सुनिरा र रितिक चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिसमा च्याम्पियन

काठमाडौं ११ ।

सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन भएका छन् । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा सुनिरा महिला सिंगल्स र रितिक पुरुष सिंगल्समा च्याम्पियन भएका हुन् । सिंगल्स च्याम्पियनद्वय रितिक र सुनिराले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाए । नेपाल टेनिस संघको कोर्टमा भएको पुरुष सिंगल्सको फाइनलमा सुनिराले अभिलाशा बिष्टमाथि ६–४ र ७–५ को जित रचिन् । पुरुष सिंगल्सको फाइनलमा रितिकले राजवीर प्रधानलाई ६–१ र ६–३ ले हराए । सिंगल्समा दोस्रो भएका खेलाडीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पुरुष सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले संयुक्त रूपमा तेस्रो भए । महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका बिष्ट तेस्रो भए । तेस्रो स्थानका खेलाडीलाई समान १२ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । पुरुष ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी च्याम्पियन भए । कमलले फाइनलमा छेवाङ लामामाथि ६–१ र ६–२ को जित रचे । च्याम्पियन कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार सात सय ५० रुपैयाँ प्राप्त गरे । यसै उमेरसमूहमा सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे । यी दुईले तीन हजार १२५ रुपैयाँ प्राप्त गरे ।

पुरुष डबल्समा आयुष्मान घले र प्रदीप खड्काको जोडीले सफलता पाएका थिए । महिला डबल्समा भने खेलाडी संख्या नपुगेपछि प्रतिस्पर्धा रद्द गरिएको थियो । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरूषमा ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री र डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि सिंगल्समा कमल थापा र डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि सिगंल्समा कमल थापा र डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडीले सफलता पाए ।

३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ पाए । ३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय प्राप्त गरे । ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार  २५० रूपैयाँ पाउनेछन् । यसै उमेरसमूहका डबल्स विजेताले २५ हजार, १२ हजार पाँच सय र तेस्रो हुनेले १२ हजार पाँच सय रूपैयाँ पुरस्कार पाउनेछन् ।

जुनियरतर्फ बोइज र गल्र्समा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा भयो । प्रतियोगिताको विजेतालाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले लगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया