‘क्यालिफोर्नियाका नेपालीलाई पासपोर्ट सेवा लिन दूतावास जानभन्दा नेपाल जान सहज र सस्तो छ’

अवैतनिक महावाणिज्यदूत ढकालसँग खसोखासको स्तम्भ न्युयोर्क फल्चाका लागि खसोखास सम्पादक दीपक परियारका १० प्रश्न ।

दीपक परियार

ऋषि पुन्नाखर ढकाल क्यालिफोर्नियाका लागि नेपाल सरकारका तर्फबाट अवैतनिक महावाणिज्यदूत हुनुहुन्छ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिसम्म त्यसैलाई निरन्तरता दिइएको छ । महावाणिज्यदूत ढकाल तयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयात गर्ने एक अग्रणी व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ । अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र मानेर आफ्नो व्यापार प्रवर्धनका साथै नेपाल र नेपालीपनको जगेर्ना गर्नमा ढकाल सकृय रहदै आउनुभएको छ । सन् २००५ मा अमेरिका आउनु भएका ढकालको राइजिङ इन्टरनेशनल इन्क सन् २०१३ सम्म नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भई सकेको थियो । सन् २०१४ मा नेपाल सरकारकातर्फबाट महत्वपूर्ण व्यवसायिक व्यक्तित्वका लागि दिइने सम्मान तत्कालीन राष्ट्रपति रामवरण यादवबाट ढकाललाई प्रदान गरिएको थियो । उहाँले थाइल्याण्ड, चीन र भारतबाट समेत सामानहरू आयात गर्नुहुन्छ भने रेष्टुरेण्ट, रियलस्टेट जस्ता व्यवसायमा समेत लगानी गर्नुभएको छ । ढकाल परिवारको क्यालिफोर्नियामा केही व्यापारिक प्रपर्टीहरुमा लगानी छ । उहाँको कमाइको केही हिस्सा नेपालमा पनि लगानी भएको छ । अवैतनिक महावाणिज्यदूत ढकालसँग खसोखासको स्तम्भ न्युयोर्क फल्चाका लागि खसोखास सम्पादक दीपक परियारका १० प्रश्न ।

अवैतनिक महावाणिज्यदूतको रुपमा तपाइँले कस्तो भूमिका खेलिरहनुभएको छ ?

म सन् २०१३ देखि यो भूमिकामा रहँदै आएको छु । नेपाल र नेपालीको सहयोगीको रुपमा दुबै देशबीचको आर्थिक, सामाजिक, व्यापार तथा प्रबद्र्धनको कुराहरुलाई लिएर हामी समाजका सबै खाले व्यक्तिहरुसँग मिलेर नेपाल प्रबद्र्धन सम्बन्धि काममा लागिरहेका छौं । नेपालको संस्कार र संस्कृति, व्यापार, पर्यटन लगायतका विषयहरुको प्रवद्र्धनका लागि काम गरिरहेका छौं ।

अमेरिकाको पश्चिमी क्षेत्रमा नेपाली दूतावास तथा महावाणिज्यदूताबासहरु नभएको अवस्थामा त्यहाँका नेपालीहरुले पासपोर्ट लगायतका कन्सुलर सेवा लिनमा भोगिरहेका समस्याहरु कस्ता छन् ?

