न्यू योर्कमा अमेरिकी मगरहरूको दुई दशकको अभिलेखन ऐतिहासिक कृति लोकार्पण

नेपालीत्व, मगर जातिको ईतिहास, पहिचान, मगर मातृभाषा, संस्कृति

न्यू योर्कमा अमेरिकी मगरहरूको दुई दशकको अभिलेखन ऐतिहासिक कृति लोकार्पण सार्वजनिक गरिएको छ । 
मगर संघ अमेरिकाको वीसौं वार्षिकोत्सवको अवसरमा उक्त ऐतिहासिक कृति दुई दुई दशकको अभिलेखन ऐतिहासिक कृति लोकार्पण गरिएको हो । 
यस अघि अभिलेखन कृतिमा संघको स्थापनाकालदेखि वर्तमानसम्मको गतिविधिहरूकासाथै नेपालीत्व, मगर जातिको ईतिहास, पहिचान, मगर मातृभाषा, संस्कृतिको ऐतिहासिक महत्व र वर्तमान अवस्थाबारे सन् २०११, २०१४, २०२१ र २०२३ मा  “याँभू” (ईन्द्रेणी) स्मारिकामा लेखरचनाहरूको एकल संग्रह प्रकाशित गरिसकेको छ । 
हालै सार्वजनिक उक्त दुई दशकको बृहद अभिलेखन कृति ४६४ पृष्ठको रहेको छ । अभिलेखिकरण कृतिमा संघको विगत वीस वर्षको गतिविधिहरूलाई ६४ पृष्ठहरूमा तस्विरमा समेट्ने प्रयास गरिएको छ भने बाँकी ४०० पृष्ठहरूमा लिखित अभिलेखन गरी दस्तावेजिकरण गरिएकोछ ।

समारोहमा प्रमुख अतिथि एवं नेपालको पहिलो संविधानसभा सभासद पूर्णबहादुर राना मगर, मगर संघ अमेरिकाका वर्तमान र पूर्व अध्यक्षहरू, अभिलेखन कृतिका प्रधान सम्पादक प्रदीप परियार थापा मगर, मगर संघ अमेरिकाको पहिलो र दोश्रो पुस्ताका प्रतिनिधि मगरहरूले उक्त कृतिको संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो । 

मगर संघ अमेरिकाको स्थापनाकालदेखि हालसम्म ७ जना अध्यक्षहरूले नेतृत्व सम्हाल्नु भएको छ । संस्थापक अध्यक्ष दलबहादुर बुढाथोकी मगर (२००४–२००६); निलम थापा मगर (कार्यबाहक अध्यक्ष २००६–२००८); लेफ्टिनेण्ट महेन्द्रकुमार थापा मगर (२००८–२०१२); क्या. दलबहादुर रोका मगर (२०१२–२०१५); रुद्र थापा आले मगर (२०१५–२०१८); कुलदिप राना मगर (२०१८–२०२१); र कुलदिप राना मगर (२०२१–२०२३); र याम पुन मगर (२०२३–२०२५) हुनुहुन्छ ।

मगर संघ अमेरिका केन्द्रीय अध्यक्ष याम पुन मगरले संघका विगतका सबै प्रकाशनहरूलाई समेटेर एकीकृत ऐतिहासिक दस्तावेजकोरूपमा यो कृति प्रकाशन गरिएको उल्लेख गर्दै भन्नुभएकोछ “कुनै पनि संस्थाको जीवनमा सफलतापूर्वक दुई दशक पुरा गरी क्रियाशील रहनु आफैमा महत्वपूर्ण उपलब्धी हो । हालसम्म मगर संघ अमेरिका केन्द्रिय समिति अन्तरगत न्यू योर्क, डीएमभी, टेक्सास, न्यू जर्सी, इलिनोइ, क्लोराडो, पेन्सिलभानिया र मासाचुसेट्स गरी ८ वटा राज्य च्याप्टरहरु स्थापना भै क्रियाशील छन् । मगर संघ अमेरिका केन्द्रिय समितिले सवै राज्य च्याप्टरहरुसंग मिलेर मगर जातिको भाषा, संस्कृति, इतिहास र पहिचानलाई संरक्षण र सम्वर्धन गर्न अमेरिका र नेपालमा सक्दो प्रयास गर्दै आएको छ ।”

