जातकै कारणले विभेद जताततै भोगिरहेकै छन् । विभेद भोग्नेहरूका अनुसार विदेशमा झन उजुरि गर्ने ठाँउ नै छैन ।
राजु रसाली / दक्षिण कोरिया
वि.स. २०८० साल साउनको पहिलो हप्ता अलि बढी पानी पर्यो । पानीका कारण कोरियामा पनि केहि धनजनको क्षति भयो । पानी र हिउँ परेपनि केरियामा यात्रा गर्न सजिलो नै छ । विहान पख ट्रेनको यात्रा गर्दै थिएं । नजिकै अएर 'तपाइ नेपाली हो दाई?' भन्ने आवाज आयो । "हो, भाइ पनि नेपाली हो, कहाँ हो घर, नेपालमा ? कोरिया आएको कति भयो ?" मैले सोधे । उनको जवाफ अलि मधुरो थियो ।
भाइको नाम के हो ? भिम (नाम परिवर्तन) । दाइको नि ? म राजु रसाली । ए हो र ! म पनि भीम विश्वकर्मा । भाइको आवाज अलि ठूलो स्वरमा आयो ।
भीम मात्र भनेपछि मैले बुझिसकेको थिएँ । उनी पक्कै पनि दलित समुदायका हुन भनेर ।
कोरियामा कतिपयले आफ्नो थर लुकाएको पनि मैले सुनेको छु । भाइ किन भीम विश्वकर्मा नभनेको ? मैले प्रश्न गरे । दाइ जातकै कारण कोरियामा आफ्नै साथीभाइहरूबाट भेदभाव भोगें । त्यसैले आजभोली थर भन्नै मन लाग्दैन । भाइको कुरा सुनेर, म अलि भावुक भएं ।
देश त गरिबीको कारणले छोडे तर जातले नछोडेका यी युवाहरूका कथा, व्यथा र पिडा कस्ले सुन्ने ? मेरो मनमा धेरै कुराहरू उठे । अलि पढेका विदेश देखेका र बुझेकाहरूबाट गरिने विभेदहरूका बारेमा कस्ले बोल्ने ?
वैदेशिक रोजगारी, अध्ययन र व्यावसायिक रूपमा धेरै नेपालीहरू हाल दक्षिण कोरियामा बस्छन् । नेपालीहरूको सङ्ख्या वृद्धिसँगै विभिन्न किसिमका सामाजिक र मानसिक समस्याहरू बढ्दै छन् । कोरिया आउने सबै नेपालीहरू नै हुन् तर नेपाली साथीभाईहरूबाट नै जातीय र लैङ्गिक किसिमका विभेदहरू बढ्दो छ । जातीय र लैङ्गिक घटनाहरू बाहिर त्यति नआए पनि भित्रभित्र प्रशस्तै घटेका छन् । जातीय विभेद भोग्नेहरू प्रत्यक्ष, अप्रत्यक्ष रूपमा धेरै छन् ।
म आफै पनि केहि समयदेखि कोरियामा अध्ययन गर्दैछु र मैले पनि प्रत्यक्ष रूपमा जात र समुदाय माथिका अपमानित शब्दहरूबाट विभेद भोगेको छु । जस्तै, काम गर्ने सिलसिला र साथीभाइको भेटघाटमा कस्तो कामी जस्तो, दमैले जस्तो कुरा गरेको, ए तपाईँ त त्यस्तो देखिनुहुन्न , मैले त तपाईलाई क्षेत्री, ब्राह्मण भनेको थिए । यस्ता शब्दहरू बुझेका र पढेलेखेकाहरूबाट आउने गर्दछ ।
हुनत नेपाल रहदा मैले जातिय विभेद विरुद्धका अभियानमा काम गरे । फलस्वरूप म र समुदाय माथि आएका अपमानीत शब्द र विभेदका बोली र भाषालाई मैलै सिधै प्रतिकार गरि तत्काल माफि मगाउने गराएको छु ।
अचम्म तब लाग्छ जबकी नेपालमा गाई, सुँगुर नखानेहरू कोरियामा सबै खाने गर्छन । जात, भाषा र भूगोल नमिल्नेसँग विवाह गर्छन तर नेपाली जोसँग सबै मिल्छ उनीहरुलाई जातीय भेदभाव गर्छन । कोरिया लगायत अन्य देशहरूमा थुप्रै दलित समुदायका युवा युवतीहरू रोजगारीका शिलशिलामा छन तर उनीहरूका आफ्नै खालका अनुभवहरू छन । प्राय: जातकै कारण विभेद भोग्नेहरू धेरै छन् ।
लामो समयदेखि कोरियामा अध्ययन गर्दै आएका ( नाम परिवर्तन ) विकास विक भन्छन्, "जात थाहा पाएपछि बिस्तारै साथीहरू टाडिँदै जाने, अप्रत्यक्ष रूपमा युनिभर्सिटीमा नेपाली विद्यार्थीहरूले विभेदकारी व्यवहार देखाउने जस्ता विभेदहरू भोगें । मलाई लाग्छ परदेशमा आएर पनि विभेद गर्नेहरू मान्छे नै होइनन् ।"
