ओखलढुङ्गा, मङ्सिर ७ गते । ओखलढुङ्गा केउरिनी गाउँको दलित बस्तीमा 'एक घर एक धारा' खानेपानी सुविधा पुगेको छ । सिद्धिचरण नगरपालिका–२ ठुलाछापको केउरिनी दलित बस्तीका २८ घर परिवारको प्रत्येक घरमा खानेपानी सुविधा पुगेको हो ।
घर घरमा खानेपानीको सुविधा पुगेपछि स्थानीय हर्षित भएका छन् । सिद्विचरण नगरपालिका, वडा कार्यालय, साहस नेपाल र स्वयंसेवी अभियान नेपालको करिब नौ लाख आर्थिक सहयोग र स्थानीयको जनश्रमदानमार्फत खानेपानी आयोजना सम्पन्न भएको वडा अध्यक्ष वसन्त कटवालले बताउनुभयो ।
धेरै वर्ष अघि देखि खानेपानीको समस्या झेल्दै आएका केउरिनीका नागरिकलाई घर घरमा पानीको धारा पुर्याइएको वडाध्यक्ष कटवालको भनाइ छ । खानेपानी आयोजनाको कोशी प्रदेश सांसद प्रदीप सुनुवारले उद्घाटन गर्नुभएको छ ।
जिल्लाको कतिपय स्थानमा अझै पनि खानेपानीको चरम अभाव रहेकोले त्यसको समाधानका लागि पहल भइरहेको प्रदेश सांसद सुनुवारले बताउनुभयो। सोही अवसरमा नगरपालिकाले नागरिकका आवश्यकतालाई विचार गरी नीति, कार्यक्रम र बजेट ल्याएकोले आगामी दिनमा खानेपानी र विद्युत लगायतका बाँकी काम द्रुतगतिमा हुने कार्यक्रमा सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया