दलित समुदायका विश्लेषक तथा लेखक इन्द्र टमटाले एउटा लेखमा नेपालको दलित आन्दोलन ट्रेड मिलमा दौडिएको दौड्यै छ भनेका छन् । हामीलाई थाहा भएकै हो ट्रेड मिलमा दौडिएर कहीं गन्तव्यमा पुगिंदैन । अहिले हाम्रो आन्दोलनको अवस्था पनि त्यस्तै छ, अर्थात् यो आन्दोलनमा अहिले न त कुनै विचार छ, न कुनै संगठन र नेतृत्व । तर चिन्ता गर्ने भने धेरै छन्, जसले ट्रेड मिलमा दौडिएर स्वस्थ भएको अनुभव त गर्छ तर त्यो एउटा व्यक्तिमा सीमित हुन्छ । समग्र समुदायलाई कुनै असर हुँदैन ।
अहिले ठूलो संख्यामा दलितहरू विभिन्न राजनैतिक संगठनमा विभिन्न रूपमा आबद्ध छन्, माओवादीका युवा दलित नेताले दाबी गरे अनुसार उसको ७ लाख संगठित सदस्यहरूमध्ये एक लाख दलित नै छन् । त्यस्तै एमाले, कांग्रेसमा पनि ठूलो संख्यामा दलितहरू आबद्ध छन् तर, उनीहरू कसैसँग पनि दलित मुक्तिको खाका त परको कुरा सपना समेत छैन ।
दलित समुदायलाई आर्थिक रूपमा शोषण तथा पराधीन राख्ने एउटा प्रथा थियो बालीघरे, खलो तथा लगी प्रथा । पूर्वतिर बालीघरे, मध्य तथा सुदूरपश्चिमतिर खलो तथा लगी प्रथा भनिन्छ । यो प्रथामा दलितहरूसँग भएको जातिगत सीपको उपयोग गरे बापत विष्ट–बराजु भनिने गैरदलितहरूले बाली भित्र्याएको बेला केही सडेगलेका अन्नहरू दिने अभ्यास हो । त्यस्तै, दशैं–तिहार जस्ता चाडहरूमा आफ्नो घरमा बचेखुचेका केही खाना तथा पुराना कपडाहरू दिने प्रचलन पनि ।
अहिले पार्टीमा लाग्ने दलितहरू यही बालीघरे प्रथामा रमाइरहेका छन् भन्दा अत्युक्ति नहोला । अझ रमाई पनि के रहेका छन् । साथै, आश र त्रासमा आफ्नो सम्पूर्ण राजनैतिक जीवन बिताइरहेका छन् । बालीघरे प्रथामा त कमसेकम केही कमसल भए पनि अन्न त पाइन्थ्यो तर यो राजनैतिक बालीघरेमा कुनै राजनैतिक भागबन्डा पाइन्थ्यो कि भनेर आश गरेर बस्ने बाहेक केही हात लागेको देखिंदैन ।
भन्न त मान्छेहरूले भन्लान्, समानुपातिक मार्फत केही सांसद पद त पाएकै छन् । त्यो पद पनि संवैधानिक व्यवस्थाका कारणले बाध्यकारी भएर पाएका हुन्, नत्र भने त्यही पनि सम्भव हुन्थेन । अहिले एमाले र कांग्रेसको गठबन्धन सरकार छ । एमालेको ठूलो भ्रातृ संगठन उत्पीडित जातीय मुक्ति समाज क्रियाशील छ । उनीहरूको गतिविधिहरू सामाजिक सञ्जालमा पोस्ट भएअनुसार लाग्छ– उनीहरूले पार्टीको दलितभित्रको भोट बैंक सुरक्षित गरिरहेका छन् र पार्टीलाई पटक–पटक सत्तामा पुर्याउन अहम् भूमिका खेलिरहेका छन् ।
