२०४० को दशकदेखि भाइ–भतिजालाई होटल लाइनमा जोड्दै आएँ, अहिले मेरो परिवारभित्रका मात्रै ७० जना बढी पुरुष विभिन्न देशमा सेफ छन् । -मनिकुमार शंकर
बाहुनडाँगी, झापा — मनिकुमार शंकर ३० को दशकको अन्त्यतिर ७ कक्षामा पढ्दै थिए, पाकशिक्षा भनेर पकाउने विधिबारे छुट्टै पाठ्यक्रम पढाइन्थ्यो । वर्षमा एक दिन वनभोजझैं विद्यार्थीले पकाएर शिक्षकलाई खुवाउने गरिन्थ्यो । त्यही बेला उनले सहपाठी र शिक्षकबाट विभेद भोग्नुपर्यो ।
‘मैले छोएको निहुँमा सहपाठीसँगै शिक्षकले खाइदिएनन्, सबै खेर फाल्नु परेको थियो,’ चार दशकअघिको तीतो अनुभव सुनाए, ‘त्यसै बेलादेखि दुनियाँलाई पकाएर ख्वाउने इख मनमा पलायो ।’
सामान्य भान्से हुँदै ‘कुक’ र प्रतिष्ठित ‘सेफ’को परिचय बनाएका उनले करिब तीन दशक अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित होटलको ‘किचेन’ मा बिताए । भारत, यूएई र जापान जस्ता देशका पाँचतारे होटलमा उनले ‘किचेन कमान्ड’ सम्हाले ।
२०२१ मा पाँचथरको पौवा सार्रापबाट झापाको बाहुनडाँगी बसाइँ सरेका थिए, मनिकुमारका पिता मनरूप शंकर । त्यतिबेला त्यहाँ घना जंगल थियो । फँडानी गरी बस्ती बसाए । औलोको प्रकोपसँग पौठेजोरी खेल्दै मनिकुमारसहितका ८ भाइ र एक बहिनी हुर्किए । ‘त्यस बेला हात्ती हैन, बाँदरको आतंकले हैरान पारेको थियो,’ मनिकुमार सम्झिन्छन्, ‘खेती गर्दा पनि मुस्किलले दुई/तीन महिना मात्र खान पुग्थ्यो ।’ ६ भाइ मुन्तिरका जन्तरे छोरा मनिकुमार स्कुल जाने परिवारकै पहिलो पुस्ता हुन् । उनी दिनभर दाउरा खोज्न जंगल जान्थे । शनिबार र मंगलबार मेची तरेर नक्सलबारी बजार पुगेर दाउरा बेच्थे । अनि दाउरा बेचेर आएको थोरै पैसाले घरखर्च चलाउँथे । पढाइ खर्च जोहो गर्थे । ‘जेनतेन १० कक्षाको परीक्षासम्म दिएँ,’ मनिकुमारले सुनाए, ‘परीक्षा सकिएकै दिन मुग्लान पसें ।’
२०३८ मा भारत छिर्दा उनको गोजीमा एउटा नोट थियो, ५० भारुको । सिलिगुडी रेल्वे स्टेसनमा रेल धेरै आउजाउ गर्थे– दिल्ली, मुम्बई, मद्रासदेखि कोलकातासम्मका । तर, उनलाई आफ्नो गन्तव्य थाहा थिएन । सबैभन्दा सस्तो भाडा कोलकाताको थियो । उनी कोलकाताको सियालदह एक्सप्रेस रेल चढे । घर छाडेर मुग्लान पस्नेमा पनि मनिकुमार परिवारको पहिलो व्यक्ति नै भए । कोलकाता पुगेर होटलमा भाँडा माझे । अढाई वर्षजति भाँडा माझेपछि पकाउने काममा उनले मौका पाए । ६ वर्ष कोलकाता बस्दा उनी स्वादिलो परिकार पकाउन अब्बल भइसकेका थिए ।
खन्तरे भाइ बुद्धिमानलाई गाउँबाट कोलकाता बोलाएर आफ्नो काम जिम्मा लगाए र आफू भने बैंगलुरुतिर हान्निए । बैंगलुरुको ताज होटलमा काम गर्न प्रस्ताव गरे । सुरुमा त उनलाई पत्याएनन् । जब उनले ‘मेरो काम हेर्नुस् न’ भनेपछि ट्रायलमा राखियो । ताजले उनको काम मन परायो । उनलाई स्थायी रूपमै राख्यो । त्यसपछि उनले बोलाए, काकाका जेठा छोरा ध्रुव शंकरलाई ।
मनीशंकरका भाइ ध्रुव ।
ध्रुवपछि उनकै माइला भाइ किरण र कान्छा भाइ खेमराज पनि बैंगलुरु आए । सबैले होटलमा कुकको काम सुरु गरे । ‘२०४० को दशकदेखि भाइ–भजितालाई होटल लाइनमा जोड्दै आएँ,’ मनिकुमारले भने, ‘अहिले मेरो परिवारभित्रका मात्रै ७० जना बढी पुरुष विभिन्न देशमा सेफ छन् ।’
