पञ्चेबाजा संरक्षणमा आमा समूह सक्रिय

पञ्चेबाजा संरक्षणमा आमा समूह सक्रिय

पछिल्लो समय गाउँघरमा समेत पञ्चेबाजा गुन्जिन छाडेपछि महिलाहरू संरक्षणमा जुटेका छन्। दाङ तुलसीपुर उपमहानगरपालिका– ४ स्थित जनचेतना  आमा समूहले पञ्चेबाजा ल्याएर आफैँ विवाह, व्रतबन्ध, पूजाआजामा जाने गरेका छन्। दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईसहित छिल्लर र मादलसमेत किनेर व्यावसायिक रूपमा पञ्चेबाजा संरक्षण अभियानमा लागेको समूहकी अध्यक्ष  कस्तुरा खड्काले बताइन्।

‘पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा पञ्चेबाजा बज्थे,’ उनले भनिन्, ‘तर, पछिल्लो समय पञ्चेबाजा बज्न छाडे, त्यसैले यसलाई संरक्षण गर्नका लागि सुरुवात गरेका हौँ,’ उनले भनिन्।

गत वर्ष भैलो खेलेर संकलन भएको एक लाख ४० हजार रकमबाट पञ्चेबाजा खरिद गरेको अध्यक्ष खड्काले बताइन्। सुरुवातमा आफूहरूलाई पञ्चेबाजा बजाउन नजानेको भन्दै सिक्न एक वर्ष लागेको उनले सुनाइन्। ‘कहिलेकाहीँ मात्रै बजाउँथ्यौँ। विवाह, व्रतबन्ध भएमा बोलाउनुहुन्थ्यो र जान्थ्यौँ,’ उनले भनिन्, ‘त्यति गर्दागर्दै सिक्न एक वर्ष लाग्यो।’

सिकिसकेपछि विवाह, व्रतबन्ध, पूजा, मृत्यु संस्कारजस्ता कुरामा बोलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ। यो वर्षको भैलोमा पनि पञ्चेबाजा प्रयोग गरेको उनले बताइन्। अहिलेसम्म विवाहमा जाँदा १० हजार, पूजामा पाँच हजार, मृत्यु संस्कारमा पाँच हजार रुपैयाँ दिने गरेको भए पनि आफैँले तोकेर भने लिने नगरेको उनले सुनाइन्। तर, केही समयपछि  ‘रेटलिस्ट’ बनाउने आमा समूहको तयारी छ। सो समूहमा २५ जना महिला सहभागी छन्।

फुर्सदअनुसार महिला समूहले गाउँमा परेका अन्य सामाजिक कार्य पनि गर्दै आएको छ। गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काले बताइन्। घरहरूमा पेन्ट लगाउने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि समूहले गर्दै आएको छ।

सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रूपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरूले यो कार्य गरेको उनको भनाइ छ।

Souce:https://www.nayapatrikadaily.com/news-details/133595/2024-01-30 

प्रतिक्रिया