यो एकदमै जटिल विषय छ । अमेरिकाको पश्चिमी क्षेत्रमा बस्ने नेपालीहरुको लागि ठूलो आर्थिक भार पनि भइरहेको छ । हामीले प्रारम्भिक सर्वेक्षण अनुसार करिब एक हजार जति पासपोर्ट नविकरणका आवेदनहरु भएको अनुमान गरेका छौं । प्रारम्भिक सर्भे गरिएको र त्यहाँ पनि इन्ट्री नभएका थुप्रै फोन कलहरु हामीले रिसिभ गरिरहेका छौं । अर्थात् एकहजार जति नेपालीहरु पासपोर्ट नविकरण पर्खिएर बसेका छन् । ती कुराहरुलाई हामीले समाधान गर्न सकिरहेको अवस्था छैन । महामहिम राजदूतज्यू र दूतावासमा कुरा गर्दा हामीले विगतमा गर्दै आएको अस्थायी कन्सुलर सेवाको कार्यक्रमलाई निरन्तरता दिने भन्ने बचनबद्धता प्राप्त भएको छ । तर सीमित स्रोत र साधनको अभावमा यो कार्यक्रमलाई अगाडी ल्याउन सकिरहेको अवस्था छैन । यसको लागि नेपाली दूतावास (डिसी)ले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको अवस्था छ । परराष्ट्र मन्त्रालयले कुनै निर्देशन दिएमा र यसको स्रोतहरु उपलब्ध भएमा यी कार्यक्रमहरु चाडैँ नै गर्ने अवस्थामा छौं । सेबाग्राहीहरु कति स्वास्थ्यको कारणले, कति वृद्ध, कति बालबालिका र अशक्त अवस्थाका मानिसहरु भएकाले उनीहरुले यात्रा गर्न सक्ने अवस्था पनि छैन । हरेक दिन दश पन्ध्र फोनकलहरु पासपोर्ट नविकरणबारे नै आउने गरेका छन् । कोही पार्सपोर्ट हराएको वा अन्य कारणले पासपोर्ट साथमा नभएका नेपालीहरुको अवस्था गाह्रै देखिन्छ यतिबेला । पहिले पश्चिमी क्षेत्रमा अस्थायी कन्सुलर सेवा प्रदान गर्दा राम्रो हिसाबले सेवाग्राहीहरुको उपस्थिति रहेको थियो । अहिले पासपोर्ट नविकरण गर्न चाहेका एकहजारको अनुमान गर्दा पनि १ दशमलब २ मिलियन डलर बराबरको आर्थिक भार क्यालिफोर्नियाबासी नेपालीहरुमा पर्ने देखिन्छ । यसको लागि हामीले सेवा दिन सकिरहेको अवस्था छैन ।

त्यो क्षेत्रका नेपालीहरुलाई सेवा दिन के के पहल गर्नुभएको छ ?

हाम्रो क्षेत्रका जतिपनि सेवाग्राहीहरु हुनुहुन्छ, उहाँहरुलाई अहिलेको अवस्थामा सेवा दिन नसकेको, कन्सुलर घुम्ती सेवा उपलब्ध नभएको र उहाँहरुलाई आपत भएको अवस्थामा उहाँहरु वासिंटन डिसीमा नै ट्राभल गर्नुपर्ने भएकाले त्यसको लागि उहाँहरुँसँग समन्वय गरेर फर्म भर्न सिकाएर, डकुमेन्टहरु तयार गर्न लगाएर सेवा दिने गरेका छौं । कतिपय अवस्थामा पासपोर्टको म्याद सकिन ६ महिनाभन्दा बढी रहेका ग्रिन कार्ड होल्डरहरु वासिंटन डिसी जानभन्दा नेपाल जान नै सस्तो र सहज पर्ने स्थीति समेत छ भने म्याद सकिएकाहरु पनि ट्राभल डकुमेन्टमा नै नेपाल गएर पासपोर्ट बनाउने गरेका छन् । सेवाग्राहीहरुलाई पासपोर्ट नविकरणका बारेमा जानकारी दिने तथा सेवाग्राहीहरु कसरी नेपाल जान वा डिसी जान सक्नुहुन्छ भन्नेबारे व्यक्तिगत रुपमा जानकारी गराउदै आएका छौं ।

पासपोर्ट नविकरणका अप्वाइन्टमेन्ट नपाउने समस्या एकातिर छ भने अर्कोतर्फ क्यालिफोर्निया लगायतका पश्चिमी क्षेत्रका नेपालीहरु वासिंटन डिसी जानमा समस्या भएको अवस्थामा परराष्ट्र मन्त्रालय वा दूतावासले कस्तो कदम चाल्नुपर्ला ?