बैंगलुरुको ताज होटलको अनुभवले उनलाई जापान पुर्यायो । त्यहाँ तीन वर्ष बिताएर फर्किएपछि यूएई बसे चार–पाँच वर्ष । उनी सन् १९९७ तिरै जापान पुगेका हुन् । उनका अनुसार जापानमा त्यसबेला अहिले जस्तो नेपाली थिएनन् । फाट्टफुट्ट मात्रै भेटिन्थे । जापानबाट फर्किएको केही समय बैंगलुरुकै ताज होटलमै काम गर्दै थिए । अचानक एउटा अवसर पाए । संसारकै धनाढ्यमध्येका बिल गेट्सको फेयरमाउन नामक लक्जरी होटल दुबईमा लन्च हुँदै थियो । त्यो होटलको हेड सेफमा उनी छानिए । ‘ताज र जापानको अनुभवले काम गर्यो,’ उनले सुनाए, ‘भाषा हैन, मान्छेको प्रतिभा र क्षमता ठूलो कुरा रहेछ ।’
दुबईको होटलका लागि अन्तर्वार्ता लिन आएकाहरूसँग उनले अंग्रेजी बोल्न सकेनन् । तर, काम गर्न सक्ने क्षमतालाई मूल्यांकन गर्दै एसियन सेफका रूपमा छानिएका थिए । सन् २००० ताका नै उनको तलब १ लाख ३० हजार भारु थियो । उनी अघि नै भतिज ध्रुव दुबई पुगिसकेका थिए । ध्रुवले समुद्रको मध्यभागमा अवस्थित जमेरा विच नामको पाँचतारे होटलमा काम गर्दै थिए । एक दिन दुबईका शेख मोहम्मद विन अल मक्तुम रात्रिभोजमा आएका थिए । खाना मिठो लागेपछि जिब्रो पड्काउँदै भनेछन्, ‘यो खाना कसले बनाएको हो ? मलाई त्यो सेफ चाहियो ।’ त्यसपछि ध्रुव शेखको पर्सनल कुकमा भर्ती भए । शेखको दरबारमा कार्यरत रहँदा ध्रुवले बेलायत, दक्षिण अफ्रिकासहित युरोप र मध्यपूर्वी एसियाका धेरै देश घुम्ने मौका पाए । ‘शेखको भ्रमण जहाँ हुन्थ्यो, सँगै जानुपर्थ्यो,’ उनले सुनाए, ‘शेखले मैले पकाएको बाहेक खाना खाँदैनथे ।’
आठ वर्ष काम गरेपछि ध्रुव सन् २००८ मा अचानक क्यानडा गए । क्यानडाको भिसा लागेको तीन महिनासम्म उनको राजीनामा दरबारले स्विकारेन । शेखको एउटै सर्त थियो, ‘तिमीले जस्तै मीठो खाना पकाउने मान्छे ल्याइदिनु अनि जानू ।’ ध्रुव संकटमा परे । आफूजस्तै पकाउने कला भएको मान्छे खोज्न कता जानू ? सकस भयो ।
संयोग कस्तो पर्यो भने उनकै माइला भाइ किरण पनि दुबईकै पाँचतारे होटलमा काम गर्दै थिए । उनले आफ्नो ठाउँमा किरणलाई भर्ती गर्ने निधो गरे । दरबारले किरणलाई १५ दिनजति ‘ट्रायल’ मा राखेपछि बल्ल स्विकार्यो । अनि ध्रुवलाई क्यानडा उड्ने बाटो खुल्यो । ध्रुव डेढ दशकदेखि क्यानडामा परिवारसहित छन् । त्यहाँ पनि उनी सेफ नै छन् ।
रोयल प्यालेसमा विभिन्न देशका सेफ मात्रै ३ सय ७५ जना थिए । त्यसमध्ये एउटा थिए, ध्रुव । ध्रुव क्यानडा उडेपछि किरण जोडिए । उनी रानी शेख हायनाका पर्सनल सेफमा भर्ती भए । ५ हजार दिराम तलब, फेमिली रुम, वार्षिक रूपमा घर आउजाउ गर्ने प्लेन टिकट सबै दरबारले उपलब्ध गराएको थियो ।
रानीले भ्रमणका क्रममा कहिलेकाहीँ बोनस दिन्थिन्, आफूलाई खाना मिठो लाग्दा बक्सिस पनि । उनी बेलायत धेरै पटक उडे, दरबारको विशेष जेट चढेर । ‘त्यस्तो जहाज त मैले जीवनमै देखेको थिइनँ,’ उनले अनुभव साटे, ‘पाँचतारे होटलभन्दा ठूलो र विशेष थियो ।’ करिब १५ वर्ष दरबारभित्रको किचन सम्हालेका उनी यतिबेला गाउँतिरै छन् ।
कोभिडपछि उनी बिरामी परे । निको भएपछि पुनः फर्किए, तर काम गर्न सकेनन् । अन्ततः दरबारले दाजु ध्रुवलाई जस्तै सर्त अघि सार्यो, ‘तिमी जस्तै मिठो पकाउने मान्छे ल्याइदेऊ अनि तिमीलाई बिदा ।’
उनले बैंगलुरुमा होटल म्यानेजमेन्ट पढिरहेका छोरा दीप शंकरलाई आफ्ना ठाउँमा ‘रिप्लेस’ गरे । गाउँमै बसेको भए उनले न पढ्न सक्थे, न कमाउन नै । ‘संघर्षले नै मजस्तो सामान्य मान्छेलाई सेफ बनाएको हो,’ उनी भन्छन्, ‘गाउँमै बसेको भए विभेद मात्रै भोग्नुपर्थ्यो ।’ बैंगलुरु, दुबईलगायतका सहरमा सेफको सेतो पगरी गुथेका किरणलाई अब गाउँतिरै भिन्न खालको रेस्टुरेन्ट चलाउने इच्छा छ । तर, रेस्टुरेन्टमा गरेको लगानी डुब्ला कि भन्ने भित्री डर छ– ‘जातको संकीर्णताले गाँजेको नेपाली समाजले मलाई एउटा भान्सेका रूपमा कत्तिको स्वीकार्ला ?’
