सन्थाल समुदायका एक्ला उपसचिव

पहिलो प्रयासमै २०७२ मा कानुन सेवातर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल विश्वदीप बेस्राको पहिलो ‘पोस्टिङ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भयो, २०७७ मा उपसचिवमा बढुवा भएर सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा विगत तीन वर्षदेखि कार्यरत छन् भने उनी यस मन्त्रालयका प्रवक्ता पनि हुन्

विराटनगर — लोपोन्मुख आदिवासी सन्थाल समुदायका विश्वदीप बेस्रा समुदायकै पहिलो उपसचिव हुन् । मूलतः पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सन्थाल समुदायको बसोबास छ । करिब ५० हजार हाराहारी जनसंख्या रहेको सन्थाल समुदायबाट यत्तिको उच्च ओहदामा पुग्ने उनी पहिलो र एक्लो प्रतिनिधि हुन् । निरन्तरको मिहिनेत र परिश्रम गर्ने स्वभावले विश्वदीपलाई सफलताको शिखर चुम्न सहज भएको हो । 

२०७२ मा लोक सेवा भिडेर पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकाले, त्यो पनि खुला प्रतिस्पर्धाबाट । आदिवासी जनजातिका लागि आरक्षणको व्यवस्था पनि थियो तर उनले खुलाबाटै भिड्ने निधो गरे । अन्ततः पहिलो पटकमा नै नाम निकालेर सबैलाई चकित पारे । २०७७ मा उनी उपसचिव भए । त्यो बेला भने उनले परीक्षा दिनु परेन । न्याय सेवा आयोगले उनलाई कार्य मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेको हो ।

दक्षिण झापाको तत्कालीन टाघनडुब्बा गाविस (हाल झापा गाउँपालिका–४ खयरबारी) मा २०४१ मा जन्मिएका हुन् विश्वदीप । अभावै अभावमा उनको बाल्यकाल बित्यो । आदिवासी गाउँमा स्कुल पढ्ने विद्यार्थी भेट्नै मुस्किल थियो । त्यसमाथि सन्थाल समुदायका विद्यार्थी त सिला खोज्नुपर्ने जस्तो स्थितिमा थिए । तर, विश्वदीप भने सानैदेखि स्कुल जान अग्रसर हुन्थे । उनका बुबा सुन्दर बेस्रा नै शिक्षक थिए । बुबाकै कारण सानैदेखि उनमा पढ्ने, लेख्ने काममा बढी लगाव बस्यो । बुबाले २०३७ सालतिर एसएलसी पास गरेका थिए, तत्कालीन तोपगाछी गाविसको सुनहारास्थित बाँसबारी माविबाट । एसएलसीपछि उनीहरू कनकाई नदीपारि तत्कालीन टाघनटुब्बा गाविसमा बसाइँ सरे । त्यसपछि त्यहीँको जगदम्बा प्राविमा पढाउन थाले ।

विश्वदीपले पनि बुबाकै औंला समातेर स्कुल धाए । ५ कक्षासम्म जगदम्बामै पढे, त्यसपछि अलि पर्तिरको गणेशराज मावि धाउन थाले । उनी ‘जान्ने’ विद्यार्थीकै पंक्तिमा थिए । २०५६ सालमा पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । एसएलसीपछि के पढ्ने ? अन्योल भयो उनलाई । बुबाले पनि सल्लाह दिन सकेनन् । परिवारको भित्री चाहना विज्ञान पढेर छोरा डाक्टर या इन्जिनियर होस् भन्ने थियो । तर, विश्वदीपलाई किन हो, सानैदेखि कानुन पढ्न मन थियो । तर, त्यो बेला कानुन पढ्ने कुरा उनको वशमा थिएन । अन्ततः परिवारकै चाहनाबमोजिम झापा भद्रपुरको मेची क्याम्पसमा उनी विज्ञान संकायमा भर्ना भए ।

तर, उनको रुचिको विषय नभएर हो या किन हो एसएलसीपछिको पढाइको गति लगभग धिमा थियो । ‘विज्ञान पढ्ने भएर तीन वर्ष बेकारमा क्षति भयो’, विश्वदीप थकथकी मान्दै भन्छन्, ‘काउन्सिलिङको अभावका कारण मेरो समय बर्बाद भयो ।’ उनी कानुन पढ्ने धाउन्नमा विराटनगरतिर पनि भौंतारिएर हिँडे । तर, उपाय केही भएन । अन्ततः २०५९ मा उनी काठमाडौं उक्लिए । काठमाडौंमा सम्भावनाका अनेकौं ढोका उघार्न सकिन्छ भन्ने उनलाई लागेको थियो । तर, त्यहाँ पनि उनी अलमलमा परे ।

