बालविवाहविरुद्ध युवतीहरू

बालविवाहका कारण स्वास्थ्य, शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा पर्ने नकारात्मक असर र कानुनी व्यवस्थाबारे सचेतना जगाउन काभ्रेका २३ युवती सक्रिय

काभ्रे — काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित ‘होक्से’ मा बालविवाह हुँदै छ भन्ने खबर पाँचखाल नगर बाल सञ्जालकी प्रजिता ढुंगानाले पाइन् । त्यसलगत्तै बाल सञ्जालको टोली, नगरपालिकाका जनप्रतिनिधि र प्रहरीको टोली विवाहस्थल पुगे । घटना २०७६ फागुनको हो ।

‘केटीको उमेर १४ वर्ष मात्रै थियो भने केटाको २१/२२ वर्ष,’ घटनाबारे बताउँदै प्रजिताले भनिन्, ‘परिवारको कहरले उमेर नपुग्दै विवाह गरिन लागेको रहेछ । यसबारे बाल सञ्जालकै सदस्यबाट थाहा पायौं । नगरपालिका, प्रहरी प्रशासन सबैलाई जानकारी दिएपछि विवाह रोक्न सफल भयौं ।’

त्यसयता भने प्रजिताको सक्रियता बालविवाह रोकथामका कार्यक्रममा बाक्लिएको छ । बाल क्लब, बाल समूह, बाल सञ्जालमा अहिले उनी सहजकर्ताका रूपमा क्रियाशील छिन् । २१ वर्षीया प्रजिता जहाँजहाँ पुग्छिन्, बालविवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम हुने गर्छन् । पाँचखालमा पछिल्लो समय बालविवाहको संख्यामा कमी आएको छ । उनका अनुसार, परिवारको करले हुने विवाह रोकिएका छन् । तर, आफूखुसी विवाह गर्नेको संख्या भने बढेको उनले बताइन् । ‘आफूखुसी विवाह गर्नेमा अधिकांश १५ देखि १९ वर्षसम्मका रहेका पाएका छौं । यसमा चाहिँ पछि मात्र जानकारी पाइन्छ,’ उनले भनिन्, ‘पूर्वजानकारी नहुने भएकाले विवाह रोक्न पनि सम्भव हुँदैन । त्यसकारण अलि चुनौती देखिएको छ ।’

प्रजिता र उनको टिमले हालसालै पाँचखाल नगरपालिकाका विभिन्न वडामा पुगेर बालविवाह रोकथामसम्बन्धी ‘बालविवाहविरुद्ध हाम्रो आवाज’ परियोजना पनि सञ्चालन गरेका छन् । परियोजनामा बालविवाहसम्बन्धी कानुन, बालविवाहले निम्त्याउने समस्या, बालविवाहका बेफाइदालगायत विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । समुदाय स्तरमा गरिएका यस्ता कार्यक्रमले बालविवाह न्यूनीकरण हुने उनको अपेक्षा छ ।

प्रजिताजस्तै पाँचखाल नगरपालिका–१२ बालुवाकी १९ वर्षीया निशा दनुवारको दैनिकी पनि आजभोलि बदलिएको छ । केही समययता उनी बालविवाहविरुद्धको सचेतनामूलक कार्यक्रममा भेटिन्छिन् । गाउँघर, टोल, छरछिमेक, समुदाय र विद्यालयमा विभिन्न कार्यक्रम लिएर हिँड्ने गर्छिन् उनी । कहिले बालविवाहसम्बन्धी समूह भेला त कहिले सरोकारवाला निकायसँग अन्तर्क्रिया र विद्यार्थीमाझ सचेतनामूलक कार्यक्रम गर्छिन् ।

यसरी कार्यक्रम लिएर विभिन्न ठाउँमा पुग्न थालेपछि भने उमेर नपुगी विवाह भएका घटनाबारे थाहा हुने गरेको उनले बताइन् । उनका अनुसार १५ देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीहरूले कानुनविपरीत विवाह गरेका विषयमा कार्यक्रमका सहभागीले सुनाउने गरेका छन् । ‘परिवारको करले भन्दा पनि आफूखुसी विवाह गर्ने गरेको हामीले पाएका छौं,’ उनले भनिन्, ‘सामाजिक सञ्जालमार्फत प्रेमसम्बन्धमा रहने र उमेर नपुगी विवाह गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।’

निशाले कार्यक्रमहरूमा मात्र नभई आफ्नै साथीहरू र आफन्तकहाँ पनि यस्ता घटना देखेपछि रोकथामका लागि अभियानमा लागेकी हुन् । उमेर नपुगी विवाह गर्नु भनेको कानुनी रूपमा अपराध हो भन्ने कुराको ज्ञान हुँदाहुँदै पनि विवाह भइरहेका छन् । यसको न्यूनीकरणका लागि समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने अठोटका साथ आफू अघि बढेको उनले बताइन् । ‘बालविवाहबारे जानेका र बुझेकालाई बुझाउन भने निकै गाह्रो हुनेरहेछ,’ उनले अनुभव सुनाइन्, ‘यस विषयमा जानकारी भएकाले नै उमेर नपुगी विवाह गरेको पाएका छौं । कानुनी व्यवस्था थाहा नहुनेलाई बुझाउन भने सजिलो छ ।’ निशासहितको टिमले पाँचखाल नगरपालिकाका–१ र १३ वडामा बालविवाह रोकथामका लागि सचेतना अभियान चलाइसकेका छन् ।