जातीय भेदभाव नेपाली समाजको निकै ठूलो सामाजिक समस्या हो । हाम्रो समाजमा जात कै कारण नवराज विकहरू मर्नुपर्ने अवस्था आज पनि यथावत छ । संविधानले कसैलाई जातको आधारमा विभेद गर्न नपाउने भनेपनि व्यवहारिक रूपमा त्यसो हुन सकेको छैन । नेपालीहरु संसारको जुन कुनामा पुगेपनि हाम्रो समाजको यो कुप्रथा त्यो कुनामा पनि बोकेर गएका छन् । नेपालीहरूमा जहाँ पुगे पनि विभेदको मानसिकता यथावत छ ।
विगत ६ वर्षदेखि रोजगारीको सिलसिलामा कोरिया रहेका रमेश बिक ( नाम परिवर्तन ) भन्छन् "आएकै दिन आफ्नै साथीभाइहरूबाट विभेद भोगें, खाना पकाउने बेलामा सबैले छुट्टाछुट्टै बनाउने र छुट्टै खाने अवस्था आयो ।" उनि भन्छन, "सायद म विक भन्दा अरू थर भएको यस्ते हुने थिएन ।"
"कामसंगै गर्ने तर कम्पनी कै खाना खाने समयमा म भन्दा छुट्टै बस्ने, घरमा गइसकेपछि पनि मैले खाना खाएपछि खाना बनाउने, विदाका दिनहरूमा सकेसम्म टाढा नै रहने अनुभवहरू मैले भोगेको छु । आजभोलि म पनि खासै वास्ता गर्दिन ।" विगत आठ वर्षदेखि कोरियामा रहेका (नाम परिवर्तन) भरत नेपालीले भने ।
कोरियामा जातिय विभेद विरुद्धका केहि संगठनहरू पनि छन । विश्वकर्मा समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष भीम बराइली भन्छन, "भेट हुँदा खासै जातका कुरा नगर्ने तर पछाडि जातका कुरा काट्ने, थर थाहा नपाउदा सम्म खुलेर कुरा गर्ने, थर थाहा पाएपछि अलि पछाडी हट्ने अर्थात् अप्रत्यक्ष रूपमा विभेद गर्नेहरू कोरियामा धेरै छन । मैले पनि यस खालका अनुभवहरू धेरै भोगेको छु ।"
यसरी दलित समुदायका व्यतिहरू माथि कामका शिलशिलामा, साथी भाइहरूका विचका भेटघाट र खानपिन पार्टीहरूमा त्यसै व्रतबन्ध, पूजा र विवाहहरूमा भेदभाव हुने गरेको पाइन्छ । दलित समुदायका व्यक्तिहरूले कोरिया लगाएत अमेरिका, युरोप र अन्य मुलुकहरूमा पनि जातका आधारमा विभेद भोगेका अनुभवहरू धेरै छन् ।
वि.स.२०७८, पुस १७ गते सेतोपाटीमा प्रकाशित सविता विश्वकर्माको 'सबै कुरा मिल्छ जातले गर्दा कोठै मिल्दैन अमेरिकामा' शिर्षकको लेखमा अधिकारकर्मी पुन्यवती रम्तेलका अनुभवहरू छापिएका छन । उनी थप्छिन्, 'सात समुद्र काटेर विश्वकै शक्तिशाली देश अमेरिका आइपुग्दा पनि कथित उपल्लो जातका मान्छेले दलित समुदायलाई गर्ने हेलाले आफ्नै देशका मान्छे पनि आफ्नो जस्तो लाग्दैन । बरू मेक्सिकन, चाइनिज, भियतनामिजको घरमा बस्न पाए हुन्थ्यो । तर नेपालीको त घरैमा बस्नै नपरे हुन्थ्यो जस्तो लाग्छ ।
उनलाई जात थाहा पाएपछि बस्दै आएको कोठामा विभेद भएको थियो । ठाउँ र परिस्थिति फरक भए पनि जातीय विभेद र अनुभवहरू उस्तैउस्तै छन । परदेशमा सामाजिक रूपमा सक्रिय रहेकाहरूको अनुभवहरू पनि फरक छैनन् । जातीय विभेदको सञ्जाल निकै डरलाग्दो छ ।
राजनीतिक आन्दोलनसँगै जातीय आन्दोलन पनि भए तर उपलब्धि भने खासै हुन सकेन । राज्य र दलहरूमा सिमित जातिको मात्र वर्चस्व छ । राज्यका सबै निकायहरू समावेशी देखिँदैनन् । समाबेसी र सहभागिता कुरा गर्दा विदेशमा पनि उस्तै देखिन्छ ।
लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएकी समाजसेवी सिता रसाइलीका पनि जातीय विभेदका केही अनुभवहरू छन् । उनले माघ , ९ गते, वि.स.२०८० सालका दिन सामाजिक संचाल फेसबुक मार्फत जातीय विभेदका केही अनुभवहरू यस प्रकार लेखेकी छिन् ।
घर नजिकैको पार्कमा गएको थिए । एक जना नेपाली आवैइ आएर सङ्गै बस्नु भयो, अनि कुराकानी अगाडि बढदै थियो जस्तै घर कहाँ हो ?
