घम्बर नेपाली, प्रकाश विक, मिमबहादुर परियार
सार्वजनिक वृत्तको आजको मूल धार मानिने बुद्धिजीवी वर्गले विभिन्न कलेबरमा जातबारे पुरानै शासकीय भाष्य बिक्री गरिरहेको छ, जबर्जस्त आएका विचारलाई प्रायोजित जातवादी विद्वान्ले भ्रष्टीकरण गर्ने तथा निस्तेज पार्ने राजनीति पनि तीव्र छ
जातको प्रभावबाट सिंगो दक्षिण एसियाली समाज अछुतो छैन । खासमा हिन्दु समाजको मेरुदण्ड नै जात व्यवस्था थियो, हाल पनि यसकै इसारामा चलिरहको छ भन्दा अत्युक्ति हुँदैन । यहाँको विचार, मूल्य, मान्यता, संस्कारदेखि अर्थतन्त्र र राजनीति पनि जातमा आधारित छ ।
यस उपमहाद्वीपमा रहेका बौद्ध, इस्लाम, इसाई धर्ममा पनि जात संक्रमित भइसकेको छ । गाउँदेखि सहरसम्म, स्थानीय तहदेखि केन्द्रीय राजधानीसम्म, सरकारदेखि परिवारसम्म, समुदायदेखि व्यक्तिसम्म जहाँतहीँ सर्वव्यापी छ, जात ।
जुन समाज जातको तहीकृत संरचनामा ठडिएको हुन्छ, त्यो पूर्णतया असमानतामा अडिएको हुन्छ । किनकि वर्ण व्यवस्थाको सोपानमा कोही माथि हुन्छ, कोही तल । जति माथिल्लो सोपानबाट तल झरिन्छ, त्यति विभेद, बहिष्करण तथा हिंसाको मात्रा बढ्दै जान्छ । त्यसैले जात व्यवस्थाको सबैभन्दा पिँधमा रहेका दलित समुदाय चर्को शोषण, दमन र उत्पीडनको जीवन जिउन बाध्य छन् । ज्ञान उत्पादन तथा उपयोगको काम पनि यही जात व्यवस्थाको तप्कनीमुनि मुर्झाइरहेको छ । प्रस्ट रूपमा भन्दा जातको राजनीति गरेर अकन्टक लाभांश लिइरहेकाहरू यस्तो बहसलाई जतिसक्यो ओझेलमा पार्दै आइरहेका छन् । यही जटिल पृष्ठभूमिमा समालोचनात्मक जात अध्ययनको विमर्श नेपालमा जरुरी छ ।
सारभूत ज्ञान उत्पादनको कमी
नेपालमा भएका जात व्यवस्थाबारे गहकिला किताब औंलामा गन्न पनि पुग्दैनन् । त्यसो त मानवशास्त्री मेरी एम क्यामरोन, प्याट्रिसिया कप्लान, लिन बेनेट, डोरबहादुर विष्टहरूले नेपालमा जातबारे अनुसन्धानको सुरुवात गरेका थिए । जातबारे इतिहास, समाजशास्त्र, अर्थशास्त्र, राजनीति जस्ता विधामा गहिरिएर लेखिएका रचना अत्यन्त थोरै छन् ।
हाल जातबारे जे जति ज्ञान उत्पादन भएका छन्, त्यो दलितमैत्री छ कि छैन भन्ने सवाल दलित विज्ञहरूले उठाउन थालेका छन् । दलित समुदायको न्याय, मर्यादा, स्वतन्त्रता तथा समानताबारे नबोल्ने ज्ञान वास्तवमा सही ज्ञान हुनै सक्दैन । उत्पीडित समुदायबारे उत्पीडकहरूले निर्माण गरेको भाष्य कदापि न्यायोचित र स्वीकार्य हुँदैन । त्यसैले जात व्यवस्थाबारे असली ज्ञान निर्माणको हकदार दलित आफैं हुन् । जातबारे ज्ञान उत्पादन गर्ने दलितहरू निकै कम छन्, तर आहुतिलगायत केही दलितले स्वअध्ययनमै जात व्यवस्थासम्बन्धी ज्ञान उत्पादनको राम्रो काम गरेका छन् । ज्ञान उत्पादनमा दलित उपस्थिति कम हुनुको कारण उनीहरूलाई राज्यद्वारा शिक्षामा गरिएको वञ्चितीकरण हो । दलितहरू आफैंले ज्ञान निर्माणमा हस्तक्षेप गर्नुपर्ने जरुरत त छँदै छ, अर्को दलितलाई प्रशिक्षित गर्न जातिवादी मानसिकताबाट माथि उठेका गैरदलित विद्वान्हरूको खाँचो छ । तर जातिवादी गैरदलित विद्वान्बाट हुने दलितमैत्री ज्ञानको भ्रष्टीकरणदेखि हमेशा सचेत रहनुपर्ने हुन्छ ।