आफ्नै साथीले बालविवाह गर्दा भोगेका समस्या पाँचखाल नगरपालिका–१३ की जुना रोक्काले प्रत्यक्ष नियालिरहेकी थिइन् । उमेर नपुग्दै विवाह गर्दा साथीले भोगेको जस्तो समस्या गाउँमा अरूको पनि देखेकी थिइन् । ‘फेसबुक, ह्वाट्स एप, भाइबर लगायतका सामाजिक सञ्जालमा जोडिने, कुराकानी हुँदै प्रेमसम्बन्धमा पुग्ने, भेटघाटपछि सम्बन्ध विवाहमा परिणत हुन्छ,’ उनले भनिन्, ‘एक त उमेर नपुगी विवाह भएको हुन्छ । अर्कोतिर परिपक्व पनि नहुँदै जिम्मेवारी आइपरेपछि झन् समस्या थपिँदै जान्छन् ।’ प्रेम बालविवाहपश्चात् त झन् परिवारबाट पनि साथ नपाउने भएकाले थप समस्या झेल्नुपर्ने उनी बताउँछिन् ।

‘अझ बालविवाहपश्चात् बच्चा भएको खण्डमा त अवस्था कहालीलाग्दो हुन्छ,’ उनले भनिन्, ‘बालविवाह गर्दा पढ्न पनि पाउँदैनन् । भविष्य त अन्धकारमा पर्छ नै प्रजनन स्वास्थ्यमा पनि उत्तिकै समस्या हुन्छ ।’ त्यसैले बालविवाहका बेफाइदासँगै यसले स्वास्थ्य, शैक्षिक, आर्थिक र सामाजिक रूपमा पार्ने असर लगायतबारे जानकारी गराउन नगरपालिकाका विभिन्न वडामा पुगेर सचेतनामूलक कार्यक्रमअन्तर्गत अन्तर्क्रियाका साथै श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गर्ने गरिएको उनले बताइन् ।

पछिल्लो समय प्रजिता, निशा, जुनालगायत पाँचखालका युवतीहरूले समुदायमै पुगेर यस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन् । उज्यालो फाउन्डेसनको आयोजना र पाँचखाल नगरपालिकाको सहकार्यमा २३ युवतीले ‘एम्पावर’ (सशक्तीकरण) कार्यक्रममार्फत पाँचखाल नगरपालिकाका विभिन्न वडामा परियोजना सञ्चालन गरेका हुन् । समाजमा समस्याका रूपमा रहेको अभ्यासलाई निराकरण गर्न पाँचवटा समूहमा युवतीहरूले परियोजना सञ्चालन गरेका उज्यालो फाउन्डेसनकी कार्यक्रम संयोजक आज्ञा श्रेष्ठले जानकारी दिइन् ।

श्रेष्ठका अनुसार युवतीहरूले बालविवाह, घरेलु हिंसा, लैंगिक हिंसा, महिनावारीको समयमा हुने विभेदका विषयमा रहेर परियोजना सञ्चालन गरेका हुन् । यस्तै अभियानका कारण पनि काभ्रे जिल्लामा पछिल्लो समय मागी बालविवाहको संख्यामा कमी आएको छ । तर प्रेम बालविवाहको संख्यामा भने कमी आउन नसकेको जिल्ला बाल सञ्जाल काभ्रेका निवर्तमान अध्यक्ष सुबोध धिमाल बताउँछन् । धिमालका अनुसार प्रविधिको माध्यमबाट साथीसंगीमार्फत चिनाजानी हुँदै प्रेमसम्बन्धमा रहेर उमेरै नपुगी विवाह भएका उदाहरणहरू जिल्लामा धेरै छन् ।

‘यसको रोकथामका लागि स्थानीयस्तरबाट धेरै प्रयासहरू भइरहेका छन्,’ उनले भने, ‘स्थानीय सरकारको सहयोगमा गाउँ, सहर, नगर र वडास्तरमा सञ्चालन भएका बाल सञ्जाल, किशोरी समूहहरूले बालविवाह रोकथामका लागि अभियान नै सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘यस प्रकारका अभियानले मागी बालविवाहको संख्यामा कमी आएको छ, तर, प्रेम बालविवाह न्यूनीकरण गर्न केही चुनौती देखिएको छ ।’ पछिल्लो समयमा सामाजिक सञ्जालका कारण पनि समाजमा बालविवाहका घटना घटिरहेका पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवारले बताइन् । तर यसबारे उजुरी भने नआउने गरेको उनले बताइन् । बालविवाह न्यूनीकरणका लागि वडास्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांकमा भने बालविवाहका घटना दर्ता हुने गरेका छैनन् । कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको तथ्यांकअनुसार ०७७/७८ मा २ वटा मात्र बालविवाहसम्बन्धी घटना दर्ता भएका थिए । त्यसयता बालविवाहसम्बन्धी कुनै पनि घटना दर्ता नभएका महिला सेलकी प्रहरी निरीक्षक उमा केसीले जानकारी दिइन् । ‘समाजमा बालविवाह भएको भनेर यदाकदा सुनिन्छ,’ केसीले भनिन्, ‘तर घटनाबारे कार्यालयमा दर्ता भएका छैनन् ।’ बालविवाह न्यूनीकरणका लागि प्रहरीले पनि विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको केसीले बताइन् ।

source: ekantipur.com 

प्रतिक्रिया