दलित बुहारी भित्र्याएको भन्दै पुरोहितले गराएनन् श्राद्ध

अन्तरजातीय बिहे गरेपछि आफूलाई समाजको फरक व्यवहार

काभ्रे — भम्लु गाउँपालिका–२ सिमलथलीका धर्मध्वज भण्डारीलाई बिहेपछि गाउँलेले हेर्ने नजर बदलिएको अनुभूति छ । २०७९ असारमा देवकी विकसँग अन्तरजातीय बिहे गरेपछि उनले मात्रै होइन, उनको परिवारले नै फरक व्यवहार भोगिरहेको छ । पछिल्लो एउटा घटनाले भने उनीहरूलाई विभेदको गहिरो अनुभूति गराइदियो ।

गएको ११ माघको कुरा हो । धर्मध्वज र देवकी बिहानैदेखि बाबुको श्राद्धको तयारीमा थिए । बिहानै घरको चोखोनितोको सारा काम सकेर उनीहरू पुरोहित माधवराज न्यौपानेको पर्खाइमा थिए ।

देवकीले भनिन्, ‘कुर्दा कुर्दै दिन बित्यो । तर गुरु आउनुभएन ।’ पुस्तौंदेखि घरको सारा धार्मिक कर्ममा आउने पुरोहित अन्तरजातीय विवाहकै कारण नआएको बुझाइ भण्डारी परिवारको छ । साँझसम्मै पुरोहित नआएपछि उनीहरूले चोखोनितो गरेर राती ९ बजे खाना खाए ।

देवकीले श्राद्धको विषयमा माघ ७ गते नै पुरोहितसँग कुरा पक्का गरेको बताइन् । देवकीका देवर सुरेन्द्रले भने यसबारेमा आफ्नो पुरोहितसँग कुरा भएको सुनाए । ‘काकाको घरमा अथवा मन्दिरमा श्राद्ध गर्ने भए आउँछु तर त्यस घरमा श्राद्ध गर्न आउँदिनँ भन्नुभएको थियो,’ उनले भने, ‘कुनै पनि हालतमा घरमा आएर श्राद्ध गर्दिनँ भन्नुभयो तर घरमा नआउनुको कारण भने खुलाउनु भएन ।’

पहिलो श्राद्धका बेला भने पुरोहित भण्डारी घरमा आएका थिए । किनकि, त्यतिबेला धर्मध्वज र देवकी काम विशेषले काठमाडौं गएका थिए । सुरेन्द्रले एक्लै सबै कर्म पूरा गरेका थिए । यो घटनापछि धर्मध्वजको परिवारले छुवाछूतकै कारण पुरोहित नआएको निष्कर्ष निकालेको छ ।

‘जातीय विभेदबारेमा उहाँले मौखिक रूपमा केही नभने पनि व्यवहारमा भने प्रस्ट्याउनु भएको थियो,’ देवकीले भनिन्, ‘श्राद्ध गर्न नआउनुको कुनै कारण भने खुलाउनुभएको छैन् । वर्षौंदेखि कार्य गर्दै आएको पुरोहित हाम्रो विवाहपछि आउन आनाकानी गर्नुको कारण के हो ?’

पुरोहित न्यौपानेले भने उक्त दिन आफू उपचारका लागि जिल्लाबाहिर गएको दाबी गरे । उनले भक्तपुरको लोकन्थली पुगेर मेडिकलमा स्वास्थ्य परीक्षण गरेको कुरा बताए । ‘केही समययता बिरामी छु, उपचार गराउनका लागि त्यो दिन काठमाडौं गएको थिएँ,’ उनले भने, ‘श्राद्ध गर्न जान भ्याउँदिनँ भन्नेबारेमा उहाँहरूलाई जानकारी पनि गराएको थिएँ ।’

स्थानीय बाल उन्नति आधारभूत विद्यालयकी प्रधानाध्यापक समेत रहेकी देवकीले बिहेपछिका वर्षमा आफ्नो परिवारलाई समाजले अलग्याइरहेको बताइन् । भनिन्, ‘हाम्रो परिवारलाई सामाजिक तथा धार्मिक कार्यहरूमा अलग्याउने काम भइरहेको छ ।’ जातकै आधारमा हुने विभेदको स्वरूप गाउँमा जीवितै रहेको अनुभव देवकीले सुनाइन् । ‘विद्यालयमा बालबालिकालाई जातका आधारमा विभेद गर्नु हुँदैन भनेर सिकाउने गर्छु,’ उनले भनिन्, ‘तर, आफैंले समाजमा जातीय विभेद भोगिरहेकी छु ।

धर्मध्वजले बिहेअघि आफ्नो परिवारलाई गाउँका सबै शुभ–अशुभ कार्यमा बोलाउने गरे पनि पछिल्ला वर्षमा अलग्याउन थालिएको बताए । भने, ‘हाम्रो विवाहपश्चात् हामीलाई निम्तो नै हुँदैन, जहाँ निम्तो हुन्छ, त्यहाँ पनि राम्रो व्यवहार गरिंदैन, मान्छेको व्यवहार हुँदैन, परै राखिन्छ, हामी पुगेपछि निमन्त्रणा गर्नेहरू टाढा भइदिने र राम्रोसँग बोल्ने पनि गर्दैनन् ।’

उनले छरछिमेकीहरूबाट छोइछिटोको व्यवहार पनि भइरहेको बताए । आमा गंगामायाले छोराले अन्तरजातीय बिहे गरेपछि आफूलाई समाजले फरक व्यवहार गरिरहेको बताइन् । भनिन्, ‘म हिंडेको बाटो नै जुठो हुन्छ भनेजस्तो गर्छन् । बाटोमा हिंड्दा पनि फरक व्यवहार गर्छन् ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार माघ १४ मा देवकीको परिवारले पुरोहित न्यौपानेविरुद्ध प्रहरी चौकी चौबासमा उजुरी दिएको छ । प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले उक्त उजुरी चौकीले जिल्ला प्रहरी कार्यालयमा पठाएको बताए । उनले यस विषयमा सोधपुछ गर्न माघ १६ गते दुवै पक्षलाई प्रहरी कार्यालयमा बोलाए पनि एक पक्ष नआउने भएपछि फेरि १९ गते दुवै पक्षलाई बोलाइएको बताए ।

Source: ekantipur.com 

प्रतिक्रिया