सही वैचारिकी निर्माण र खपतका लागि समालोचनात्मक सार्वजनिक वृत्त अत्यावश्यक पक्ष हो । भारतीय दलित आन्दोलनदेखि नेपालको दलित आन्दोलनसम्म विभिन्न दलित र गैरदलित प्राज्ञिक तथा विचारकले जातबारे अनेक विचार तथा सिद्धान्तमा योगदान गरेका छन् । अब ती विचार तथा सिद्धान्तमध्ये दलित मुक्ति तथा जात व्यवस्थालाई चुनौती दिने वैचारिकी पहिल्याउनु एउटा गतिलो काम हुन सक्छ । सबैभन्दा धेरै दमन र हिंसा खेपेको, शास्त्रबाट वञ्चित, जात व्यवस्थाको शून्य लाभांश पाएको र मुक्तिको आकांक्षी भएकाले दलित समुदायका लागि प्रतिरोधी ज्ञान र चेतना आवश्यक छ ।
सार्वजनिक वृत्तको आजको मूलधार मानिने बुद्धिजीवी वर्गले भने विभिन्न कलेबरमा जातबारेमा पुरानै शासकीय भाष्यलाई बिक्री गरिरहेको छ । यसका पछाडि दुई कारण महत्त्वपूर्ण छन् । पहिलो, दलित समुदायको खास विचारलाई बुझ्न र आम सार्वजनिक वृत्तमा ल्याउन नसक्नु । दोस्रो, सार्वजनिक बहसमा आएको विचारलाई बेवास्ता गर्नु र जमेर प्रतिरक्षा गर्न उदासीन हुनु, नचाहनु वा नसक्नु । यी कारणले आमतौरमा यो वर्गको लेख तथा अनुसन्धानले जातसम्बन्धी सही विचार नै सम्प्रेषण गर्न सकिरहेको छैन । जबर्जस्त आएका विचारलाई प्रायोजित जातवादी विद्वान्हरूले भ्रष्टीकरण गर्ने तथा निस्तेज पार्ने राजनीति पनि तीव्र छ । त्यसकारण जातबारे समालोचनात्मक चेतसहितको सार्वजनिक वृत्त निर्माण र सोहीअनुसारको विमर्शमा जोड दिनु दलित समुदायका लागि टड्कारो विषय हो ।
निम्छरो प्राज्ञिक अध्ययन
जातको अध्ययनले नेपाली विद्यालय तथा विश्वविद्यालयमा गतिलो प्रवेश नै पाएको छैन । स्नातकोत्तर तहको समाजशास्त्रमा एउटा विषय ‘जात र वर्ग’ समावेश छ । मानवशास्त्रमा भने एउटा विषयभित्र ‘जात, जाति र सामाजिक संरचना’ भन्ने एकाइले मात्र स्थान पाएको छ । राजनीतिशास्त्रमा झन् एउटा एकाइभित्र दुईओटा शीर्षकमा जातबारे समेट्ने प्रयास गरिएको छ । अचम्मको कुरा त यी कुनै पनि विषयमा दलित समुदायका विद्वान्को कृतिलाई ठाउँ दिइएको छैन । विद्यालय तहको सामाजिक शिक्षा विषयमा एउटा एकाइ जातबारे पढाउन थालिएको छ । छुवाछूतलाई सामाजिक अपराधका रूपमा लिइए तापनि जातका आधारमा गरिएको श्रम विभाजनलाई वैज्ञानिक मानिएको छ । जातका कारण भएका दलित हत्या तथा हिंसालाई समेटिएको छैन ।
भारतको जेएनयूलगायत थुप्रै विश्वविद्यालयमा सामाजिक अध्ययन स्कुलअन्तर्गत बहिष्करण र समावेशी नीतिभित्र जात अध्ययनसम्बन्धी विषय पढाइ हुन्छ । प्राज्ञिक संस्थाकै रूपमा इन्डियन इन्स्टिच्युट अफ दलित स्टडिज भारत मात्र नभएर दक्षिण एसियामै प्रख्यात छ । कम्तीमा नेपालका विद्यालय तथा विश्वविद्यालयमा जातबारे पढाउन दलित विज्ञ सहभागितामा पाठ्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता छ । दलित समुदायबारे अनुसन्धान गर्दा पालना गर्नुपर्ने नैतिक मान्यता तथा अनुसन्धान प्रोटोकल पनि निर्माण गर्नुपर्नेछ । आफ्नो समुदायको स्वार्थअनुकूल मोडिएको जातसम्बन्धी ज्ञानलाई करेक्सन गर्दै सही मार्गमा ल्याउनुपर्नेछ । शासकहरूको नजरियाबाट लेखिएका र कथिएका गलत इतिहासलाई वैज्ञानिक ढंगले करेक्सन गरेर नयाँ आधारशिला निर्माण गर्नुपर्नेछ ।
निकटवर्ती विधासँग ज्ञान साटासाट