विक्रम शंकर ।
मनिकुमारले चर्चेको यो लहरोमा ७० हाराहारी संख्यामा गाँसिएका छन् । भारतको बैंगलुरुदेखि दुबई, क्यानडा हुँदै बेलायतसम्म लहरो फैलिएको छ । विक्रम शंकर, पूर्णबहादुर सिन्च्युरी, रोशन सेन्च्युरी, सञ्जय र विजय शंकरलगायत एक दर्जन बेलायतका विभिन्न तारे होटलका सेफ छन् । सिद्धार्थ शंकर, भीम कालीकोटेलगायत दुई दर्जन दुबईमा छन् । सनमान रुचाल, घमण्डसिंह कालीकोटे, देवु खाती, गंगा खाती, डिकबहादुर शंकर, डम्बर शंकरलगायत बैंगलुरुमा छन् । मनिकुमार परिवारको भान्सा (सेफ) मा तेस्रो पुस्ता सक्रिय छ । नेपाली हिन्दु समाजले दलितले छोएको पानी बर्जित गरेको छ । तर पकाउने पेसाको पौरखबाट झापा देहातका यी दलित परिवारले ख्याति मात्रै हैन, सम्पत्ति पनि मनग्य आर्जन गरेका छन् ।
जसको खाना बुसदेखि ब्लेयरसम्मले चाखे
दलित त्यसमाथि गरिब । घरमा दुःख थियो । अभावै अभावको चाङ थियो । सेन्टअप दिएपछि २०४२ सालमा कैलाश विश्वकर्मा मुम्बई लागे । बाहुनडाँगीका कैलाश त्यसअघि टाढा भनेको मेची तरेर नक्सलबारीसम्म मात्र पुगेका थिए । बिरानो सहरमा उनका कोही आफन्त थिएनन् । सुरुआती दिनमा एउटा क्लिनिकमा काम गर्न थाले । उनको काम प्रयोग भइसकेको सिरिन्जहरू पानीमा उमालेर पुनः निर्मलीकरण गर्ने थियो । त्यसबापत उनले थोरै पैसा पाउँथे । त्यसैले एक्लो ज्यान पाल्थे ।
उनले त्यसबेलाका सुपर स्टार ऋषि कपुरसँग पनि काम गरे, पर्सनल ब्वाय भएर । कपुरसँग काम छाडेपछि उनी होटलतिर जोडिए त्यो पनि दुबईमा । सन् १९९० को अन्त्यतिर चर्चित दुबई प्लाजा होटलमा उनले काम सुरु गरे । सात महिना तालिम लिएपछि मात्रै उनले किचेनको जिम्मेवारी पाए । सन् १९९९ देखि २००२ सम्म त्यो होटलमा जिम्मेवारी सम्हालेपछि पाँचतारे होटल मेट्रो पोलिटियनमा सरुवा भयो । दुबई हिल्टनमा पनि प्रमुख सेफका रूपमा जिम्मेवारी सम्हाले ।
खासमा विश्वकर्माको इटालियन परिकारमा राम्रो दखल छ । दुबईको विश्वप्रसिद्ध सेराटन होटलमा उनी इटालियन डिसतर्फको मुख्य सेफ पनि भए । उनले पकाएका परिकार तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस, नेल्सन मन्डेला र बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरलगायतले स्वाद मानी–मानी खाएको उनको दाबी छ । दुबई भ्रमणमा आएका बेला अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले उनले बनाएको खाना खाएका थिए । सन् २०१४ देखि उनी दुबईबाटै सोझै स्कटल्यान्ड गए ।
स्कटल्यान्डमा अहिले उनी ‘केबी इटालियन किचेन’ सञ्चालन गरेर बसेका छन्, परिवारसहित । ‘स्कटल्यान्डमा इटालियन परिकारका लागि मेरो रेस्टुरेन्ट लोकप्रिय छ,’ उनी भन्छन् ।
soure : ekantipur.com
प्रतिक्रिया