तर पार्टी पटक–पटक सत्तामा पुग्दा दलितले बाध्यकारी संवैधानिक तथा कानुनी नियुक्ति बाहेक अन्य के पाए ? खासगरी मुक्ति समाज जसले नाममा दलित शब्द नजोडे पनि दलितहरूकै संगठन बनाएर पार्टीका विष्ट बराजुहरूलाई सत्ताको स्वाद चखाइरहेको छ र आफू जसरी बाली लिन जाँदा अलि उदार विष्टको घर भए पिंढीसम्म, नभए आँगनबाटै अन्न थापेर ल्याउने जस्तै, त्यति पनि कुनै हिस्सा सत्तामा पाएको देखिंदैन । कुनै पनि राजनैतिक पार्टीहरूको अभीष्ट भनेको जसरी पनि सत्तामा पुग्ने हो, किनभने सत्ता पनि पावर हो, सत्ता भनेको स्रोत हो, सत्ता भनेको शासन गर्ने माध्यम हो ।
त्यो माध्यममा पुग्न उनीहरूले जुनसुकै स्तरका हतकण्डा अपनाएको देखिन्छ त्यसमा दलितहरूलाई बलियो र भरपर्दो भर्याङ । मेरो विचारमा एमालेको मुक्ति समाज सो पार्टीका अन्य भ्रातृ संगठनको तुलनामा एउटा सशक्त र ठूलो संगठन हो । त्यस्ता भ्रातृ संगठनको प्रयोजन मूलतः उनीहरूले प्रतिनिधित्व गर्ने समुदाय सम्बन्धी नीति, कार्यक्रम, बजेट र सरकारको आवश्यक ठाउँहरूमा समानुपातिक समावेशी नीति अनुसार प्रतिनिधित्व गराउनु हो ।
तर अहिलेको मूलधारका पार्टीहरूले सत्तारोहण गर्दा आफ्ना सजातीय तथा आसेपासेहरूलाई त जसरी पनि सत्तामा पुर्याउँछन् तर जब दलितलाई त्यहाँ पुर्याउनुपर्ने अवस्था आउँछ, त्यति बेला दलित छुट्ने गर्दछन् ।
त्यसको पछिल्लो उदाहरण हो एमालेबाट छविलाल विश्वकर्मा जसको मिडियामा खुबै चर्चा भएको थियो । त्यस्तै नेपाली कांग्रेसको कोइराला गुटका जीवन परियार । यी दुवैलाई अन्तिम समयमा आएर पाखा लगाइयो । कतिसम्म भने शेखर गुट जसले कांग्रेसको भागमा आफ्नो हिस्सा मागिरहेको मात्र थिएन, समावेशी नभएको पनि आरोप लगाइरहेको थियो, उसले आफ्नो गुटका एक सशक्त दाबेदार जीवन परियारलाई पाखा लगाएर अरूलाई नै सिफारिस गर्यो । अर्थात् दलितहरू यी दुइटा ठूला पार्टीहरूको बालीघरेबाट पनि वञ्चित भए ।
यसरी दलितहरूलाई पाखा लगाइएको कुरा यसपालि मिडियाहरूले जोडतोडका साथ आफ्नो समाचार, फिचर तथा लेखहरूबाट उठाए । उता दलित अधिकारकर्मीहरूले पनि झिनो स्वरमै भए पनि असन्तुष्टि जनाए । तै लाजकाजै भए पनि कांग्रेसले वन राज्यमन्त्रीमा रूपा विकलाई पठायो । यता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भने कुनै टेरपुच्छर लगाएनन् ।
यसरी दलितहरूलाई देशको एउटा महत्वपूर्ण जनसांख्यिक हिस्सा भएता पनि सधैं उपेक्षा गर्दै आइयो । यही परिप्रेक्ष्यमा ‘दलितलाई खै’ भन्दै जोडतोडका साथ अभियान चलाउने नायकको रूपमा उदाए दैलेखका पत्रकार तथा दलित अभियन्ता खगेन्द्र सुनार ।
