दलित कृषक समूहलाई बीउ पूँजी

बीउ पूँजी

आर्थिक उपार्जनमा दलित महिलाहरुलाई सहभागी गराउँदै वित्तीय रुपमा सबल बनाउने उद्देश्यले दलित महिला संघ मकवानपुर (फेडो)ले  हेटौँडा उपमहानगरपालिकाभित्रका पाँच कृषक समूहलाई बीउ पूँजी वितरण गरेको छ।

उद्यम विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत शनिवार ५ कृषक समूहलाई प्रतिसमूह ४२ हजार रुपैयाँको बीउ पूँजी प्रदान गरिएको फेडो मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माले जानकारी दिइन्। उनले दलित महिलाहरुलाई समूहमा आवद्ध गराई विभिन्न पेशा तथा व्यवसायका लागि उक्त रकम खर्च गर्ने बताईन्।

पञ्चवर्षे योजनाअनुसार उक्त कार्यक्रम अघि बढाएको जानकारी दिँदै अध्यक्ष विश्वकर्माले हेटौँडा– ३ मा रहेको सफल दलित महिला समूह, हेटौंडा–६ मा रहेको उद्यमी दलित महिला समूह, हेटौंडा–९ को अनुग्रह दलित महिला समूह, हेटौँडा–११ को स्मारक दलित महिला समूह र हेटौँडा–१५ को चित्रेपानी दलित महिला समूहलाई उक्त बीउ पूँजी वितरण गरिएको बताइन्।

नेपालमा दलित महिला तथा किशोरीहरुको मानवअधिकार प्रवद्धर्न परियोजनाअन्तर्गत फाउण्डेशन फर जस्ट सोसाइटी (एफजेएस)को सहयोगका कार्यक्रम संचालन गरिएको अध्यक्ष विश्वकर्माको भनाइ छ।

उनले उक्त बीउ पूँजी समूहले सिफारिस गरेको सदस्यलाई कृषि, व्यवसाय, हस्तकला, घरेलु उद्योगलगायतका क्षेत्रमा लगानी गर्ने गरी उपलब्ध गराइने जानकारी दिइन्।

नयाँपत्रिकाबाट । 

प्रतिक्रिया