हामीले परराष्ट्र मन्त्रालय र राजनीतिक व्यक्तित्वलाई पनि यो अवस्थाको जानकारी गराउने गरिएको छ । डिसी भन्दा ६ घण्टाको फ्लाइटमा पश्चिमी क्षेत्रका बस्ने नेपालीहरुलाई वासिंटन डिसी ट्राभल गर्नुपर्ने, त्यहाँ गएर एकरात बस्नुपर्ने र भोली पल्ट फर्किनुपर्ने भएकाले यो खर्चको हिसाबले एकदमै महंगो पनि देखिएको छ । राजदूतले यो विषयमा स्रोतहरुको अभाव भएको जानकारी गराउनुभएको छ । स्रोतहरु र साधनहरुको अभाव नै मुख्य विषय रहेको छ । थप कर्मचारी भएमा घुम्ती कन्सुलर सेवा उपलब्ध गराउन सकिन्छ । अहिलेको अवस्थामा नेपाली दूतावासमा पर्याप्त कर्मचारीहरु नहुनु, आर्थिक स्रोत पनि नहुनु जस्ता कारणले यी सेवाहरु उपलब्ध गराउन सकिएको छैन । यो क्यालिफोर्नियाको मात्र समस्या होइन्, अमेरिकामा नेपालीहरुको घनाबस्ती भएको ठूला सहरहरु टेक्सास, क्यालिफोर्निया, शिकागो, कोलोराडो, नर्थ क्यारोलिना लगायतका सहरहरुमा यो ठूलो समस्या देखिरहेको छ । जहाँ नेपालीहरुको जनसंख्या धेरै मात्रा छ, त्यहाँ सेवा दिनुपर्ने आवश्यकता छ । सेवा दिनका लागि आर्थिक श्रोत साधनको कमी भएको कारणले हामीले सेवा दिन सकिरहेको अवस्था छैन । यसबारे परराष्ट्र मन्त्रालय पनि जानकार छ । राजदूतज्यूले यसबारेमा पटकपटक मन्त्रालयमा यी कुराहरु पठाउनुभएको बताउनुभएको छ । मन्त्रालयबाट केही जवाफ आएर अगाडी बढेमा दूतावास परिवारले घुम्ती कन्सुलर सेवालाई निरन्तरता दिने भन्ने सकारात्मक सन्देश दिएको छ ।

अवैतनिक महावाणिज्यदूतावासहरुलाई सरकारले कन्सुलर सेवाको सन्दर्भमा थप भूमिका दिएको खण्डमा तपाइँहरु लिन तयार हुनुहुन्छ ?

हामी लामो समयदेखि नेपाल र नेपालीको हित तथा दुवैदेश वीचको संस्कृति, पर्यटन, व्यापार प्रबद्र्धन जस्ता कुराहरुलाई एउटा मध्यस्थकर्ताको रुपमा काम गर्दै आइरहेका छौं । चाहे त्यो अमेरिकादेखि नेपाल होस्, चाहे त्यो नेपालदेखि अमेरिका होस् । यो भूमीकामा हामी रहँदा यस्तो किसिमको सहयोग गर्नको लागि हामी तयार छौं । हामी कुनै पनि भूमिकाहरु निभाउनको लागि तयार छौं, मात्र सरकारले तिमिहरुले यो यो काम गर्नुपर्छ, भनेर हामीलाई काम दिनुपर्यो । हामीलाई काम, अधिकार, क्षेत्राधिकार दिइएमा हामी उक्त भूमिका पूरा तयार छौं ।

नेपालको पर्यटन र व्यापार प्रबद्र्धनका क्षेत्रमा यहाँले खेल्नुभएको भूमीका कस्तो छ ?

नेपाली महावाणिज्यदूतको हैसियतमा यही नै काम गरिरहेका छौं । नेपाली उत्पादनहरुलाई अमेरिकाको बजारमा कसरी बिक्रि गर्ने गर्ने, नेपाली संस्कार र संस्कृतिलाई कसरी प्रबद्र्धन गर्ने, पर्यटनलाई कसरी प्रबद्र्धन गर्ने भन्ने कुराहरु यसमा पर्दछन् । हामीले नेपालको व्यापार प्रबद्र्धनको लागि नेपालमा रहेका निजी क्षेत्रको उद्योगी साथीहरु र सरकारी क्षेत्रका सम्बन्धित निकायहरुलाई अमेरिकाका विभिन्न स्थानहरुमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलाहरुमा भाग लिनको लागि जानकारी पठाउने गरेका छौं । अमेरिकाको कुन कुन सहरमा कस्तो किसिमका ब्यापार मेलाहरु लागेका छन्, कस्तो किसिमको सामानहरु बेच्न सकिन्छ भन्ने सन्दर्भमा हामीले जानकारी दिने गरेका छौं । पटकपटक प्रतिनिधित्वसहित उपस्थिति पनि भएको छ । ट्रेड प्रमोशन सेन्टर लगायत वाणिज्य मन्त्रालय, नेपाल ग्रार्मेन्ट एशोसिएसन, पश्मिना लगायतका एशोसिएसनका प्रतिनिधि साथीहरु, उद्योग व्यापारीहरु आएर ट्रेड शोहरु गर्नुभएको छ । हामीले स्थानीय रुपमा पनि नेपालबाट अमेरिकामा आएर अमेरिकामा नै बसेर व्यापार गर्ने साथीहरुलाई पनि यो विषयमा समन्वय गर्ने, उहाँहरुलाई ट्रेड शोमा जानका लागि जानकारी गराउने गरेका छौं । म स्वयं आफू पनि त्यस्तो किमिसको ट्रेड शोहरुमा नेपालको प्रतिनिधित्व गर्दै जाने गरेको छु । नेपालबाट प्रतिनिधित्व गरेर आउने साथीहरुसँगसहकार्य गर्ने, उहाँहरुलाई जानकारी गराउने लगायतका कामहरु हामीले गर्दै आएका छौं ।

नेपालबाट चोरिएका मूर्ति फर्काउनको लागि यहाँले विगतमा पनि उल्लेखनीय भूमिका खेल्नुभएको छ । आगामी दिनमा यस्ता किसिमका सम्पदाहरुलाई नेपालमै फर्काउनको लागि यहाँको भूमीका कस्तो हुनेछ ?

हामी २०२३ अप्रिलमा बुद्ध प्रतिमा नेपालमा फिर्ता गर्न सफल भएका थियौं । हलिउडका डाइरेक्टर माइकल फिलिपको घरबाट मुर्ति लिएर आफ्नो व्यक्तिगत पहलमा मैले नेपाल पठाउने मौका पाएको थिए । त्यस्तै अन्य मूर्तीहरु पनि नेपाल पठाइएको छ । अग्रस्त २०२३ मा हवाइबाट अमेरिकी विदेशमन्त्रालयले दूतावासलाई उपलब्ध भएका ४० वटा काठका कलाकृतिहरु नेपाल फिर्ता गर्न कतार एयरको सहयोगबाट त्यो भूमीका मैले निभाएको थिएँ । अहिले पनि व्यक्तिगत रुपमा विभिन्न संग्रालयहरुमा गएर त्यहाँबाट नेपालबाट चोरिएका सामानहरु भए नभएको जानकारी राख्ने, कुनै सामान भएमा त्यसलाई प्रमाणित गर्ने कुराहरुमा भूमीका खेल्ने, त्यस्तो भएको अवस्थामा ती एजेन्सीहरुको सहयोगमा अबको दिनहरुमा पनि मुर्तिहरु भेटिएमा नेपाल पठाउन सक्नेछौं र त्यसको लागि हामी सक्रिय रुपमा उक्त भूमिकामा रहिरहेका छौं ।

तपाइँ आफै पनि नेपाली उत्पादनहरुलाई अमेरिकी बजारमा आयात गर्नेहरुमा उच्च स्थानमा रहदै आउनुभएको छ । अमेरिकासँग नेपालको व्यापार नाफा पनि उल्लेख्य रुपमा रहेको छ । यसलाई अझ बढाउन के गर्नुपर्छ ? कस्ता सामानहरु अमेरिका ल्याउनमा केन्द्रीत गर्नुपर्छ होला ?

नेपाल र अमेरिकाको दौत्य सम्बन्ध ७५ औं वर्ष पार गरिसकेको छ । यति लामो कुटनीतिक सम्बन्ध रहेको र नेपाललाई माया गर्ने अमेरिकामा बिशाल बजार रहेको छ । यसमा हामीले नेपालमा उत्पादित बस्तुहरुलाई अमेरिकाको बजारमा बिक्रि गर्दै आएको धेरै लामो इतिहास भइसक्यो । सन् २०१५ को भूकम्पपछि अमेरिकी सरकारले ७७ वटा नेपालका उत्पादनमा ट्याक्स छुट दिएकोमा अहिले हामीले त्यसको प्रोमोशन गर्दै त्यसको व्यापार बढाउने कोशिस गर्दै आइरहेका छौं । तर पनि त्यो ७७ वटा सामानले त्यति ठूलो बजार लिन पाएको छैन । त्यसमा नेपालको सरकारी क्षेत्रबाट र निजी क्षेत्रबाट पनि त्यति ठूलो पहल गरिएको देखिएको छैन । किनभने त्यसको तथ्यांक हेर्दा त्यति धेरै सन्तोषजनक छैन । जुन सुविधा नेपालले पायो, त्यो सुविधाबाट फाइदा लिन सकिएको छैन । थोरै मात्रामा सामानहरु आए, जुन हुन पर्ने थियो त्यसमा नभएकोमा हामीलाई पनि दुःख लागेको छ । यी उत्पादनहरुलाई अमेरिकी सरकारले दिएको सुविधो सन् २०२५ मा अन्त्य हुदैँछ । त्यो बीचमा पनि नविकरण गर्ने प्रयत्न हामीले गरिरहेका छौं ।

जिएसपीको सुविधा पनि  बन्द भएको छ । त्यस अन्तरगत कर छुट पाउने जुन सुविधाका उत्पादनहरु थिए, त्यो नविकरण नभएर अहिले अड्किरहेको अवस्था छ । त्यसलाई नविकरण गर्नको लागि नेपाली राजदूतावास लगायतका सम्बन्धित निकायहरुलाई जानकारी गराइराखिएको छ । त्यो नविकरण भएमा हस्तकलाका सामानमा तिर्नुभएको शुल्कहरु फिर्ता हुने सम्भावना हुन्छ । नेपाली उत्पादनको अमेरिकाको बजारमा जुन किसिमले प्रोमोशन हुनुपर्ने हो त्यो किसिमको प्रोमोशनहरु गरिएको छैन । नेपालमा भएको उत्पादनलाई अमेरिकी मार्केटमा सही तरिकाले परिचित गराएर त्यसलाई चेन मार्केटहरुमा छिराउनको लागि, उनीहरुलाई त्यो नेपाली प्रोडक्ट हो भनेर बेच्नको लागि हामीले लविष्टहरुलाई हायर हुन्छ । त्यसो गर्नै सकेमा उनीहरुले नेपाली उत्पादन बेच्ने, ठूलो ठूलो चेन स्टोरहरुमा नेपाली उत्पादनहरुलाई राख्न सक्ने अवस्था हुन्छ । नेपालबाट विशेष गरेर कार्पेट लगायतका उत्पादनहरु अमेरिकामा आउँछ । त्यस्तै कुकुरका लागि छुर्पी, सिसाका आइटमहरु, गहनाहरु, उनीका उत्पादनहरु, हस्तकलाका सामानहरु, अन्य कलाका सामानहरु, हर्बलका सामानहरु , चिया कफीका उत्पादनहरु अमेरिका ल्याउने गरिएको छ । ठूलो बजार भएकाले पनि अमेरिकासँग नेपालको ब्यापार नाफामा रहेको छ । अमेरिकाको बजारमा भएको सम्भावनालाई उपयोग गर्न सरकार सरकारबीच समन्वय गरेर लविष्टहरु हायर गर्ने, उत्पादनहरु बजारमा ल्याउने गर्न सकिन्छ । त्यसको लागि अमेरिकामा भएका अन्तर्राष्ट्रिय ब्यापार मेलाहरुमा नेपाल सरकारको आफ्नै बुथहरु राखेर नेपालको ब्यापार र पयर्टन प्रवद्र्धन गर्न सकिन्छ ।