जुनसुकै देशको आन्दोलनले पनि एउटा नायक खोजिरहेको हुन्छ । किनभने जसरी मौरीको बथानले आफ्नो रानीको वरिपरि नै अस्तित्व र जीवन पाउँछ कुनै पनि आन्दोलनले आफैं स्वस्फूर्त रूपमा केही काम गर्दैन । एउटा नायकले उठाएको सवालमा आफूलाई जोड्दै लैजान्छ र आन्दोलनलाई गन्तव्यमा पुर्याउँछ ।
त्यस्तै गन्तव्यमा पुर्याउन आफ्ना सबै इच्छा–आकांक्षाहरू त्यागेर अगाडि आएका छन्, खगेन्द्र सुनार । उनले लगभग ४५ दिनभन्दा बढी मूलतः आफ्ना केही सहयोगीका साथमा माइतीघरमण्डलमा ‘दलितलाई खै’ भन्दै करीब ७ किलोको नेल हत्कडी लगाएर घाम–पानी तथा दिन–रात नभनी सडकमा उभिए ।
उनको यो आन्दोलनलाई संभवतः उनी आफैं कुनै समय क्रियाशील र सशक्त पत्रकार भएका नाताले होला । नेपालका राष्ट्रिय तथा मूलधारको मिडियाहरूले खुब साथ दिए र उनको आन्दोलनलाई सकेसम्म हाइलाइट गर्ने कोसिस गरे, यसले गर्दा उनको अभियानलाई प्रशस्तै बल दियो ।
यो अभियान सुरु गर्नुभन्दा पहिले उनले हामीसँगको कुरामा संविधान जारी भएको असोज ३ गते देशभरिबाट एक लाख मान्छे उतार्छु भनेका थिए । म आफैं पनि अभियानकर्मी भएको हुँदा उनको यो भनाइलाई हावा कुरा भन्ने सोचिरहेको थिएँ । उनीसँग छलफलकै क्रममा उनले केही महिना अघि ३ महिनाभन्दा बढीको भारत यात्राको कुरा गरेका थिए । जस अन्तर्गत उनले दलितहरू धेरै संख्यामा बसोबास गर्ने मद्रास, बैंगलोर, मुम्बई लगायत ठाउँहरूमा गएर उनीहरूसँग सबै प्रकारको सहयोग गर्न अनुरोध गरेका थिए ।
गण्डकीदेखि पश्चिमतिरका ७५ प्रतिशतभन्दा बढी दलितहरू रोजगारीका लागि भारत जाने गर्दछन् । पहिले पनि यो क्रम थियो र अहिले पनि छ, खगेन्द्रका अनुसार पहिले–पहिले पनि नेपालीहरूले गर्ने काम भनेको जागते रहो भन्दै गर्ने चौकीदारी, होटलमा भाँडा माझ्ने लगायत अत्यन्त कम तलब तथा सम्मान पाइने काम गर्ने हो ।
जसरी रवि लामिछानेले आफ्नो नायकत्वका साथै एउटा बलियो टिम बनाएर पार्टी राजनीति मार्फत यति चाँडो सत्तामा पुग्न सफल भए त्यसरी नै खगेन्द्रले पनि एउटा बलियो र बौद्धिक टिम बनाएर अगाडि बढ्नुको विकल्प छैन । नत्र, उनी दीपक मनाङे जस्तो सत्तामा छिर्के दाउ हान्ने अवस्थामा त पुग्लान् तर त्यसले दलित आन्दोलनलाई कहीं पुर्याउने छैन ।
तर अहिले भारतको आर्थिक उन्नतिसँगै उनीहरूको आम्दानी र सम्मान बढेको र त्यहाँ परिवारै सहित काम गर्नेहरूले महिनाको एक–डेढ लाखसम्म कमाउने गरेको सुनाए । त्यो कसरी भन्दा, त्यहाँ अहिले ठूल्ठूला हाइराइज विल्डिङहरूमा धेरै मध्यम वर्गीय परिवारहरू बस्छन् । त्यहाँ काम गर्ने चौकीदारले न्यूनतम पनि महिनाको २५ हजार तलब पाउँछ र उसको श्रीमतीले ती विल्डिङमा बस्ने परिवारहरूमा ८/१० घरमा घरायसी काम गरे भने पनि महिनाको ५०/६० हजार सजिलै कमाउने रहेछन्, यसरी श्रीमान् र श्रीमतीको तलब जोड्दा नेपाली रुपैयाँ एक लाखभन्दा बढी हुने रहेछ ।
