अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी

न्यूयोर्क — संयुक्त राज्य अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी हुनुभएको छ । 
ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।  

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुनुभएको छ । उहाँको यो नयाँ रेकर्ड हो ।  

सन् २०१६ मा ट्रम्प हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बन्नुभएको थियो । तर सन् २०२० मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनसँग पराजित हुनभएको थियो । यसपालि भने उहाँले डमोक्र्याटिककी कमला ह्यारिसलाई हराउनुभएको हो । 

अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । ट्रम्पले यसपटकको चुनावमा निर्णायक ठानिएका सातवटै ‘स्विङ स्टेट्स’हरू पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा क्लिन स्वीप गर्ने देखिएको छ ।

अमेरिकाका ५० राज्यमध्ये धेरै जसो राज्यमा प्रायः एउटै पार्टीले राष्ट्रपतीय निर्वाचन जित्ने गरेको छ । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ । दुईमध्ये जुनसुकै उम्मेदवार विजयी हुनसक्ने राज्यलाई ‘स्विङ स्टेट्स’ भनिन्छ ।

राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि प्रायः ती राजनीतिज्ञले अर्को पटक उम्मेदवार बन्ने प्रयास गर्दैनन् । त्यस्तो प्रयास गर्ने राजनीतिज्ञले पार्टी भित्रकै चुनाव जित्ने सम्भावना कम हुन्छ । तर रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको जबरजस्त पकड थियो । 

यसअघि १३२ वर्ष पहिले सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तै रेकर्ड बनाउनुभएको थियो । पहिलो पटक सन् १८८५ मा २२ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएका क्लिभल्यान्ड सन् १८८९ मा पराजित हुनुभएको हो । । त्यसपछि फेरि सन् १८९३ मा २४ औं राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया