विदेशबाट फर्केर तानमा आत्मनिर्भर बन्ने प्रयास

तानमा आत्मनिर्भर बन्ने प्रयास

बाहुनडाँगीबाट मेची तरेर दिल्लीतिर सोझिइन् । पहिलो पटक तीन वर्ष बिताएर कुवेतबाट फर्किइन् । ७ महिना जति घर बसेपछि पुनः उडिन् । दोस्रो पटक उनी कुवेत हुँदै साउदी पनि पुगिन् । कुवेत–साउदी–नेपाल ओहोर दोहोरमा झन्डै १३ वर्ष बिताइन् । ‘१० वर्ष त लुकिछिपी काम गर्नुपर्‍यो’ मञ्जुले सुनाइन्, ‘भिसाको समय सकिएपछि लुकेर काम गर्न बाध्य भएँ ।’ उनी फर्किएको वर्ष दिनपछि कोरोना महामारी सुरु भयो । झन्डै दुई वर्ष कोरोना झेलेरै बित्यो । त्यसपछि बेरोजगार उनी अहिले आत्मनिर्भरतर्फ अग्रसर बन्दै गएकी छन् ।

गत वर्ष विदेशबाट फर्किएका विपन्न महिलालाई शक्ति समूहको सहकार्यमा मेचीनगर–४ ले तान बुन्ने तालिम दियो । करिब तीन महिना तालिम लिएपछि मञ्जुले अहिले तान बुन्ने सिप सिकेकी छन् । ढाकाको टोपी, खादा, लुंगी, साडी, गलबन्दी जस्ता सामग्री मज्जाले बुन्न थालेकी छन् । ‘दिनभरी घरधन्दामै बित्थ्यो,’ उनले थपिन्, ‘अहिले तान बुनेर आफ्नो खुट्टामा उभिने प्रयास गरिरहेकी छु ।’ मञ्जुका श्रीमान् प्यारालाइसिस भएर थलिएका छन् । परिवार पाल्ने जिम्मेवारी पनि उनकै काँधमा छ । तानमा बुनेका खादा, गम्छा, सल र साडी बिक्रीवापत वडाले उनलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

मेचीनगर–४ कै ५५ वर्षीया दिलमाया आचार्यको कथा पनि उस्तै छ । उनी १५ वर्षअघि भारतीय बाटो साउदी पुगिन् । नाताले भान्जी पर्नेले उनलाई मुम्बईको हवाईमार्ग भएर साउदी पुर्‍याइन् । श्रीमान् र श्रीमती दुवै जान खोजेका थिए । तर, उनको भिसा छिटो आयो । श्रीमान् बालबच्चा सम्हालेर घरमै बसे । न भने जस्तो काम न तलब सुविधा, नत खाना नै । साउदीमा उनी ११ महिना भन्दा बढी टिक्न नसकेर रोइकराई गरेर घर फर्किइन् । ‘काममा मात्रै दलाउने, खान नदिने समस्या भयो,’ उनले ती दिन सम्झिइन्,‘राति एउटा चिसो रोटी दिन्थ्यो, भोक खप्न नसकेर फर्किएँ ।’

कमाउन विदेशिएकी उनी खाली हात घर फिरेपछि ऋणपान गरेर किराना पसल सुरु गरिन् । लामो समय किराना पसलबाट परिवार धान्दै आएकी उनी यतिबेला बेरोजगार थिइन् । वडा कार्यालयले तानमा कपडा बुन्ने तालिमका लागि विदेशबाट फर्किएका चार महिलामध्ये छनोट गरेपछि उनी उत्साहित बनेर सहभागी बनिन् । तालिमपछि उनले दुई महिना लगाएर खादा बुनिन् । यही सिपलाई अब व्यवसायिक बन्ने योजना उनको छ । ‘सिकेको सिपलाई जीवन चलाउने काममा लगाउने छु,’ दिलमायाले योजना सुनाइन्,‘मेहनतको फल अवश्य मिठो हुन्छ ।’

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले विदेशबाट फर्किएका वडाका विपन्न महिलालाई ‘आफ्नो खुट्टामा आफै उभिन’ सिकाउने उद्देश्यले तानमा कपडा बुन्ने तालिम दिएको बताए । उनले भने,‘तालिम लिएका महिलाहरु अहिले वडा कार्यालयमा आएर नियमित काम गरिरहेका छन् ।’

महिलाहरुले उत्पादन गरेका खादा, ढाकाको मजेत्रो, गलबन्दी, ढाकाको साडी, टोपीलगायतका सामग्रीलाई वडाले आफ्नो उत्पादनको रुपमा बिक्री गर्ने र त्यसवापत महिलाहरुलाई पारिश्रमिक उपलव्ध गराइरहेको वडाध्यक्ष कार्कीले जनाए । एक वर्षसम्म उनीहरुलाई कच्चा पदार्थ दिएर बुन्न लगाउने र त्यसवापत महिनाको ५ हजार रुपैयाँ पारिश्रमिक दिने उनले बताए । ‘एक वर्षमा दक्ष भएपछि आफ्नै व्यवसाय सञ्चालन गर्दा झनै राम्रो हुन्छ,’ वडाध्यक्ष कार्कीले भने, ‘अहिले सिपसँगै सामान्य व्यवहार सम्हाल्न खर्च उपलब्ध गराइरहेका छौं ।’

source: ekantiur.com

प्रतिक्रिया