यसरी काम गर्नेहरू अधिकांश पूर्व माओवादी लडाकूहरू रहेछन् र उनीहरू राजनैतिक रूपले अत्यन्त सजग र सक्रिय नहुने कुरै भएन । उनीहरूलाई दुःखेसो र पछुतो रहेछ, देश र जनताको लागि भनेर लडिएन मात्रै भारत हाम्रो प्रमुख शत्रु हो, उसको विरुद्ध सुरुङ युद्ध समेत गर्नुपर्छ भनेर हामीलाई उकासे र माओवादीका प्रचण्ड लगायत नेताहरू सत्तामा पुगे तर हामी पनि त्यही भारतको शहर र गल्लीहरूमा गुलामी गर्न बाध्य भइयो, यस्तै गर्नु थियो भने माओवादीमा किन लागियो भन्ने पछुतो रहेछ ।
त्यस्तोमा उनीहरूले नेपालमा सशक्त रूपमा कसैले आन्दोलन छेडेमा त्यसलाई जुनसुकै प्रकारले सहयोग पुर्याउने बताएका रहेछन् ।
नभन्दै मैले व्यक्तिगत रूपमा कुनै किसिमले नपत्याएको ठूलो जनसमूह असोज ३ गते माइतीघरमण्डलदेखि बानेश्वरसम्म देखियो । नेपालको दलित आन्दोलनमा त्यो रूपमा त्यो पनि काठमाडौंमा मैले आफ्नो जीवनकालमा देखेको थिइनँ । खगेन्द्रले बताए अनुसार त्यसमा सहभागी धेरै जना आफ्नै खर्चमा भारत प्रवासबाट आएका थिए । यी सबै कुराहरूलाई हेर्दा खगेन्द्र सुनारलाई विश्वास गरेर उनलाई साथ सहयोग दिने देश–विदेशमा एउटा ठूलो जमात दलित समुदायको रहेछ भन्ने देखियो ।
यसले दलित समुदायलाई अब सत्ताधारीहरूले सधैंको जस्तो बालीघरे बनाएर राख्ने जमाना गयो भन्ने स्पष्ट सन्देश दिएको छ, यसलाई आत्मसात् गरेर यदि पार्टीहरू सच्चिए भने ठीकै छ नत्र भने ढिलो–चाँडो दलित समुदायले आफ्नो छुट्टै राजनैतिक शक्ति निर्माण गर्नुको विकल्प छैन ।
३२ वर्षका युवा खगेन्द्र सुनार जो आफैंमा एक ओशो संन्यासी हुनाले आफ्नो बलियो नायकत्व अभियान र वक्तृत्वकलाबाट प्रमाणित गरिसके । त्यो नायकत्वलाई म सलाम गर्न चाहन्छु । तर उनको त्यो एक्लो नायकत्वले दलित समुदायलाई कहींकतै नपुर्याउने देख्छु ।
जसरी रवि लामिछानेले आफ्नो नायकत्वका साथै एउटा बलियो टिम बनाएर पार्टी राजनीति मार्फत यति चाँडो सत्तामा पुग्न सफल भए त्यसरी नै खगेन्द्रले पनि एउटा बलियो र बौद्धिक टिम बनाएर अगाडि बढ्नुको विकल्प छैन । नत्र, उनी दीपक मनाङे जस्तो सत्तामा छिर्के दाउ हान्ने अवस्थामा त पुग्लान् तर त्यसले दलित आन्दोलनलाई कहीं पुर्याउने छैन ।
लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।
Source: onlinekhabar.com
प्रतिक्रिया