प्रेममा परिवार नै बाधक, अलग गराउन प्रहरीको दबाब

आश्विन २१, २०८१

नेपालगन्ज — बालिग उमेरका केटाकेटीले आफ्नो भविष्यबारे निर्णय गर्दा परिवारका सदस्यले मानेनन् भनेरै उनीहरूलाई नियन्त्रणमा लिएर परिवालाई बुझाउन मिल्दैन । तर, बाँके प्रहरीले दबाब र शक्तिको आडमा जबरजस्ती एक बालिग जोडिलाई अलग गरिदिएको छ ।

स्कुले जीवनदेखि नै प्रेम सम्बन्धमा रहेका रमेश यादव र सुनिता यादवले बालिग भएपछि विवाह गर्ने निर्णय गरेका थिए । तर, केटी पक्षका परिवारले त्यसमा मन्जुरी नदिएपछि उनीहरूले भागेर विवाह गर्ने निधोमा पुगे । शनिबार जिल्ला प्रहरी कार्यालय पुगेका सुनिताका अभिभावकले आफ्नी छोरीलाई रमेशसँग जान नदिने बताए । अभिभावक नमानेपनि सुनिताले रमेशसँग नै विवाह गरेर जाने बताइन् । त्यसपछि प्रहरीले उनको असहमति रहँदा रहँदै पनि अभिभावको जिम्मा लगाएर पठाइदिएको छ ।

बाँकेको खजुरा गाउँपालिका–७ कलनसनकी सुनिता अहिले २२ वर्षकी भइन् । खजुरा गाउँपालिका–५ वसन्तपुर निवासी २२ वर्षीय रमेश यादवसँग बिहे गर्ने भनेर यसअघि पनि पटकपटक घरबाट भागेकी उनलाई प्रहरीले शनिबार पुनः अभिभावकको जिम्मा लगाएको छ ।

‘मलाई प्रहरी कार्यालमा राख्नुस् वा जेल हाल्दिनुस् म अरुसँग बिहे गर्न सक्दिन,’ भन्दै उनले प्रहरी कार्यालयमा हारगुहार गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालमा प्रहरीसमक्ष बिन्ती गरेपनि सुनितालाई उनको मन्जुरीबिना परिवारको जिम्मा लगाइयो भने रमेशको बुवालाई पनि केटालाई बुझेर घर लैजान दबाब दिइयो ।

‘केटीकै सुरक्षाका लागि हामीले केटाकेटीलाई प्रहरी कार्यालय हाजिर हुन लगाएका हौं,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले भने, ‘केटी परिवारसँग जान नमानेकै कारण उनकै सुरक्षाका लागि दुई दिन सहमतिका लागि प्रहरी निगरानीमा राखिएको हो । पछि सहमति गराएर केटाकेटी दुवैलाई अभिभावकको जिम्मा लगाएका हौं ।’

रमेशका अनुसार केही पक्षले उनी र उनका बुवा माथि अपहरणको उजुरी लगाएपछि उनी खजुरास्थित धनौली प्रहरी चौकीमा शुक्रबार हाजिर हुन पुगेका थिए । धनौली चौकीले केटाकेटी पक्षलाई सहमतिमा आ–आफ्नो घर जान दबाब दिएको उनले बताए । आफूहरूलाई दिनभर प्रहरी चौकीमा राखिएको र नमाने केटाको बुवालाई समेत हिरासतमा राख्ने धम्की दिइएको रमेशले बताए । त्यति गर्दा पनि केटीले परिवारसँग जान मानिनन् । त्यसपछि दुवै पक्षलाई शनिबार जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

‘हामीले कसैलाई कुनै दबाब दिएका छैनौं । कसैलाई पनि जबर्जस्ती बिहे गर्न वा गराइदिन प्रहरीले दबाब दिन मिल्दैन । बालिग अवस्थामा रहेका केटाकेटी दुवैलाई उनीहरूको अभिभावकलाई जिम्मा लगाएका छौं,’ खजुरा प्रहरी कार्यालय बाँकेका इन्चार्ज एवं प्रहरी निरीक्षक पूर्ण केसीले भने, ‘यो कुनै ठूलो घटना होइन । प्रेममाथि पनि समुदायले राजनीति गरिरहेको देखेर हैरान छु ।’

सुनितालाई छुटाएर उनको परिवारले लैजाने भएपछि रमेश शनिबार जिल्ला प्रहरी कार्यलय परिसरमा बेहोस भएका थिए । केही समयपछि होसमा आएका उनले बालिग भएर आफ्नो भविष्यबारे निर्णय गर्न खोज्दा समाजले मात्रै नभएर प्रहरीले पनि सहयोग नगरेको आरोप लगाए । ‘बालिग छौं, एक अर्कालाई मन पराउछौं । हामीले कुनै अपराध गरेका पनि छैनौं । तर प्रहरीले हामीलाई छुट्टिन दबाब दिइरहेको छ,’ उनले भने, ‘भोलि मलाई वा सुनितालाई केही भए त्यसको जिम्मेवारी कसले लिन्छ । यो समाजले, या प्रहरीले ?’ उनको प्रश्न छ ।

सुनिताका बुवाले रमेशलाई बालबिबाहको मुद्दामा फसाउने भन्दै सुनिताको जन्मदर्ता घटाएर किर्ते जन्मदर्तासमेत बनाएको आरोप पनि केटा पक्षको छ । त्यसबारे प्रहरीले पनि कुनै अनुसन्धान नगरेको खजुरा गाउँपालिका–५ का वडाध्यक्ष गरीब शेखले बताए ।

‘गैरकानुनी काममा प्रहरीकै समर्थन देखिएको छ । बालिग केटाकेटीलाई प्रहरीले केटी पक्षको परिवारको दबाब र शक्तिको आडमा अलग गराएको छ,’ उनले भने, ‘प्रहरीले त केटा र केटाको परिवारलाई केटी पक्षको परिवारविरुद्ध सुरक्षा दिनुको साटो उल्टै लछारपछार गर्दै केटा लैजान दबाब दिए ।’ शेखका अनुसार छोरीले भागेर विवाह गरेमा आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउने भएपछि केटी पक्ष यो सम्बन्धको विरुद्धमा खुलेर लागेको हो ।

‘हाम्रो समुदायमा छोरी आफैं भागेर गइन् भने ठूलो अपराध गरेको सोचिन्छ । आफ्नो हटका लागि निर्दोषलाई फसाउन जन्मदर्ता समेत किर्ते बनाइएको थियो,’ अध्यक्ष शेखले भने, ‘कसैको केही गल्ती छ भने उसलाई कानुनी दायरामा ल्याउने कुरामा हाम्रो कुनै रोकतोक छैन । तर कसैलाई बिना अपराध फसाउन खोज्नु न्याय संगत होइन । ’

रमेश र सुनिताले मानसिक दबाब झेलेको यो पहिलो पटक भने होइन । उनीहरू तीन वर्ष अघि पनि घर छोडेर भागेका थिए । भारत जान लाग्दा उनीहरूलाई सिमावर्ती जमुनाहा नाकामा रोकिएको थियो । त्यतिबेला उनीहरू मात्र १९ वर्षका थिए ।

त्यतिबेला पनि सुनिता र रमेशलाई छुटाएर आ–आफनो घर फर्काइएको थियो । रमेश वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गएपनि उनीहरू सामाजिक सन्जालबाट जोडिइरहें । डेढ वर्षपछि रमेश नेपाल फर्के । सुनिता अहिले कक्षा ११ मा पढ्छिन् भने रमेशले १२ कक्षा पास गरेका छन् । रमेश विदेशबाट नेपाल फर्किएको २५ दिन मात्रै भएको छ । सुनिताका परीवारले मन्जुरी नदिएपछि उनीहरू फेरि परिवारको अनुमतिबिना बिहे गर्ने भनेर भागेका थिए ।

‘उमेर पुगेका केटाकेटीले आफ्नो जीवनसाथी आफैं रोज्न र सँगै जीवन बाँच्न पाउनु कानुनले दिएको अधिकार हो,’ अधिवक्ता वसन्त गौतमले भने, ‘उमेर पुगेका केटाकेटीलाई सुरक्षा दिएर बिहे गर्ने वातावरण निर्माण गरीदिनुपर्ने हो । यदी दुवै बालिग हुन् भने प्रहरीले राजीखुशी बिहे गर्दा सुरक्षा दिनु प्रहरीको दायित्व हो ।’

महिला अधिकारकर्मी कमला पन्तका अनुसार सामान्यतया घरको छोरीले भागेर बिहे गरेको कुनै आमाबुवालाई मन पर्दैन । ‘तर त्यसको मतलब प्रहरीले त्यसलाई समर्थन गर्ने भन्ने होइन,’ उनले भनिन्, ‘प्रहरीले केटीको मन्जुरीबिना केटीलाई बुवाआमाको जिम्मा लगाउन मिल्दैन । त्यहाँ केटीको सुरक्षाको पनि कुरा छ । यो कुरामा प्रहरीले संवेदनशील हुनुपर्ने थियो ।’

source: ekantipur.com 

प्रतिक्रिया