"उहाँलाई मेरो थर नभैइ भएन , २,३ पटक सोधे पछि भने रसाइली हो तर मैले भन्न नभ्याउनै पाछैन कीर्तिपुरमा पनि छन है ? भन्नु भयो अनि म त ट्वा । अनि सोधे के, रहेछन र कीर्तिपुरमा आमा ? तर मलाई थाहा थियो, उहालाई रसाइली भनेको कामि हुन अर्थात बिश्वकर्मा हुन भन्ने थाहा रहेछ । अनि उहाँलाई पनि गाह्रो भयो जस्तो छ, कामि रहेछन् वा बिश्वकर्मा रहेछन, है भन्न त्यसैले झ्याप्प भनि हालिन बुढीले भिसा लागेछ । धन्न नत्र तिन वटा बच्चाहरूलाई पठाउन सक्थेनौ, राम्रो भएछ रे ?
यस्ता वार्तालाप नभएको हैन रसाइली भनेको के थरि हो नानि भनेसि बिश्वकर्मा हो भन्नु पर्थेयो यि आवैइ चाहि जानकार रहिछन । नेपाली समाज जातब्यस्थाको क्यान्सरले थिलाथिला परेको छ, उपचार असम्भव जस्तै छ । जात ब्यबस्था मुर्दाबाद ।
त्यस्तै क्यानडामा छुवाछुत , दलित भन्ने थाहा पाएपछि पण्डितले न्वारान गर्न मानेनन् भन्ने शीर्षक असोज २६, २०८० मा नेपाल टच भन्ने अनलाइ पत्रिकाले प्रकाशन गरेको समाचार अनुसार क्यानाडामा करिब २० वर्षदेखि बसोबास गर्दै आएका सुवास दुतराज दलितमाथि विभेदका धेरै घटनाहरू भइरहेको आफूले थाहा पाएको बताउँछन्। उनी आफैंले पनि विभेद भोग्नु परेको उल्लेख गर्दै ‘मुखमा राम राम, बगलीमा छुरा’ बोक्ने क्यानाडाको नेपाली समाजको व्यवहार देखेर निश्चित बाहेक सार्वजनिक कार्यक्रमहरूमा जानै छाडेको उनी बताउँछन् ।
‘दलित भनेर कसले कति बेला अपमान गर्ने हो भन्ने त्रासमा रहनु भन्दा बरू कतै नजाने गर्न थालेको धेरै भयो’ उनले भने ।
आर्थिक भ्वाइस वनलाइन मा २१ माघ २०८०का दिन प्रकाशित जसिन्द्र श्रीपालीद्वारा लिखित जापानमा थर थाहा पाएपछि जातीय विभेद: सामूहिक माफी पश्चात् गरियो मिलापत्र शीर्षकको लेख अनुसार नेपाली रेस्टुरेन्टमा पार्ट-टाईम जागीरको अवसर रहेको कुरा नेपालको बागलुङदेखि विद्यार्थी भिसामा जापान पुगेकी तस्मिता रसाइलीसम्म साथीको माध्यमबाट खबर प्राप्त भयो । पार्टटाईम जागिरको अपेक्षामा रहेकी तस्मिता साथीसँगै सोही नेपाली रेस्टुरेन्टमा काम गर्न मञ्जुर बनिन् । उनीसँगै तस्मिताको पनि संयोग भनौँ रेस्टुरेन्टमा काम गर्ने बेला लगाउनुपर्ने पोसाक (गाउन) तस्मितालाई पुगेन रेस्टुरेन्टका सञ्चालक ,नेपालमा चितवन घर भएका व्यवसायी विष्णु कँडेलले तस्मितालाई अपुग पोसाक किन्नसँगै लिएर गए , बजार जाँदै गर्दा बाटोमा व्यवसायी विष्णुले तस्मीताको नाम थर ठेगान सोध्न थाले , तस्मीताले पुरा परिचय दिन नपाउँदै विष्णुले रसाइली भनेको के थरी हो, नानी क्षेत्री, बाहुन भनेर प्रेम पूर्वक सोधे तस्मीताले आफू क्षेत्री बाहुन नभएर रसाइली भनेको विश्वकर्मा रहेको बताइन् ।
तस्मिताको जवाफले व्यवसायी विष्णुलाई एकछिन अकमक पार्यो अगाडि बढ्ने नबढ्ने सोच्न बाध्य पार्यो, त्यसको केही समयपछि नजिकैको कपी पसलमा गएर व्यवसायी विष्णुले तस्मितालाई नजानिँदो ढङ्गले प्रेम पूर्वक विभेद गरे, मलाई त केही फरक पर्दैन, मेरो श्रीमती पण्डितकी छोरी हुन अलि ख्याल गर्नुपर्ला आदी उदि सुनाएर टारे ।
