मैत्रीपूर्ण खेलमा जापानसँग जर्मनी पराजित, प्रशिक्षक फ्लिक दबाबमा
२४ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानसँग ४-१ ले पराजित भएपछि जर्मनीका प्रशिक्षक हान्सी फ्लिक दबाबमा परेका छन् ।
जर्मनीको मैदान वुल्फ्सबर्गको फक्सवागन वोल्सवागेन एरेनामा भएको खेलमा जापानले जर्मनीमाथि सानदार जित निकालेको हो ।
खेलको ११ मिनेटमा जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाए पनि बायर्न म्युनिखका फरवार्ड लेरोय सानेले १९औं मिनेटमै बराबरी गोल फर्काए ।
इटोकै पासमा २२औं मिनेटमा आयसे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
त्यसपछि ९०औं मिनेटमा ताकुमा असानो र इन्जुरी टाइममा आओ तनाकाले गोल गर्दै जापानलाई ४-१ को जित दिलाए ।
जर्मनीको पछिल्लो पाँच खेलमा यो चौथो पराजय हो भने सन् २०२० मा नेसन्स लिगमा स्पेनसँग ६-० ले पराजित भएपछिको यो सबैभन्दा ठूलो हार हो ।
बायर्न म्युनिखका पूर्व प्रशिक्षक फ्लिकले अगस्ट २०२१ मा योकिम लोलाई प्रतिस्थापन गरेपछि आफ्नो २५ खेलमा जम्मा १२ खेल मात्रै जितेका छन् ।
२०२२ मा कतारमा भएको विश्वकपमा पनि जर्मनी जापानसँग २-१ ले पराजित भएको थियो र समूह चरणबाटै बाहिरिएको थियो ।
पछिल्ला १२ खेलमा जम्मा तीन खेल जितेको जर्मनीले ओमान, कोस्टारिका र पेरुलाई मात्र हराएको थियो ।
प्रशिक्षक फ्लिकले यसलाई ‘क्रूर रूपमा निराश’ भनेका छन् । तर उनी अझै पनि जर्मनीको लागि ‘सही म्यानेजर’ हुन् भन्ने सोच्दछन् । ‘व्यावसायिक फुटबलमा चिजहरू कसरी परिवर्तन हुन सक्छ र म के हुन्छ भनेर देख्न सक्दिन,’ उनले भनेका छन् ।
त्यो निराशा उनका खेलाडीहरूद्वारा पनि व्यक्त भएको थियो । कप्तानन इल्के गुन्डोगानले भने, ‘हामी अहिले पर्याप्त राम्रो छैनौं, यो पूर्णतया तितो दिन हो । हामी सबैले आफैंलाई प्रश्न सोध्न आवश्यक छ।’
बायर्न म्युनिखका मिडफिल्डर जोशुआ किमिचले थपे, ‘मुख्य कुरा यो हो कि हामी हारकै योग्य थियौं । दोस्रो हाफमा हामीसँग केही थिएन। हामीले वास्तवमा विश्वकप पछि राम्रो खेल खेलेका छैनौं । हामीले हाम्रो गुणस्तरमाथि प्रश्न उठाउनुपर्छ ।’
जर्मनीका फुटबल निर्देशक रुडी भोलरले ४-१ को हारलाई ‘अपमानजनक’ भनेका थिए ।
Reference: https://www.onlinekhabar.com
प्रतिक्रिया