विश्व फुटबलमा हलचल ल्याउने त्यो चुम्बन

विश्व फुटबलमा हलचल ल्याउने त्यो चुम्बन

२५ भदौ, काठमाडौं । महिला विश्वकप जितेको खुसीयाली मनाउने क्रममा खेलाडीलाई चुम्बन गर्ने स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिएका छन् । उनले युरोपेली फुटबल महासंघ यूईएफको उपाध्यक्ष पद पनि त्यागेका छन् ।

 

महिला विश्वकपको फाइनलमा इंग्ल्याण्डलाई १-० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियल्सले स्पनिस फरवार्ड जेनिफर हेर्मोसोलाई चुम्बन गरेका थिए ।

त्यो चुम्बनका कारण स्पेनिस महिला फुटबल टिमको सफलता नै ओझेलमा परेको थियो । स्पेनको विजयभन्दा बढी चुम्बन प्रकरण विश्वभरका अखबारमा हेडलाइन बने । स्पेनका पुरुष टोलीका पूर्व मिडफिल्डर  आन्द्रे इनिएस्टाले रुबियल्सको व्यवहारले विश्वकप जितेको खुसीलाई धमिलो बनाएको र जितको कथालाई फोहोर बनाएको आरोप लगाए ।

संघका अध्यक्ष ४६ वर्षका रुबियल्सले सहमतिमा नै हेर्मोसोलाई चुम्बन गरेको दाबी गरेका थिए । तर खेलाडीले अध्यक्षको जिकिरलाई अस्वीकार गरेसँगै विश्वभर तरंग पैदा भयो ।

अन्तर्राष्ट्रिय फुटबल फुटबल महासंघ फिफा, संयुक्त राष्ट्रसंघदेखि लिएर खेल सम्बद्ध विभिन्न संस्थाले रुबियल्सको त्यो कार्यप्रति आपत्ति जनाए । हेर्मोसोले सहमति बिना चुम्बन गरेको भन्दै स्पेनिस अदालतमा उजुरी नै दिएकी छिन् । विश्वकप जित्ने २३ सहित ८१ जना खेलाडीले रुबियल्स र प्रशिक्षक जोर्गे भिल्डा रहेसम्म खेल नै नखेल्ने घोषणा गरेका थिए ।

मैदानमा खेलाडीसँगको चुम्बन कारण उनले पद त्याग्नु परेको मात्र छैन, यो प्रकरणले विश्व फुटबल नै हल्लाएको छ र परिवर्तनको एउटा कारण पनि बनेको छ ।

विश्वकप सुरु हुनुअघि नै स्पेनिस महिला खेलाडीले आफ्नो सेवा सुविधा र सुरक्षाको माग राखेका थिए ।

गत सेप्टेम्बरमा १५ जना खेलाडीले प्रशिक्षक जोर्गे भिल्डालाई हटाउनु पर्ने माग राखेका थिए । भिल्डाले भावनात्मक अत्याचार र मानसिक दबाब दिएको भन्दै त्यो आफूहरुलाई सह्य नभएकाले उनलाई बर्खास्द गर्नु पर्ने महिला खेलाडीको माग थियो ।

तर महिला टोलीको विश्वकप तयारीमा असर पर्ने भन्दै स्पेनिस फुटबल संघले खेलाडीको माग सुनेन र भिल्डालाई प्रशिक्षकमा कायमै राखियो ।

महिला विश्वकप टोलीमा प्रशिक्षकमाथि उजुरी गर्ने तीनै १५ जना पनि परेका थिए । उनीहरुले भिल्डाकै प्रशिक्षणमा खेलेर विश्वकप जिते ।

तर विश्वकप जितेपछिको चुम्बन प्रकरणकै क्रममा स्पेनिस फुटबल संघले भिल्डालाई बर्खास्त गरेको छ ।

सुरूमा अध्यक्ष रुबियल्सको बचाउमा रहेका भिल्डा पछिल्लो समय आलोचनामा उत्रिएका थिए ।

रुबियल्सले राजीनामा दिनुअघि नै गत मंगलबार भिल्डाको ठाउँमा मोन्ट्से टोमले जिम्मेवारी सम्हालेका छन् । भिल्डा सन् २००९ देखि स्पेनिस महिला फुटबलमा जोडिएका थिए । स्पेनिस फुटबल पत्रकार गुलेम बलेग विश्वकप अघि नै भिल्डा बर्खास्त हुनुपर्थ्यो भन्छन् ।

