टार्न सकिन्छ त भूकम्प ?

भूकम्पपछि पनि सयौंको संख्यामा आइरहेका परकम्प र अन्य भूकम्पका कारण अझै अन्योल छाइरहेकै छ ।

जति गरे पनि भूकम्पबाट भाग्न सक्ने अवस्था छैन किनकि यो हाम्रो नियति नै हो । ठूलो भूकम्प आउने सम्भावना जहिल्यै उच्च रहेकाले सुझबुझपूर्ण किसिमले गरिने जोखिम न्यूनीकरण र पूर्वतयारीका कामहरू नै क्षति घटाउने तथा नागरिकको सुरक्षा गर्ने प्रमुख अस्त्र हुन् । 

सुबोध ढकाल

ठूलो मानवीय क्षति हुने गरी गत शुक्रबार रातिको ६.४ म्याग्निच्युडको जाजरकोट भूकम्पले सम्पूर्ण नेपालीमा फेरि एकचोटि अन्योल र त्रास पैदा गरेको छ । यो भूकम्पभन्दा अलि पहिलेदेखि नै पश्चिम नेपालमा आइरहेका भूकम्पका शृंखला, यो भूकम्पपछि पनि सयौंको संख्यामा आइरहेका परकम्प र अन्य भूकम्पका कारण अझै अन्योल छाइरहेकै छ ।

गोरखाभन्दा पश्चिम पछिल्ला ५२० वर्षदेखि ठूलो भूकम्प नआएको र दक्षिणतिरको इन्डियन प्लेट उत्तरतिर सरी टिबेटन प्लेटसँग ठोक्किने प्रक्रिया चलिरहेकाले र त्यसमा लागेको शक्ति सञ्चित भइरहेकाले यो कति बेला विस्फोट हुने हो भन्ने डर सबैमा छ । हामी हाम्रो भूभाग छोडेर अन्यत्र भाग्न सक्ने अवस्था नरहेको र ठूलो भूकम्प आउने सम्भावना जहिल्यै उच्च रहेकाले सुझबुझपूर्ण किसिमले गरिने जोखिम न्यूनीकरण र पूर्वतयारीका कामहरू नै क्षति घटाउने तथा नागरिकको सुरक्षा गर्ने प्रमुख अस्त्र हुन् । योसँगै भूकम्प आउने र ल्याउने प्रमुख भौगर्भिक संरचनाहरूका बारेमा अध्ययन र तिनको पछिल्लो अवस्थासम्बन्धी जानकारी लिनु पनि उत्तिकै जरुरी छ । साथै एउटै भूकम्पले पनि कस्तो अवस्थामा बढी असर गर्न सक्छ अथवा भूकम्पका तरंगहरूलाई अतिरञ्जित बनाउन सक्छ भन्ने कुराले जोखिम घटाउन मद्दत पुर्‍याउँछ । हाम्रा भौतिक संरचना र भूकम्पका तरंगबीचको अन्तरसम्बन्धका बारेमा जान्नु, मनन गर्नु र सोहीअनुसारको संरचना बनाउनु पनि उत्तिकै जरुरी देखिन्छ ।

नेपालका मुख्य फल्टहरूको इतिहास

नेपालको दक्षिणदेखि उत्तरसम्म कम्तीमा तीनवटा ठूलठूला दरार (थ्रस्ट फल्ट) अथवा चिरा परेका भू–भाग छन् जसको क्रियाकलापले नेपालमा र हिमालयमै ठूलठूला भूकम्प ल्याउन मुख्य भूमिका खेल्छन्, खेलिरहेका पनि छन् । दक्षिणदेखि उत्तरसम्म जाँदा यिनलाई मेन फ्रन्टल थ्रस्ट (एमएफटी), मेन बाउन्ड्री थ्रस्ट (एमबीटी) र मेन सेन्ट्रल थ्रस्ट (एमसीटी) का नामले चिनिन्छ । यी तीनवटै फल्ट नेपालको लम्बाइको पूरा भू–भागलाई छेड्ने गरी पूर्वदेखि पश्चिमसम्मै फैलिएका छन् । एमएफटीले तराई र चुरेलाई छुट्याउँछ, एमबीटीले चुरे र लेसर हिमालयलाई छुट्याउँछ भने एमसीटीले लेसर हिमालय र हाइयर हिमालयलाई छुट्याउँछ । वैज्ञानिकहरूका अनुसन्धानअनुसार, इन्डियन प्लेट र टिबेटन प्लेटबीच करिब ५५ मिलियन वर्ष (५ करोड ५० लाख वर्ष) पहिले टकराव सुरु भएपछि पनि इन्डियन प्लेटको लगातारको उत्तरतिरको सराइ अनि शक्ति सञ्चय र विस्फोटको खेलमा इन्डियन प्लेटको उत्तरी भू–भाग टिबेटन प्लेटमुनि छिर्ने क्रममा लगभग २ करोड २० लाख वर्ष पहिले सबैभन्दा उत्तरतिरको थ्रस्ट फल्ट—एमसीटी—अस्तित्वमा आएको मानिन्छ । यसको असरले उत्तरतिरका चट्टानहरू दोब्रिने, टुक्रिने र कमजोर हुने भई दक्षिणतिरको लेसर हिमालयको चट्टानमाथि बुई चढ्न पुगेको र हाइयर हिमालय बन्न गएको मानिन्छ । इन्डियन प्लेट र टिबेटन प्लेटबीचको टकराव र अन्य आपसी क्रियाकलाप नरोकिएकाले पुनः करिब १ करोड वर्ष पहिले लेसर हिमालयको दक्षिणतिर एमबीटी भनिने अर्को नयाँ थ्रस्ट फल्टको उत्पत्ति भएको मानिएको छ जसले चुरे र लेसर हिमालयलाई छुट्याउँछ । यसको असरले उत्तरतिरका चट्टानहरू दोब्रिने, टुक्रिने र कमजोर हुने भएर दक्षिणतिरको चुरेको कमजोर चट्टानमाथि बुई चढ्न पुगेका छन् जसले गर्दा चुरेका चट्टानहरू झनै कमजोर भएका छन् । वैज्ञानिकहरूका अनुसन्धानअनुसार, त्यसपछि पनि इन्डियन प्लेट र टिबेटन प्लेटबीचको टकराव अनि शक्ति सञ्चय र विस्फोटको प्रक्रिया नरोकिएपछि करिब ४ लाख वर्ष पहिले अर्को नयाँ थ्रस्ट फल्ट देखा पर्‍यो, जसलाई एमएफटी भनिन्छ । यसले चुरे र तराईलाई छुट्याउँछ ।

फल्ट मुभमेन्ट र भूकम्पको सम्बन्ध

इन्डियन प्लेट र टिबेटन प्लेटबीचको टकराव र शक्तिको खेल यिनै फल्टहरूमा केन्द्रित छ र यिनै फल्टहरूमा शक्ति सक्रिय हुँदा यीमध्येकै कुनै फल्टमा मुभमेन्ट भई नेपालमा ठूला भूकम्पहरू आउने गर्छन् । इतिहास हेर्दा, यीमध्ये जुन फल्टको सक्रियता बढ्छ, त्यसकै वरिपरि भूकम्पको असर बढी हुन्छ । शतप्रतिशत ग्यारेन्टीका साथ अहिले यो फल्ट बढी सक्रिय छ र पछि यो समयमा योचाहिँ फल्ट सक्रिय हुन्छ भनेर ठोकुवा गर्न नसकिने अहिलेको अवस्थामा नेपालको यो ठाउँ भूकम्पप्रतिरोधी छ भनी किटान गर्न सकिँदैन । किनकि उत्तरबाट दक्षिणसम्मै नयाँ फल्टहरू क्रमशः फैलिँदै छन् र यिनको लम्बाइ नेपालजत्तिकै छ । इतिहास हेर्दै पहिले ठूला भूकम्पहरू गइसकेका क्षेत्रमा नयाँ ठूलो भूकम्प जानुभन्दा पहिले सेस्मिक ग्याप हुन गई भूकम्प जाने सम्भावना बढी हुन्छ भनी तर्क गर्न त सजिलो हुन्छ तर गइसकेको ठाउँमा फेरि भूकम्प जाँदैन भनेर किटान गर्नचाहिँ गाह्रै पर्छ । यसरी हेर्दा नेपालका लगभग सबै क्षेत्र भूकम्पीय जोखिममै छन्, तर पूर्वी क्षेत्रका तुलनामा पश्चिमी क्षेत्रमा कम भूकम्प गएकाले र यी क्षेत्रमा शक्ति सञ्चय बढी हुनुपर्ने आधारमा नेपालको पश्चिमी क्षेत्रमा अबको भूकम्प आउन सक्ने वास्तविकतालाई हावादारी भन्ने सकिने अवस्था पनि छैन । तर त्यो कहिले जाला र कत्रो जाला, दाबीका साथ कसैले भन्न सक्दैन । माथि नै भनियो, गोरखा पश्चिम ठूलो भूकम्प नगएको ५ सय २० वर्षभन्दा धेरै भइसकेको छ । यसलाई २०७२ को गोरखा भूकम्पले बनाएको चिरा सतहसम्म नआइपुग्नुले पनि पुष्टि गरेको छ किनकि सतहसम्म चिरा नआइपुग्दा जमिनमुनि शक्ति अझै बारिएको हुन सक्छ । तर सानो मुलुकको जुनै ठाउँमा केन्द्रबिन्दु भए पनि अर्को ठाउँमा असर पर्न सक्ने प्रशस्त सम्भावना रहने भएकाले भूकम्पका विषयमा ढुक्क भएर बस्न सकिन्न, बस्न हुन्न पनि ।

