व्यवसायी, जसले दिनको ३० देखि ६० किलो तरकारी साइकल र मोटरसाइकलमा लोड गरेर घरदैलोमा पुर्याउँछन् र गुजारा चलाउँछन्
लुम्बिनी — रूपन्देहीको बुटवल–१७, मोतीपुरकी ३७ वर्षीया अञ्जु थारूको दैनिकी बिहान ४ नबज्दैबाट सुरु हुन्छ । साइकलमा पेडल मार्दै झन्डै ५० किलो भारीको तरकारी बोकेर हुस्सुको पर्दा पनि नखस्दै उनी स्थानीयको घरघर नपुग्ने हो भने उनको परिवारको गुजारा चल्दैन ।
पटपटी फुटेका पैताला । मुखबाट निस्किरहेको तातो बाफ अनि साग आयो, गोभी, मूला आयो... भन्दै कराइरहने अञ्जुलाई यही परिश्रमले दुई छोरा हुर्काउन र घरपरिवारको बेवास्ता गर्ने श्रीमान्लाई पाल्न पुगेको छ । तिलोत्तमा र बुटवलका कैयौं टोलका स्थानीयका निम्ति अञ्जुको आवाज यति परिचित भइसक्यो कि उनी बोलेको सुनेपछि मात्रै उनका पुराना ग्राहक घरको झ्यालबाट बाहिर चियाउँछन् अनि पैसा बोकेर तरकारी किन्न आइपुग्छन् ।
तरकारीको डोको रित्याएर अञ्जु घर पुग्दा उनका दुई छोरा स्कुल पुगिसकेका हुन्छन् । आठ वर्षीय जेठो छोराले नै खाना पकाइवरी आफू र भाइले खाएर स्कुलसम्म जाने सबै चाँजो मिलाउने अञ्जुले बताइन् । सकेसम्म सबै तरकारी बेचेर घर फर्किंदा कहिलेकाहीँ त मध्याह्न नै भइसक्छ । ‘बिहान निस्केपछि बाटामा केही खान्नँ,’ उनले भनिन्, ‘पैसा जोगाउनुपर्छ, घरै पुगेर भात खान्छु ।’
चार वर्षअघि अञ्जुले साइकलमा तरकारी बेच्न सुरु गर्दा उनका कान्छा छोरा ७ महिनाका मात्रै थिए । जेठो छोराको भरमा दूधे बालक छाडेर तरकारी बेच्न निस्कँदा उनको मन सधैं अतासिन्थ्यो । हिजोआज भने उनलाई दुवै छोरा अलिक कुरा बुझ्ने भएकाले ढुक्क लाग्छ । दिउँसोको खाना खाएपछि अञ्जु तरकारी उत्पादन गर्ने किसानको बारीबारीमै पुग्छिन् । किनकि उनलाई अर्को दिन बिहानै बेच्न लैजाने तरकारीको मोलतोल गर्नु छ ।
रूपन्देहीका ग्रामीण क्षेत्रबाट साइकलभरि तरकारी बोकेर भैरहवा र बुटवल सहरतिर प्रत्येक बिहान सूर्य पनि नउदाउँदै साइकलमा आउनेहरूमा प्रायः अञ्जुजस्तै महिला हुन्छन् । तिनीहरूमध्ये कैयौं त ३० देखि ६० किलोसम्मको भारी बोकेर दैनिक ५० देखि सय किलोमिटरसम्मको यात्रा गर्छन् । अञ्जुजस्ता महिलाले तरकारी बेच्न उठाएको यो परिश्रमले किसानको ताजा तरकारी सहरवासीले खान त पाएका छन् नै, किसानको तरकारी बारीबाटै बिक्री हुने अभ्यासको पनि सुरुवात भएको छ ।
शुद्धोधन–७, गोगौलीका ५८ वर्षीय चैठु यादवको दिनचर्या पनि अञ्जुकै जस्तो छ । उनको परिवारमा उनीसहित ६ जना छन् । तर सबैका लागि खर्चको जोहो गर्ने एक्लो जिम्मेवारी भने चैठुले नै उठाइरहेका छन् । ‘दुई छोरा छन्, काम नगरी बस्छन्,’ उनले सुनाए, ‘मेरो बूढो शरीर नदलिएसम्म खान पुग्दैन ।’
चैठुले साइकलमा तरकारी बोकेर बेच्न थालेको ४२ वर्ष भयो । सुरुवाती दिनमा उनी आफ्नै बारीमा उत्पादित तरकारी डुलाएर बेच्थे । पछिपछि भने सब्जीमन्डीबाट तरकारी किनेर बेच्न थाले ।
‘सियारी र मायादेवी गाउँपालिकाभरि टोकरीमा तरकारी बोकेर डुल्थें,’ उनले भने, ‘साइकल त धेरै पछि किनेको हो, पहिले थिएन ।’चैठुको दैनिकी पनि बिहान ४ बजेपछि नै सुरु भइहाल्छ । उनले सुनाए, ‘बिहान ५ बजे धमौली मन्डी पुगिसक्छु । त्यहाँबाट तरकारी किनेर बुटवल पुग्न ३ घण्टा लाग्छ ।’
धपेडी हुने भएकाले एक दिन बिराएर तिनाउपारिका तिलोत्तमा, ओमसतिया, बुटवलसम्म पुग्ने गरेको उनले बताए । ‘दिनमा २ सयदेखि १ हजार रुपैयाँसम्म कमाइ हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ बराबर पनि हुन्छ, त्यस्तोमा चित्त बुझाउनुबाहेक विकल्प हुँदैन, अर्को दिन अन्य तरकारी खरिद गर्छु ।’
