नौमती बजाउन कस्सिएका जनजाति महिला

सनाई, ढोलक, ट्याम्को, दमाहा, झ्याली र नर्सिंगासहितको नौमती बाजाले शनिबार बालमन्दिर घन्कियो।

विभिन्न गीतसँगै सनाई, ढोलक, ट्याम्को, दमाहा, झ्याली र नर्सिंगासहितको नौमती बाजाले शनिबार बालमन्दिर घन्कियो। जनजाति महिलाहरूको नौमती बाजाले लोकतान्त्रिक आदवासी जनजाति महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा धेरैको ध्यान खिच्यो। महिलाहरूले कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरूलाई स्वागत गरे। पछिल्लो समय जिल्लाका कार्यक्रमहरूमा महिलाहरूले नै बाजा बजाउँदै आएका छन्।

जिल्लाको धुर्कोट गाउँपालिका– १ का बुहारीहरू अहिले नेपाली समाजमा हराउन थालेको नौमती बाजालाई अर्थोपार्जनको गतिलो आधार बनाउन कस्सिएका छन्। नयाँगाउँकी १९ वर्षीया वसन्ता थापा सनाई फुक्छिन्। अर्घाखाँची मालारानी– ६ बाट बिहे गरेर नयाँगाउँ आएको डेढ वर्ष भयो। उनका देउरानी र जेठानी पनि बाजा बजाउँछन्। थापाको जेठानी २५ वर्षीया दीपा थापा ढोलक बजाउँछिन्। गाउँमै नौमती बाजाको तालिम लिएका उनीहरू दुवै अहिले बाजा बजाउन हिँड्छन्।

नयाँगाउँकै २७ वर्षीया सरस्वता मगर पनि सनाई फुक्छिन्। जनजाति समूहमा ११ जना छन्। वसन्ता र सरस्वताबाहेक अरूले सनाई बजाउँदैनन्। सास पुर्‍याउन मुस्किल पर्ने भएकाले अरू बाजाभन्दा सनाई बजाउन सजिलो छैन। उनीहरूले आठ दिनको तालिममा तीनवटा भाका मात्र बजाउन सिके। तालिमपछि आफूहरूले अहिले एउटा भाका मात्र थप सिक्न सकेको सरस्वताले बताइन्। उनले सुरुमा सनाई फुक्न निकै अप्ठ्यारो भए पनि बिस्तारै सजिलो हुने अनुभव सुनाइन्।

जनजाति नौमती समूहका ११ जना नै बुहारी हुन्। बुहारीलाई घरमा कामको चटारो पनि उत्तिकै छ। जसका कारण फुर्सद निकाल्न मुस्किल छ। बाजा बजाउन कहिले काहीँ गाउँ नै छोडेर जानुपर्छ। तर, नयाँगाउँका महिला आफूहरूले घरव्यवहार मिलाएर समय निकालिरहेका छन्।

दमाहावादक ३० वर्षीया कमला गमालका दुई छोरी र सासु ससुरा घरमा छन्। श्रीमान् रोजगारीको सिलसिलामा परदेश छन्। गमाल समय निकालेर दमाहा बजाउन साथीहरूसँग समूहमा हिँड्छिन्। उनी र ३० वर्षीया कमला कुँवर मगरसँगै अरूले पनि दमाहा बजाउँछन्। समूहका ११ जनामध्ये पाँचजनाको श्रीमान् परदेश छन्।

अरूको तुलनामा बुहारीलाई घरको चटारो बढी हुने भएकाले परिवारको सहजीकरण आवश्यक रहेको ढोलकवादक २९ वर्षीया सुष्मा थापाले बताइन्। ३५ वर्षीया लक्ष्मी कुँवरसहित तीनजनाले झ्याली बजाउँछन्। समूहकै ३२ वर्षीया शोभा रानाले ट्याम्को बजाउँदै आएकी छिन्। सनाईपछिको बजाउन अप्ठ्यारो नर्सिंंगा र कर्नाल हो। समूहमा कर्नाल भने छैन। नर्सिंगा २४ वर्षीया गंगा कुँवर मगरले बजाउँदै आएकी छिन्।

तालिमको समय छोटो र पछि थप सिकाउने कोही नभएकाले नर्सिंगा सोचेजस्तो बजाउन नसकिएको उनले बताइन्। उनीहरू सबै जनजाति नौमती बाजा समूहमा आबद्ध छन्। गाउँपालिकाले गाउँमा नौमती बाजा लोप हुँदै गएपछि जनजातिलक्षित बजेटबाट वडा नं– १ नयाँगाउँ र वडा नं– ३ हाडहाडेका महिलालाई बाजा बजाउने तालिम र बाजा उपलब्ध गराएको कार्यपालिका सदस्य प्रेम मुखियाले जानकारी दिए।

पहाडी जिल्लामा बाजा परियार (दमाई) समुदायको मुख्य पेशाको रुपमा रहेको थियो। तर, बाजा बजाउने कला जाति र पुस्ताअनुसार हस्तान्तरण नहुँदा कैयौं ठाउँमा नौमती बाजा लोप भएका छन्। नयाँगाउँ र हाडहाडेमै बाजा बजाउने परियार समुदाय पेशाबाट बिस्थापित भएपछि आफूहरुले पेशाको अनुसरण गरेको जनजाति नौमती बाजा समूहकी सचिव दिपा थापाले बताइन्। अहिले आफूहरु सिक्दै रहेकाले १५ देखि १७ हजारसम्म पारिश्रमिक लिँदै आएको थापा बताउँछिन्। गाउँपालिकाबाट पारिश्रमिक निर्धारण, थप तालिम र कर्नालको आवश्यकता पूरा हुने समूहको आशा छ। बाजा बजाएर आउने केही रकम समूहको कोषमा र केही बजाउनेहरुले पाउने गरेका छन्।

नयाँगाउँमा अहिले परियार समुदायका बाजा बजाउनेहरू विस्थापित हुँदै छन्। बाजा बजाउने समूहमध्ये एकका ट्याम्कोवादक यमबहादुर परियारका अनुसार गाउँमै १२-१५ जना बाजा बजाउने परियार समुदाय थिए। नयाँ पुस्ताले सिक्न नमान्दा आफूहरू बजाउन हिँड्न छोडेको उनको भनाइ छ। आफ्नो समुदायको कला मर्न नदिन जनजाति महिलाले देखाएको सक्रियता निकै अनुकरणीय रहेको परियारले बताए। 

source: nayapatrikadaily.com 

प्रतिक्रिया