‘गुनासो आएपछि खेलाडीको आवाजको सम्बोधन हुनुपर्थ्यो, संघले यसमा कुनै पनि सुनुवाइ गरेको थिएन, विश्वकप जित्नुअघि यस्ता उजुरीको कुनै सुनुवाइ भएको थिएन,’ उनले भने, ‘जब महिला टोलीले इतिहास रच्यो तब प्रणालीगत त्रुटी सुधारमा एक क्रान्ति नै भएझैँ आभाष भइरहेको छ ।’

बलेगका अनुसार यो चुम्बन प्रकरणको नतिजा जे जे देखिँदै छ, त्यो सबै स्पेनिस मी टू अभियानको सकरात्मक प्रभाव हो । एक शोषणमाथिको विद्रोह हो ।

स्पेनिस अभियोजनकर्ताहरुले हेर्मोसोमाथिको चुम्बन यौनसँग सम्बन्धित रहे नरहेको बारेमा अनुसन्धान गरिरहेका छन् । रुबियल्समाथि माथि स्पेनको प्रहरी र फिफाले पनि अनुसन्धान जारी राखेका छन् ।

खेलकुद सम्बन्धी स्पेनिस जाँचबुझ आयोगले हेर्मोसोलाई चुम्बन गरेर रुबियल्सले गम्भीर अपराध गरेको बताएको छ ।

स्पेनिस कार्यवहाक श्रम मन्त्री योलान्डा डियाजले भनेकी छिन्, ‘स्पेनमा प्रणालीगत रुपमै पुरुष अराजकताको संरक्षण छ । रुबियल्सको यो प्रकरण ती मध्येकै एक खराब उदाहरण मात्रै हो ।’

पत्रकार बेलेग यो प्रकरणले स्पेनिस फुटबल र समाजमा परिवर्तनको सकरात्मक पहल गरेको बताउँछन् । ‘यो प्रकरण सामाजिक जागरण हो यसले दीर्घकालीन रुपमा समाजलाई सकरात्मक असर छोड्नेछ’, उनले भने ।

स्पेनिस महिला फुटबल टोलीकी योजना तथा रणनीतिकार पेद्रो मलाबियाले यो प्रकरणले खेलकुदमा लागेका महिला खेलाडीलाई अन्यायविरुद्ध आवाज उठाउनका लागि सशक्तिकरण गर्ने बताउँछिन् । ‘हामीले कस्तो फुटबल संस्था, कस्तो खेल र कस्तो नियामक चाहेका हौं भन्ने सन्देश मात्रै नभएर अन्ययाविरुद्ध आवाज उठाउन यसले खेलाडीहरुलाइ सशक्तिकरण गरेको छ,’ उनले भनिन् ।

 स्पेनिस महिला टोलीमा अब के हुन्छ?

स्पेनी महिला टोलीको आवाज र दबाबका कारण अध्यक्ष र प्रशिक्षक दुबै हटेका छन् । नयाँ प्रशिक्षक नियुक्त भइसकेका छन् ।

विश्व महिला फुटबल च्याम्पियन बनेपछि पहिलो पल्ट स्पेनिस टोलीले २२ सेप्टेम्बरमा युरोपियन महिला नेशन्स लिगमा स्वीडेन विरुद्ध खेल्ने छ र यो वर्षको अन्त्यसम्म उसले नेशन्स लिगका पाँचवटा खेल खेल्नुपर्नेछ । नेशन्स लिगको फाइनलमा पुग्ने दुई टोली मात्रै सन् २०२४ को ओलम्मपिकमा पुग्नेछन् ।

स्पेनका लागि आफ्नो यो विरासतलाई कायमै राख्ने चुनौती छ । त्यसैले आफूलाई तिखार्दै अधिकार र सुविधाका लडाइँ जारी राख्ने पक्षमा खेलाडी छन् । प्रणालीगत रुपमा संरक्षित पुरुष अराजकता अन्त्यको सन्देश स्पेनिस महिला खेलाडीहरुले दिएका छन् ।

 

तीन साताअघि उनीहरु विश्वकप विजयको उत्सवमा थिए भने अहिले आफूहरुमाथि ज्यादती गर्ने अध्यक्ष र प्रशिक्षक हटेको उत्सव मनाइरहेछन् ।

Reference:  https://www.onlinekhabar.com

प्रतिक्रिया