गजेन्द्रन अयथुरै (सन् २०२१) का अनुसार आलोचनात्मक जात अध्ययनले मूलतः दुई विचारलाई उजागर गर्न मद्दत गर्छ । पहिलो, इतिहास, मानवशास्त्र, लैंगिक अध्ययन जस्ता जुनसुकै विधामा भए पनि यसले वर्चस्वशाली इतिहास, भाषिक प्रभुत्व, अभिलेखीय पूर्वाग्रह इत्यादिलाई अस्वीकार गर्दै स्पष्ट चुनौती खडा गर्छ । दोस्रो, यसले हाम्रा बौद्धिक कार्यमा लागू गरिनुपर्ने नैतिक मूल्य, स्रोत समावेश गर्ने पद्धति तथा अन्य बौद्धिक संलग्नतालाई अनुसरण गर्छ ।
दक्षिण एसियामा जात वर्गभन्दा पनि पेचिलो विषय भएकाले यसको बहुआयामिक असर रहनु स्वाभाविक हो । यस क्षेत्रबाट सुरु भएका प्रगतिशील बौद्धिक पहलहरूमा जातलाई कुनै न कुनै हिसाबले समेटिएको पाइन्छ । त्यस्ता प्रयत्नमध्ये एउटा हो सबाल्टर्न अध्ययन । जसले जातीय, आर्थिक, लैंगिक तथा सांस्कृतिक रूपमा आवाजविहीन बन्न पुगेका वर्ग/समुदायको आवाजलाई बुलन्द गर्ने, गराउने प्रयास गर्छ । जात अध्ययन पनि जातीय सोपानको मारमा परेका दलितलगायत उत्पीडितको समग्र परिवर्तनका लागि बौद्धिक एवं प्रतिरोधी प्रयत्न भएकाले सबाल्टर्न अध्ययनसँग ज्ञान र अनुभव साटासाट गर्न सक्छ ।
अमेरिका, बेलायतलगायत विभिन्न स्थानहरूमा भइरहेको रंगभेदविरोधी आन्दोलनले जात व्यवस्थाविरोधी आन्दोलनले भन्दा समग्रमा धेरै प्रगति गरिसकेको छ । विभेदको प्रकृति भिन्दाभिन्दै भए पनि रंगभेदसम्बन्धी प्रतिपादित सिद्धान्तबाट जातको राजनीति बुझ्न धेरै सहयोग लिन सकिन्छ । रंगभेद र जात पूर्वाग्रह मात्र होइनन् निश्चित विचारधारा पनि हुन् । जसका कारण पश्चिमा मुलुकमा गोरा र दक्षिण एसियाली मुलुकमा तागाधारी शक्तिमा रहेर आफ्नो वर्चस्व कायम गरिरहेका छन् । जातीय विभेद र असमानता जताततै छ, कथित उच्च जातवादीहरू कुनै समस्या नै छैन जस्तो गरी भ्रम छरिरहेका हुन्छन् । यस्तो सूक्ष्म विभेदलाई विश्लेषण गर्न बोनिला सिल्भा (सन् २०२२) द्वारा प्रतिपादित रंगविभेद अनदेखा दृष्टिकोण सान्दर्भिक छ । त्यस्तैगरी लैंगिक अध्ययन, आदिवासी जनजाति अध्ययन आदि विचार तथा सिद्धान्तसँग संवाद बढाउँदा एकअर्काको ज्ञानलाई अझ परिष्कृत र बलियो बनाउन मद्दत पुग्दछ ।
निष्कर्ष
प्रसिद्ध कवियत्री एमिली डिकिन्सन भन्छिन्— ‘शब्दभन्दा शक्तिशाली संसारमै अर्को शक्ति मैले अहिलेसम्म भेटेको छैन ।’ यो भनाइले ज्ञानको शक्तिबारे प्रस्ट पार्छ । इतिहासको निकै लामो कालखण्डलाई पार गरेर टिकिरहेको जात व्यवस्थालाई धक्का दिन ज्ञान उत्पादनको महत्त्व स्वतस्फूर्त छ । कम्तीमा पनि समाजको ठूलो हिस्सा जात व्यवस्थाविरोधी सही शास्त्र र वैचारिकीबाट प्रबोधित हुन जरुरी छ । त्यस्तो सिद्धान्त र विचार निर्माणका लागि व्यापक ज्ञानशाला चाहिन्छन् । जसले मात्र संकीर्ण घेराभित्र कैद गरिएको सुषुप्त र कमजोर जातको बहसलाई सतहमा ल्याउन मद्दत गर्दछ ।
यसरी समालोचनात्मक जात अध्ययन आजको बौद्धिक आन्दोलनको एउटा कोसेढुंगा हो । जात व्यवस्थाको भुक्तभोगी दलित समुदाय भएकोले यसको नेतृत्व अब उनीहरूले नै गर्नुपर्दछ । तर यो विराट कार्यका लागि गैरदलितको पनि सहकार्य उत्तिकै महत्त्वपूर्ण हुन्छ । दलित ज्ञान उत्पादनलाई खँदिलो र समृद्ध बनाउन अन्तरविषयक ज्ञान आदानप्रदान अझ जरुरी छ ।
Source: ekantipur.com
प्रतिक्रिया