बागलुङको विद्यालयमा अतिरिक्त क्रियाकलापमा पञ्चेवाजा, बाजा बजाउँदै

असोज २९ गते, बागलुङ । 
विहेवारी, पञ्जवोली र चाडपर्वमा बज्ने पञ्चेवाजा, नौमती बाजाको संस्कृति नेपालीहरुको मौलिक संस्कृति हो । पछिल्ला समयमा यस्ता बाजाहरु सार्वजनिक समारोहका कार्यक्रमहरुमा पनि बज्न थालेका छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा यस्तै एउटा सार्वजनिक कार्यक्रम भईरहेको थियो । जहाँ दमाहा, मादल, सनही, झ्यालीलगायतका बाजाहरु बजाउदै थिए, स्कुल पढ्ने स साना बालबालिकाहरु । उनीहरु थिए, बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा पढ्ने बालबालिकाहरु । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक दंग पर्छन् । 

कक्षा ४ मा अध्ययनरत विवेक परियारले ढोलक बजाउँदा शिक्षक, अभिभावक अचम्मित हुन्छन् । उनीहरुले नौमती बजाउँदा मेला महोत्सव र सार्वजनिक कार्यक्रमको रौनक थपिने गरेको छ । विवेक परियार एक बर्षदेखी बाजा बजाउदै आएका छन् । विद्यालयले पाठ्यक्रमका अतिरिक्त रैथाने सीप सिकाइरहेको छ । त्यसअघि एक दुई जनाले घरमा अभिभावकसँग पनि सिकेका थिए । विद्यालयले समूहमा राखेर सिकाएपछि सबैजना बाजा बजाउन जान्ने भएका हुन् । सिकाइकै लागि उनीहरु मेला महोत्सव, धार्मिक र सांस्कृतिक कार्यक्रममा बाजा बजाउँछन् । पारिश्रमिक लिएर भने उनीहरुले हालसम्म बाजा बजाएका छैनन् । 

गत वर्षदेखि विद्यालयले बालबालिकालाई नौमती बाजा सिकाउन थालेको प्रधानाध्यापक तिलक आचार्यले बताउनुभयो । विद्यालयकै शिक्षक थमबहादुर परियारलाई सबै बाजाको ज्ञान भएकाले उहाँले इच्छुक विद्यार्थीलाई प्रशिक्षण दिइरहनुभएको छ । सुरुमा गाउँमा बाजा बजाउन सिकाएपछि हौसिएका बालबालिकालाई विद्यालयले रु. तीन लाख खर्चेर नौमती बाजाको ‘सेट’ नै ल्याइदिएपछि अहिले नियमित सिकिरहेका छन् ।

नौमती सिक्नेमा परियारबाहेक अन्य जातका पनि छन् । सबै मिलेर नौमती बजाउन जान्ने भएपछि बालबालिकालाई हरेक शुक्रबारको अतिरिक्त क्रियाकलापमा बाजा बजाउने प्रतियोगिता गराउन थालिएको प्रधानाध्यापक तिलक आचार्यले जानकारी दिनुभयो ।

विद्यालयले विज्ञान प्रयोगशाला जस्तै बाजा सिक्ने कक्षलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ । “यहाँ धेरैले चासो राखेपछि एकजोर नौमती बाजाले नपुग्ने भयो । अभिभावक र विदेशमा बस्ने युवाबाट सहयोग जुटाएर कम्तीमा दुई जोर बाजा पु ¥याउने लक्ष्य छ”, प्रअ आचार्यले भन्नुभयो । 
 

प्रतिक्रिया