकमा नकारात्मक सन्देश जाने तर्क उनीहरुको छ ।

धार्मिक संस्थाको माग के हो ?

बोर्डले केही दिनअघि दुवै पक्षलाई छलफलमा बोलाएर सहमति जुटाउने प्रयास गर्‍यो । निर्माताले कथाको सार पनि ती संघ-संस्थालाई पेश गरे । यसपछि विवाद मत्थर हुने आशा राखिए पनि धार्मिक संस्था झन् आक्रोशित देखिए । उनीहरुले फिल्मको शीर्षक नै परिवर्तन गर्नुपर्ने बटमलाइन राखे । यही माग राखेर उनीहरु बिहीबार बोर्डमा पुगेका थिए । विवाद चर्किएपछि बोर्डले फिल्मलाई तत्काल सेन्सर सिफारिस दिन मानेन । यसका लागि बोर्डले शुक्रबार ४ बजेसम्मको समय मागेको छ । बोर्डको बैठकले यसबारे निर्णय गर्ने अध्यक्ष भुवन केसीको भनाइ छ ।

निर्माताको भना के छ ?

निर्माता सुनिलकुमार थापा फिल्मको शीर्षक र कथावस्तुले सनातन धर्ममा आँच नआउने बताउँछन् । आफूहरुले पात्रको नामलाई लिएर शीर्षक तय गरेको र फिल्मले लभस्टोरी कथा पेश गर्ने उनको भनाइ छ । निर्देशक झरना थापा आफूहरुले धार्मिक फिल्म नबनाएर लैंगिक अल्पसंख्यकको कथावस्तुमा लभस्टोरी फिल्म बनाएको बताउँछिन् । फिल्मको शीर्षकअनुसार धर्मको कथावस्तुमा फिल्म नबनाएको उनीहरुको भनाइ छ ।

बोर्डले सिफारिस किन दिएन ?

सञ्चार मन्त्रालयको पत्रपछि चलचित्र विकास बोर्ड दबाबमा परेको देखिन्छ । अनलाइनखबरसँग कुरा गर्दै सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले यो विवादलाई सकेसम्म मिलाउनका लागि आफूहरुले बोर्डलाई पत्राचार गरेको बताए । बोर्डका सदस्य सचिव विशाल सापकोटाले पनि मन्त्रालयबाट आफूहरुलाई विवादलाई मिलाउन निर्देशन आएको बताएका थिए ।

एकातिर धार्मिक संघसंस्थालाई चित्त बुझाउनुपर्ने र अर्कोतिर फिल्मको अभिभावक संस्थाको उत्तरदायित्व बहनको सन्तुलन मिलाउनुपर्ने दबाब बोर्डमाथि देखिन्छ । बोर्ड प्रवक्ता बुढाथोकी नजीर स्थापना हुने गरेर आफूहरुले निर्णय गर्ने बताउँछन् ।

 

समीक्षक र फिल्मकर्मी के भन्छन् ?

फिल्म समीक्षक यज्ञशको भनाइमा कानुनी राज्य भनेको हरेकले निर्णय गर्ने होइन । कानुनले तोकेको निकाय र अधिकारीले मात्र निर्णय गर्ने र त्यसमा चित्त नबुझ्नेले कानुनी उपचारमा जान पाउने हक रहेको उनी बताउँछन् । उनी लेख्छन्, ‘सिनेमा दर्शकलाई देखाउन लायक छ कि छैन भनेर जाँच गर्ने भनेर सेन्सर बोर्डलाई जिम्मा दिएपछि त्यसमा थप कुनै पक्षको भूमिका हुँदैन । सिनेमाको चरित्रले व्यक्तिलाई प्रतिनिधित्व गर्छ, समुदायलाई होइन ।’

Reference: https://www.onlinekhabar.com

 

 

प्रतिक्रिया