नेपाल सरकार र निजी क्षेत्रले यसको लागि कस्तो भूमिका खेल्नुपर्छ ?

क्रेताहरुलाई नेपाल बोलाउने, बेला बेलामा ब्यापारी ब्यापारीबीच भेटघाट गराउने सहुलियतमा गुणस्तरीय समान उत्पादन गर्न प्रबद्र्धन गर्ने लगायतका कामहरु सरकारी स्तर र निजीक्षेत्रबाट हुनुपर्छ । ७७ वटा कर छुट गरेका उत्पादनमा गार्मेन्टको उत्वादन नपरेकाले गार्मेन्टमा बंगलादेश, चीन र भारत लगायतका देशसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ । नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउनको लागि नेपालमा भएका उद्योग धन्दाहरुले प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय उत्पादन गर्नुपर्छ । त्यसका लागि सरकारले नै निर्यातलाई विशेष प्राथमिकता दिएर निर्यात र कार्गोका गतिविधिहरुलाई सुविधा दिनुपर्छ । सस्तोमा उत्पादन गर्नका लागि सरकारी सुविधाहरु पनि हुनुपर्छ । सामानहरु ओसारपसार गर्दा यातायातमा लाग्ने लागत पनि उच्च रहेको छ । त्यसका लागि नेपाल सरकार र भारत सरकारको बीचमा पनि समन्वय आवश्यक छ ।

अमेरिकामा रहेका नेपालीहरु समुदायलाई समृद्धिको बाटोमा अगाडि बढ्न के सुझाव दिनुहुन्छ ?

हामी अमेरिकामा रहेका नेपालीहरु र नेपाली अमेरिकनहरुले नेपालकोे आर्थिक, सामाजिक, राजनीतिक विषयहरुलाई भन्दा अमेरिकाकै विषयमा ध्यान केन्द्रीत गर्नुपर्छ । चाहे त्यो शैक्षिक क्षेत्रको कुरा होस् वा स्थानीय सिटी र राज्यका कुराहरु होउन्, हामीले यहीकै विषयमा ध्यान केन्द्रीत गर्नुपर्छ । यही कुराले नै ठूलो अर्थ राख्छ । अमेरिकाको समाजसँग एकीकृत आफूले आफैलाई बढी सकृय बनाउँदै आर्थिक समृद्धिको बाटोहरुमा काम गर्नुपर्छ । जानेका साथीहरुले गर्दै आउनुभएको पनि छ, नजानेका तर इच्छुकहरुपनि त्यस्तो भूमिकामा सकृय रहनका लागि साथीहरुसँग नेटवर्कमा रहेर आफ्नो आर्थिक समृद्धिका लागि आफ्नो साहु आफै बनौं भन्ने मर्मका साथ अगाडि बढ्न म सबैलाई अनुरोध गर्छु ।

Source: https://www.khasokhas.com/

प्रतिक्रिया