तस्मितालाई बडो असहज लाग्यो, केही निकट आफन्तलाई उनले् आफ्नो भोगाई सुनाइन । अन्ततः घटना गैर आवासीय नेपाली सङ्घ जापानसम्मै पुग्यो । विषय गम्भीर बन्दै गएसँगै उक्त जातीय विभेदको घटनालाई लिएर जापानमा रहेका संस्थाहरूका प्रतिनिधि सहित ,रेस्टुरेन्ट सञ्चालक विष्णु कँडेलले आफूले गल्ती गरेको र आगामी दिनमा यस्तो अपराधजन्य गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आत्मालोचना सहित सामूहिक रूपमा तस्मीतासँग माफी मागेपछि घटनाको मेलमिलाप गरिएको थियो ।
साथै कँडेलले अब यस्ता जातीय भेदभाव तथा छुवाछूत जन्य व्यवहार नगर्ने र अरूलाई समेत नगर्न आग्रह गरेका छन् । जातीय भेदभाव मानव अधिकार र अन्तर्राष्ट्रिय कानुन विपरित छ ।
जातका अधारमा कसैले कहि पनि भेदभाव गर्न पाइदैन । भेदभाव गर्नेहरू नजानेर भन्दा पनि जानि बुझि नै गरेका हुन ।
लाखौं मानिस जातका आधारमा भेदभाव भोगी रहेकाहरूका लागि त राज्यले न्याय दिन सकेको छैन । अझ विदेशमा हुने भेदभावहरूका बारेमा कस्ले न्याय देला ? विभेद भोग्नेहरूको दुतावास, न्यायालय र प्रहरी प्रशासनमा पनि पहुँच छैन । त्यसकारण छुवाछुतका घटनाहरू दर्ता हुन नै सक्दैनन, यदि दर्ता भए पनि मुस्किलले न्याय पाएका छन । संविधानले भेदभाव र छुवाछुतलाइ मौलिक हकमा राखे पनि, जातिय भेदभाव सम्बन्धि कानुन प्रयाप्त छैन ।
हाल भएको जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ हो । ऐनको ७. सजायाः (क) दफा ४ को उपदफा (२), (३), (४), (५), (६) वा (७) बमोजीमको कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयााँदेखि दुई लाख रुपैयााँसम्म जरिबाना, (ख) दफा ४ को उपदफा (८), (९), (१०), (११), (१२) वा (१३) बमोजिमको कसूर गर्ने व्यक्तिलाई'दईु महिनादेखि दईु वर्षसम्म कैद र बीस हजार रुपैयााँ देखि एक लाख रुपैयााँसम्म जरिवाना गर्ने भनिएको छ । तर त्यो कानुनी कारबाही त्यति पर्याप्त होइन । विडम्बना दलित सवाल राज्यसत्ता र पार्टी सत्तामा कहिले पनि प्रमुख मुद्दा बन्न सकेन ।
जातकै कारणले विभेद भोग्नेहरू जताततै भोगिरहेकै छन् । विभेद भोग्नेहरूका अनुसार विदेशमा झन उजुरि गर्ने ठाँउ नै छैन ।
त्यसकारण विदेशमा हुने भेदभावका बारेमा पिडितले अफै सहने वा प्रतिकार गर्ने भन्दा अरू उपाए छैन । अर्को तर्फ जातकै आधारमा विभेद गर्नेहरू पनि प्रदेशमा जाने बुझेका मान्छेहरू नै हुन् तर तिनीहरूको घैँटोमा कहिले घाम लाग्ने हो, यसै भन्न सकिँदैन ।
तर यति चाहिं भन्नै पर्ने हुन्छ- ए देश छोड्नेहरू हो, गरिबीका कारण देश त छोड्यौ, जातका आधारमा विभेद गर्न पनि छोड ।
source: https://www.nepalesediaspora.com/
प्रतिक्रिया