स्थानीय तहका बाढीपहिरो प्रभावितहरुलाई तीन महिनाभित्रमा पुनस्र्थापना गर्ने
असोज २२ गते, काठमाडौँ ।
सरकारले स्थानीय तहका बाढीपहिरो प्रभावितहरुलाई तीन महिनाभित्रमा पुनस्र्थापना गर्ने योजना बनाएको छ । पुनर्स्थापना र पुनर्निर्माणको काम तीव्र बनाउने उद्देश्यले सरकारले स्थानीय तहका बाढीपहिरोपीडितलाई तीन महिनाभित्रमा पुनस्र्थापना गर्ने योजना बनाएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव वसन्त अधिकारीले विपत् सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेकाले सो अवधिमा पुनस्र्थापनाका काम सम्पन्न गर्ने र पुनर्निर्माणलाई तीव्र बनाउने बताउनुभयो ।
सरकारले गत शुक्रबार बाढीपहिरोबाट क्षतिग्रस्त भएका ४३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । प्राधिकरणले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा हुने पालिकाको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।
प्राधिकरणका अनुसार सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तह केन्द्रित भई राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्र पारिने भएको छ । त्यसको पनि तत्कालै योजना सार्वजनिक गरिने भएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा गम्भीर प्रकृतिको विपत् भएमा राजपत्रमा सूचना प्रकाशन गरी सिमाना र अवधि तोकी विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सकिने उल्लेख छ ।
सरकारले स्रोतसाधन र जनशक्ति जुटाएर राहत, पुनस्र्थापना र पुनर्निर्माण तीव्र पार्ने बताउदै आएको छ । सरकारसँग पुनस्र्थापना र पुनर्निर्माणका लागि पर्याप्त बजेट नभए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाएर पुनस्र्थापना र पुनर्निर्माण तीव्र पारिने प्राधिकरणका सहसचिव अधिकारीले बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पुनस्र्थापना र पुनर्निर्माणका लागि विशेष योजना बनाएर काम गर्नकै लागि विपत् सङ्कटग्रस्त स्थानीय तह घोषणा गरिएको बताउनुभयो ।
सरकारले कोशी प्रदेश अन्तर्गत पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका, उदयपुरको बेलका नगरपालिकालाई विपत् सङ्कटग्रत क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै बागमती प्रदेश अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका, धुनिबेँसी नगरपालिका, दोलखाको गौरीशङ्कर गाउँपालिका, बिगु र सैलुङ गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, सुनापती, लिखु तामाकोशी, गोकुलगङ्गा र उमाकुण्ड गाउँपालिका रहेका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, ललितपुरको बागमती, कोन्ज्योसोम र महाँकाल गाउँपालिका र गोदावरी नगरपालिका पनि विपत् सङ्कटग्रत क्षेत्र घोषणाभित्र परेको छ । काभ्रेपलाञ्चोकको रोसी, तेमाल, बेथानचोक गाउँपालिका, चौँरीदेउराली र महाभारत गाउँपालिका काभ्रेकै मण्डनदेउपुर नगरपालिका, पनौती र नमोबुद्ध नगरपालिका छन् ।
सिन्धुलीको गोलन्जोर, सुनकोशी र फिक्कल गाउँपालिका, प्राधिकरणका सहसचिव अधिकारीका अनुसार मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका पनि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणाभित्र परेको छ ।
गत ११ र १२ असोजमा परेको अविरल वर्षाले यी स्थानीय तहमा सबैभन्दा धेरै क्षति पु¥याएको थियो ।
प्रतिक्रिया