तरंग अतिरञ्जित हुने अवस्था

घर बनाउँदा सकेसम्म कम बाक्लो माटोको सतह भएको ठाउँ छान्ने, अग्लो घर नबनाउने, राम्रो इन्जिनियरिङ डिजाइनको घर बनाउने, भूकम्पप्रतिरोधी प्रविधिको जग हाल्ने, उत्तम निर्माण सामग्री प्रयोग गर्ने र भूकम्पका बेला चाहिने सुरक्षित स्थानको जोहो घर बनाउने बेलामै गर्ने गरेमा भूकम्पबाट बचिने सम्भावना बढी हुन्छ । माटोमा बलियो चट्टानका तुलनामा लोड थाम्ने शक्ति कम हुन्छ, जसले गर्दा भूकम्पका तरंगहरूलाई अतिरञ्जित (एम्प्लिफाई) गरिदिन्छ र भूकम्प जाँदा विभिन्न अवस्थामा यसमा डिफरेन्सियल सेटलमेन्ट र लिकुइफ्याक्सनको समस्या हुन सक्छ ।

यसबाहेक, पहाडको टुप्पामा घर सकेसम्म बनाउनु हुँदैन किनकि त्यहाँ पनि टोपोग्राफिक इफेक्टले गर्दा भूकम्पका तरंगहरू अतिरञ्जित हुन्छन् अनि यस्तो ठाउँमा भूकम्पपछि पहिरो जाने सम्भावनासमेत बढी हुन्छ । त्यसैले अहिले नै भएका फल्टहरूको पहिचान गरी तिनको नजिक बस्ती बसाउन नहुनेमा व्यक्ति र राज्य दुवै सतर्क हुनैपर्छ किनकि भूकम्पको पूर्वानुमान गर्न सकिँदैन । मतलब, अब भूकम्प जाला कि नजाला, अथवा कति वर्षपछि जाला, कता जाला भन्नेजस्ता प्रश्नको शतप्रतिशत तथ्य निकाल्न गाह्रो छ ।

२०७२ को गोरखा भूकम्पपछि काठमाडौंमा भत्किएका घरहरूको अनुगमन र निरीक्षण गर्दा यहाँको भौगर्भिक बनोट र भूकम्पीय तरंगबीचको अन्तरसम्बन्ध प्रस्टिएको छ । जस्तो कि, काँचो इँटाले बनेका पुराना घरहरूमा पनि धेरै क्षति पुगेको पाइएन भने पक्की भनिएका घरहरू पनि पूरै भत्किए । धेरैजसो पक्की तर अग्ला घरहरू भत्किएका र होचा घरहरू सामान्यतः बचेका थिए । यसको मुख्य कारण के हुन सक्छ भने, अग्ला घरहरूको न्याचुरल फ्रिक्वेन्सी कम र होचा घरहरूको नेचुरल फ्रिक्वेन्सी बढी हुने हुन्छ । अथवा, अग्ला घरहरूलाई बिस्तारै हल्लाउँदा धेरै हल्लिन्छन् भने होचा घरहरूलाई ठूलो गतिमा हल्लाउँदा धेरै हल्लिन्छन् ।

अग्लो घरलाई सानो फ्रिक्वेन्सीको भूकम्पीय तरंगले बढी असर गर्दछ भने होचो घरलाई ठूलो फ्रिक्वेन्सीको तरंगले । ठूलो फ्रिक्वेन्सीको भूकम्पीय तरंग टाढासम्म पुग्दा बाटामै हराउन वा कम हुन जान्छ र टाढासम्म पुग्दा सानो फ्रिक्वेन्सीको तरंगको असर मात्र प्रबल हुने गर्दछ । त्यसैले ठूलो फ्रिक्वेन्सीको भूकम्पीय तरंग कम भएपछि होचा घरहरूमा क्षति कम हुनु स्वाभाविक हुन जान्छ । तर यदि यत्रै भूकम्पको केन्द्रबिन्दु काठमाडौंको अति नजिकै भएको भए सानो र ठूलो दुवै फ्रिक्वेन्सीका भूकम्पीय तरंगहरूले असर गर्ने थिए र साना–ठूला जस्तासुकै घरहरू भत्किने थिए ।

हाम्रा घरहरूलाई एक चोटि धकेलेर फेरि पहिलेकै स्थानमा ल्याउन भूकम्पीय तरंगलाई कति समय लाग्ला भनेर थाहा भएमा यस्तो असरका बारेमा बुझ्न सजिलो हुन्छ । किनकि यस्तो समय जति धेरै भयो, अग्ला घरहरूलाई यसले त्यत्ति नै बढी असर गर्छ । यस्तो समय जति थोरै भयो, त्यत्ति नै होचा घरहरूलाई बढी असर गर्दछ । यस्तो समयलाई ‘फन्डामेन्टल पिरियड’ भनिन्छ र हाम्रा घरहरूको फन्डामेन्टल पिरियड सामान्यतः घरको तल्लाको संख्यासँग समानुपातिक हुन्छ । यसमा भौगर्भिक बनोट र इन्जिनियरिङ डिजाइन अनि निर्माण सामग्रीले पनि भूमिका पक्कै खेल्छन् ।

यसमा भूकम्पको तरंगलाई असर गर्ने स्रोत (सोर्स इफेक्ट), बाटोको असर (पाथ इफेक्ट) र संरचना रहेको स्थानको असर (साइट इफेक्ट) तीनवटै असरका साथै भूकम्पीय तरंग र हाम्रा घरहरूबीचको सम्बन्धको पनि एकीकृत विश्लेषण जरुरी हुन्छ । यसमा टोपोग्राफिक असरको पनि मूल्यांकन गरेपछि मात्र भविष्यको भूकम्पको जोखिमका बारेमा यकिनका साथ भन्न सकिन्छ । तर सत्य कुरा के हो भने, जति गरे पनि भूकम्पबाट भाग्न सक्ने अवस्था छैन किनकि यो हाम्रो नियति नै हो । अनि भूकम्पसम्बन्धी शिक्षा, खुला र सुरक्षित स्थानको पहिचान, भूकम्प आउँदा घरभित्र भए के गर्ने र अन्य स्थानमा भए के गर्ने अनि आफ्नै घरको कुन स्थान सुरक्षित हुन सक्छ भन्ने पक्षको जानकारी, हाम्रा घरहरूको अवस्थाका बारेमा चुस्त–दुरुस्त तथ्यांक अनि त्यसका आधारमा सही निर्णय हुन सके यसबाट हुने मानवीय क्षतिलाई पक्कै पनि घटाउन सकिन्छ ।

ढकाल त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभाग प्रमुख हुन् ।

Source: ekantipur.com

प्रतिक्रिया