महिलालाई स्रोतसाधन र अधिकारले सबल पार्ने कार्य नै महिला सशक्तीकरणभित्र पर्छ । महिलाले आफू निर्धक्क भएर आफ्नो जीवनसँग सम्बन्धित हरेक निर्णय आफैँ गर्ने अधिकार प्राप्त गर्नु पनि यसमा पर्छ । सशक्तीकरण एउटा यस्तो प्रक्रिया हो, जसले मानिसमा अन्तर्निहित क्षमतालाई जागृत गराउँछ । यसले मानवीय जीवनलाई गतिशील बनाउँछ । यो समाजमा रहेका कुसंस्कार, कुरीति, विभेदको अन्त्य गरी समानतातर्फ उन्मुख हुने प्रव्रिmया हो । स्वावलम्बन वृद्धि, आत्मनिर्भरता, सञ्जाल निर्माण, साङ्गठनिक सशक्तता, लविङ जस्ता प्रक्रिया पनि सशक्तीकरणमा जोडिएका हुन्छन् । सशक्तीकरणले कार्यक्षमता र कार्यशैलीमा वृद्धि हुन्छ । स्रोतसाधनमा पहुँच बढ्छ ।
महिला सिर्जनाका शक्ति हुन् । उनीहरू आफ्नो परिवारको सुख, शान्ति र समृद्धिका लागि निःस्वार्थ भएर खटिरहेका हुन्छन् । त्यसैले महिला सशक्तीकरणले विकास निर्माणको कार्यदेखि सद्भाव र मेलमिलापको वातावरण तयार हुन्छ । महिलाविरुद्ध हुने भेदभाव, असमानता, शोषण हटाउन समाधानका उपाय खोज्नु पर्छ । अनि मात्र महिलाको सर्वाङ्गीण विकासमा केन्द्रित हुन सकिन्छ । महिलाको स्तरोन्नति, लैङ्गिक समानता र गुणात्मक जीवनको निर्माणका लागि व्यावहारिक रूपान्तरण आवश्यक हुन्छ ।
नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी भाग महिलाले ओगटेका छन् । पुरुषको जनसङ्ख्या ४८.८६ प्रतिशत र महिलाको जनसङ्ख्या ५१.१३ प्रतिशत रहेको छ । त्यसैले उनीहरूको विकास नभई समाज अगाडि बढ्न सक्दैन । समाजमा भएका कुरीति, विकृति, विसङ्गति, अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, लैङ्गिक विभेद, चेलिबेटी बेचबिखन, वेश्यावृत्ति, अन्धविश्वास, राजनीतिक अस्थिरता जस्ता सामाजिक समस्या न्यूनीकरण गर्न पुरुषजत्तिकै महिला पनि शिक्षित र सशक्त हुन आवश्यक छ । विभिन्न बाधा व्यवधान र कार्यभारका कारण महिलालाई समान अवसर दिइए पनि महिला र पुरुषबिच समानता कायम हुन सकेको छैन । पारिवारिक जिम्मेवारी जस्तै बालबच्चाको स्याहारसुसार, घरायसी कार्य गर्नुपर्दा महिलाले बाहिरको कामसँग समय मिलाउन सक्दैनन् । त्यसैले महिलालाई पुरुषसरह पु¥याउन संरक्षण, तालिमका साथै विविध कार्यक्रमको खाँचो छ । सामाजिक, आर्थिक, राजनीतिक आदि क्षेत्रमा महिला र पुरुषको समान पहुँच वृद्धि गर्न महिला र पुरुषबिचका सबै किसिमका विभेद र असमान व्यवहार हटाउनु पर्छ । पुरुषसरह महिलालाई अधिकार र जिम्मेवारीसँगै उत्तरदायित्व पनि दिनु पर्छ ।
लैङ्गिक भेदभाव अन्तर्गत महिला वा पुरुषमध्ये कुनै एकलाई सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक पक्षमा संलग्न हुन एकलाई प्रोत्साहित गर्नु, समर्थन गर्नु, सहयोग गर्नु तर अर्कोलाई निरुत्साहित गर्नु भन्ने हुन्छ । महिलाउपर हुने सबै प्रकारका भेदभाव निर्मूलसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धिपत्रलाई नेपालले सन् १९९१ अप्रिल २२ गते अनुमोदन ग¥यो । यो महिलाविरुद्ध हुने महत्वपूर्ण उपलब्धिमूलक महासन्धि हो, जसमा निम्न लिखित अधिकारमा जोड दिइएको छ ।
– बेचबिखन तथा वेश्यावृत्तिका लागि गरिने यौनशोषणविरुद्धको अधिकार,
– सार्वजनिक र राजनीतिक जीवनमा सहभागिताको अधिकार, राष्ट्रियता र शिक्षासम्बन्धी अधिकार, रोजगारसम्बन्धी अधिकार, स्वास्थ्यसम्बन्धी अधिकार, आर्थिक तथा पारिवारिक लाभको अधिकार, ग्रामीण महिलालाई विशेष अधिकार ।
– कानुनी समानताको अवसर, विवाद तथा परिवारको अधिकार आदि ।
मानवीय अस्तित्व तथा सामाजिक व्यवस्थापन र निरन्तरताका लागि समाजमा महिला र पुरुषले विभिन्न कार्य सम्पादन गर्छन् । महिला तथा पुरुषले सम्पादन गर्ने भूमिकाको कार्यभार, प्रतिफल, सामाजिक मूल्याङ्कन समान नहुन सक्छ । यसले महिला तथा पुरुषलाई प्रत्यक्ष/अप्रत्यक्ष असर पार्छ । फलस्वरूप महिला र पुरुषको जीवनयात्रा प्रभावित हुन पुग्छ । वास्तवमा लैङ्गिक अध्ययनले महिला र पुरुषबिचमा रहेका सामाजिक, आर्थिक, राजनीतिक समानता तथा असमानता विभेद, दमन, शोषण आदिको अध्ययन गर्छ । महिला र पुरुषको स्वतन्त्र, समन्वयी, प्रतिस्पर्धी, उपयोगी, स्वावलम्बी हितकारी सक्षम तथा प्रभावकारी आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, मनोवैज्ञानिक पक्षको अवस्था, सम्बन्ध अन्तर्क्रिया, समानता विभेद, असमानता आदिको विश्लेषण गर्दै महिला र पुरुष समानताको खोजी गर्न अध्ययन अनुसन्धान गर्ने व्यवस्थित सामाजिक विज्ञान नै लैङ्गिक अध्ययन हो । यसले महिला र पुरुषको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक आदि अवस्था र स्थितिको अध्ययन अनुसन्धान गर्छ ।
पितृसत्तात्मक व्यवस्थामा पुरुषको स्थान उच्च हुन्छ भने महिलाको स्थान निम्न । पुरुषको हातमा सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक शक्ति हुन्छ तर महिला ती शक्ति र अधिकारबाट वञ्चित हुन्छन् । महिला शोषण विश्वव्यापी रूपमा रहेको छ । नेपालको सन्दर्भमा पनि पुरुषसरह सामाजिक–सांस्कृतिक अधिकारबाट महिला वञ्चित छन् । पितृसत्तात्मक मुलुकमा यस्तो अवस्था देखिन्छ । महिलालाई बढी घरायसी कार्यमा लगाइनु अनि उक्त कार्यलाई अनुत्पादक रूपमा लिइनु तथा सम्पत्ति, आम्दानी र अन्य स्रोतमा पुरुषको नियन्त्रण हुनुले महिला पीडित बन्न पुगेका छन् । त्यसैले महिलाको भूमिकालाई यी क्षेत्रमा बढाउन आवश्यक छ । अनि मात्र महिला सशक्तीकरण र लैङ्गिक समानततातर्पm हाम्रो समाज पनि अगाडि बढ्छ । लैङ्गिक अध्ययनले केवल महिलाको मात्र वकालत गर्दैन, यसले पुरुषको पक्षमा पनि आवाज उठाउँछ । महिला र पुरुष दुवैको समान महत्व हुन्छ भन्ने यथार्थलाई उजागर गर्छ ।
समाज एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि शिक्षित, सम्भ्रान्त र उच्च वर्गका महिला पनि पीडित अवस्थामा छन् । महिला स्वतन्त्रता र अधिकारलाई कुण्ठित बनाउने कार्य भएको बेलाबखत सुनिन्छ । महिलालाई योग्य र क्षमतावान् बनाउन राज्यले महिला लक्षित योजना र कार्यक्रम बनाई विकासको पथमा अग्रसर गराउनु पर्छ । महिला शिक्षित, सक्षम र सबल भएमा परिवार, समाज र सिङ्गो राष्ट्रमा अज्ञानता हटेर जान्छ । महिला सशक्तीकरण समयको माग हो । यसमा कार्य गर्नु राष्ट्रको दायित्व र हामी सबैको कर्तव्य हो । सबै पक्षमा निर्धक्क भएर बोल्न अनि आफ्नो जीवन आत्मनिर्भर बनाउन र स्वतन्त्र भएर बाँच्न महिला सशक्त हुनु आवश्यक छ ।
अहिलेको समयमा महिला पुरुषसरह प्रतिस्पर्धामा उत्रिन थालेका छन् । त्यसैले समाजबाट परम्परागत सोचाइ हट्दै गएको छ तर यसबारे भएका नीतिनियम कार्यान्वयनमा तीव्रता ल्याउनु पर्छ । यसका लागि सबै महिला एकजुट भई अगाडि बढ्नु पर्छ । आपूm पनि ज्ञान र सिपका काम सिक्ने र अरूलाई पनि सिकाउनु पर्छ । नारी र पुरुष भनेका एक अर्काका पूरक हुन् ।
एकबिना अर्कोको अस्तित्व हुँदैन । पुरुषप्रधान समाजमा नारीले धेरै दुःख, पिर, अपमान भोग्नु परेको कुराको अनुभूति पुरुषलाई नहुन सक्छ । त्यसैले पुरुषलाई नारीले हरेक कुरामा साथ दिएर अघि बढाए जस्तै पुरुषले पनि नारीलाई साथ दिएर अगाडि बढाउनु पर्छ । नारी र पुरुष समाजमा हातेमालो गरी अगाडि बढेमा मात्र समृद्ध र शान्त नेपाल निर्माण गर्न सकिन्छ । महिला र पुरुष एक अर्काका परिपूरक भएकाले एकले अर्कालाई हेप्ने र सताउने होइन, सघाउन गर्नु पर्छ । अनि मात्र सामाजिक र सांस्कृतिक दृष्टिले महिला र पुरुषको अस्तित्व समान रहन्छ ।
प्रतिक्रिया