साइकल चलाउँदा चलाउँदा घुँडा दुख्ने र छाती फुल्ने समस्या देखिए पनि उनलाई काम नगरी धर छैन । घरमा कमाउने कोही नभएकाले आफू खटिन बाध्य भएको उनको मजबुन छ । ‘म छउन्जेल, खाऊन्, मरेपछि यिनको दुःख देख्दिनँ,’ उनले रिसको भाकामा भने, ‘काम नगरे पनि परिवारको माया लाग्छ, पेटले बिरामी छ भन्दैन ।’
चैठुलाई हरेक दिन बिहान उठेपछि हतारोले छोपिहाल्छ । नछोपोस् पनि किन, अलिकति ढिला गर्नेबित्तिकै तरकारी लिएर बस्ती पस्न ढिला हुन्छ । त्यस्तो ढिलाइका कारण आफूले तरकारी बेच्ने क्षेत्रमा अरू नै पुगेर तरकारी बेचिसक्ने खतरा रहन्छ । तरकारी बेच्न ढिला भए लगानी पनि नउठ्ने जोखिम रहन्छ ।
बूढेसकालमा पनि परिवारको सबैको जिम्मेवारी लिनुपर्ने बाध्यता अनि बिरामी परिरहने श्रीमती चिन्कीका कारण उनले सुस्ताउने समय पाएका छैनन् । त्यति मात्रै होइन, बिहे गरेकी छोरीले समेत खान–लाउनका लागि उनकै मुख ताक्ने भएकाले उनलाई अतिरिक्त श्रम नगरी धर छैन । ‘मलाई फोन गरेर रुन्छे, खान पाइएन भन्छे,’ उनले भने, ‘ज्वाइँ त्यस्तै परे, छोरीलाई समेत हेर्नुपर्छ ।’
शुद्धोधन–७, मधुवनीका तुलसीराम पासवान ५२ वर्ष पुगे । चैठुजस्तै उनी पनि ३० वर्षदेखि यसरी तरकारी बिक्री गरेर गुजारा गरिरहेका छन् । ‘पहिला म बजारमा लगेर बेच्थें,’ तुलसीरामले सुनाए, ‘कोरोनापछि यसरी डुल्न थालें ।’ २ छोरी, १ छोरालाई पढाउन र घर खर्च चलाउन यही कमाइले पुगिरहेको उनले जनाए । उनी दैनिक ३०/४० किलोमिटरसम्मको दूरी पेडल मारेरै काट्छन् । साइकल पेल्दा–पेल्दा खुट्टा दुख्यो भने बीच बाटोमा केहीबेर आराम गरेर फेरि पेडल मार्ने गरेको उनको भनाइ छ ।
जिल्लाको धमौली सब्जीमन्डी, नन्दपुरको गुलरिया सब्जीमन्डी पुराना मन्डी हुन् । यिनमा वर्षौंदेखि स्थानीय किसान र व्यापारीको मोलमोलाइ चलिरहेको छ । यस्ता मन्डीबाट चैठु र तुलसीरामजस्ता विक्रेताले तरकारी किनेर साइकलमा उपभोक्ताका घरघर पुर्याइरहेका छन् ।
गैडहवा गाउँपालिका–७ की लक्ष्मी केवट घरबारीमा फलेको भान्टा, बेथेको साग र काउली बिक्री गर्न गुलरिया मन्डी आइपुगेकी थिइन् । आफूले घरबाट ल्याएको १० किलो तरकारी आधा घण्टामै बेचिसकेकामा उनी प्रसन्न थिइन् । कक्षा ८ मा पढिरहेकी केवटले हरेक शनिबार र अन्य बिदामा मन्डी जाने, त्यहाँको व्यापारिक वातावरण बुझ्ने र केही सिक्ने मौकासमेत पाइरहेको बताइन् ।
गुलरिया मन्डीमा चर्चित छिन् व्यापारी उमा मल्लाह । कञ्चन गाउँपालिकामा घर रहेकी उनी गुलरिया मन्डीबाट तरकारी किनेर कपिलवस्तुसम्मका बजारमा बिक्री गर्छिन् । पालिकामा उत्कृष्ट व्यापारीको नामसमेत पाएकी उनले ९ सालयता यसैगरी तरकारी बेच्दै आएकी छन् ।
मल्लाहले पहिले साइकलमा तरकारी ओसार्थिन्, अ हिले चारचक्के गाडीमै बजारसम्म पुग्छिन् । किसान उनलाई देख्नासाथ व्यापारी आइन् भनेर नमस्कार गर्छन् । जतिसक्दो दररेट कम पारेर किन्ने गरेको उमाले जनाइन् । पुरुष व्यापारीको तुलनामा उनले राम्रो व्यापार गर्न सकेको किसान नै बताउँछन् ।
सैनामैनाका द्रोण भट्टराई पनि तरकारी विक्रेता हुन् । लौ हजुर तरकारी आयो भन्दै ई–रिक्सामा माइकिङ गर्दै रामापुर कलौनीदेखि बुटवलसम्म आउने उनले साधनले साथ दिएकाले सहज महसुस गर्ने जनाए । १० वर्ष साउदीमा बिताएका उनले ९ महिना मात्र भयो यो व्यवसाय गर्न थालेको । ‘विदेश छँदा नेपाल गएर के काम गर्न सकिएला भनेर हेर्थें,’ उनले भने, ‘तरकारी खरिदबिक्री सहज लाग्यो, त्यही गर्दै छु ।’ यस्तो व्यापारबाट दैनिक कम्तीमा पनि ५ सय फाइदा हुने गरेको उनको भनाइ छ । दिनभरि मान्छे कुरेर रिक्सा गुडाउनुभन्दा तरकारी लगेर बेच्दा फाइदा हुने उनले जनाए ।
Source: ekantipur.com
प्रतिक्रिया