स्मारिका प्रकाशन समिति संयोजक एवं संघको वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिप सागर बुढा मगरले “समय बलवान छ, परिवर्तित छ । हामीले इतिहास मात्रै कोरेनौं भने यात्राको अर्को फड्को अगाडी बढ्ने बेला विगतमा के भएको थियो भन्ने ईतिहास हराउँछ” भन्दै भन्नुभएको छ “मगर संघ अमेरिकाको इतिहासलाई साक्षी राख्दै भावी पुस्तालाई संघको २० वर्षे दस्ताबेजिकरण कोशेली दिन “मगर संघ अमेरिका २० वर्ष (बिगतलाई हेर्दा ‘)” ऐतिहासिक कृति प्रकाशन गर्न लागिएको हो । मगर संघ अमेरिकाको ऐतिहासिकतालाई अविस्मरणीय बनाउन हाम्रो संस्थालाई माया गर्नु हुने सम्पूर्णजनहरुमा इतिहासदेखि वर्तमानसम्मको सत्य तथ्य भोगाई बाँड्न यो कृतिको परिकल्पना गरिएको हो । त्यसैले यो दस्ताबेजिकरणको प्रयास मगर संघ अमेरिकाको गौरवपूर्ण ईतिहासको संरक्षण गर्ने एक सतत् प्रयास हो।”

मगर संघ अमेरिकाको वर्तमान सल्लाहकार एवं निवर्तमान अध्यक्ष कुलदीप रानामगर जसको कार्यकालमा यो कृति प्रकाशन गर्ने निर्णय गरी कार्यसम्पादन थालनी गरिएको थियो, ले “मगर संघ अमेरिका अहिले तन्नेरी अवस्थामा पुगेको छ” भन्दै उल्लेख गर्नुभएको छ “अमेरिकामा मात्र नभै विश्वभरी रहेका मगरहरुलाई एकताको सन्देश दिंदै संघको २० वर्षको ऐतिहासिक दस्तावेज भावी पिढीहरुको हातमा पुर्याउने उद्देश्य अनुरुप संघको सांगठनिक गतिविधि र रचनात्मक क्रियाकलापलाई एउटै पुस्तकमा दस्तावेजीकरण गर्ने प्रयास गरिएको छ ।”

अमेरिकाको अग्रणी एवं प्रतिष्ठित अनुसन्धान संस्था पिउ रिसर्चका अनुसार अमेरिकामा जन्मेका एशियाली मूलका अमेरिकीहरू मध्ये ६५ प्रतिशत जनसंख्याले अंग्रेजी भाषा मात्र बोल्दछन् या बुझ्दछन् । उता ५७ प्रतिशत एशियालीहरू अमेरिका बाहिर जन्मिएका हुन् । सन् २०२० को जनगणना अनुसार अमेरिकामा एशियाली मूलका दुई करोड ६० लाख जनसंख्या छ अर्थात अमेरिकाको कूल जनसंख्या ३३ करोड ३३ लाखको ६.२ प्रतिशत रहेकोछ भने नेपालीहरूको जनसंख्या २ लाखदेखि ४ लाख रहेको अनुमान गरिएकोछ । जस मध्ये अमेरिकी मगर समुदायको संख्या झण्डै ८ हजारको रहेको छ ।

उक्त रिसर्चको आधारमा ८ हजार मगर जनसंख्या मध्ये झण्डै ३ हजार नयाँ पुस्ता अमेरिकी मगरहरूले नेपाली भाषा बोल्न र बुझ्न सक्दैनन् । मुलतः नेपाली भाषामा दस्तावेजिकरण गरिएको यो ऐतिहासिक कृतिलाई नयाँ पुस्तालाई मध्यनजर राख्दै संघले अंग्रेजी संस्करण समेत प्रकाशन गर्नु पर्ने कुरा सो अभिलेखनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले जोड दिनुभएको थियो ।

प्रतिक्रिया