काठमाडौं पुगेर परिवारको चाहनाअनुसारै त्रिचन्द्रमा आईएस्सी पढ्न थाले । आईएस्सी सकेर इन्जिनियरिङतिर पो जान सकिन्छ कि भनेर उनले प्रयत्न पनि गरिहेरे । किनकि नतिजा चित्तबुझ्दो आएन । ५० प्रतिशत नतिजाका आधारमा इन्जिनियरिङतिर जाँदा उपयुक्त हुने उनले ठाने । तर, सोचेजस्तो कहाँ हुन्छ र ? बरु केही समय पढाइमा अवरोध आयो । त्यही बेला उनले निजी स्कुलमा पढाए पनि, जीविका चलाउन । त्यही सिलसिलामा एक दिन एउटा अखबारमा छापिएको विज्ञापनले उनको ध्यान खिच्यो । ‘काठमाडौं स्कुल अफ ल’ ले प्रकाशन गरेको विज्ञापनमा छात्रवृत्तिमा कानुन पढ्न पाइने उल्लेख थियो । खासगरी सीमान्तकृत, दलित, विपन्न समुदायलाई छात्रवृत्तिको अवसर देखेपछि सोधखोज गर्दै उनी त्यता पुगे । त्यहाँ संस्थापक युवराज संग्रौलासँग उनको भेट भयो ।

The only deputy secretary of the Santhal communityकानुन पढ्ने हुटहुटी सुनाइसकेपछि संग्रौलाले उनलाई सोधे, ‘त्रिचन्द्रतिर पढ्नेहरू आन्दोलनकारी मात्रै हुन्छन्, ढुंगामुढा गर्ने काम तिमी त गर्दैनौ नि ?’ संग्रौलाको प्रश्न सुनेपछि विश्वदीपले भनेछन्, ‘आन्दोलन गर्ने फुर्सद मसँग छैन सर, मौका दिनुभयो भने राम्रो नतिजा ल्याएर देखाउँछु ।’ विश्वदीपको उत्तरबाट संग्रौला सायद प्रभावित भए होलान्, पूर्ण छात्रवृत्ति दिने भए । त्यहाँ पाँच वर्ष लगाएर एलएलबी उत्तीर्ण गरे, प्रथम श्रेणीमा । त्यसपछि अमेरिकी दूतावासमा करिब ९ महिना जति ‘इन्टर्नसिप’ पनि गरे । निकै लामो यात्रा तय गरेपछि बल्ल उनलाई लाग्यो, अब सरकारी सेवातिर पनि प्रयास गर्नुपर्छ । कानुन पढ्दाका सहपाठीहरूले पनि सरकारी सेवा करिअरका लागि सुरक्षित हुने भनेर उनलाई त्यतैतिर जोड दिन सुझाएका थिए । ‘एलएलबीको फर्स्ट डिभिजन नतिजाले आत्मविश्वास बलियो थियो । नाम निकाल्छु भन्ने लागेरै लोक सेवा पढ्न थालें,’ उनले सुनाए, ‘लोक सेवा परीक्षाको तयारीसँगै नेपाल ल क्याम्पसमा एलएलएम पनि गर्दै थिएँ ।’

उनले त्यो बेला धेरै मिहिनेत गरे । किनकि उनलाई लाग्यो, अरू उपाय अब केही छैन, पढेर केही नगरे त भविष्य बर्बाद हुन्छ । त्यही डरले मनमा डेरा गरेर बस्यो । टुप्पी कसेर पढ्न थाले । ‘मिहिनेत गरे असम्भव भन्ने केही पनि छैन,’ उनी अनुभव साट्छन्, ‘जीवनकै धेरै मिहिनेत मैले त्यो बेला गरेको थिएँ ।’ अन्ततः २०७२ मा पहिलो प्रयासमै कानुन सेवातर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल भए उनी ।

पहिलो पोस्टिङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भयो । त्यहाँको कानुन तथा फैसला कार्यान्वयन शाखामा करिब दुई वर्ष काम गरेपछि त्यहीँको मानवअधिकार तथा अन्तर्राष्ट्रिय महाशाखामा उनको सरुवा भयो । करिब ५ वर्ष काम गरेपछि २०७७ मा उपसचिवमा बढुवा भएँ,’ उनले थपे, ‘उपसचिवको तयारी गरिरहेको थिएँ, त्यही बेला न्याय सेवा आयोगले कार्यक्षमता मूल्यांकन आधारमा बढुवा गरिदियो ।’ उनले उपसचिवमा प्रतिस्पर्धा गर्नु परेन तर भिड्न भने उनी तयारी अवस्थामै थिए ।

उपसचिव भएपछि सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ महिना जति काम गरे । त्यसपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भयो । त्यहाँ तीन वर्ष काम गरे । उपसचिवमा उनको साढे तीनवर्षे यात्रा जारी छ । हाल उनी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता हुन् । उनको लामो अनुभवले के भन्छ भने सन्थाल समुदायमा काउन्सिलिङको समस्या छ । अन्य समुदायको जस्तो पहुँच सन्थालहरूको छैन ।

एसएलसीपछि के पढ्ने ? कुन बाटो रोज्ने ? के बन्ने भन्ने अन्योलले सन्थालहरूले प्रगति गर्न नसकेको उनी बताउँछन् । ‘धेरैजसो त पढ्दापढ्दै छाड्न बाध्य छन्,’ उनी भन्छन्, ‘दुःख गरेर एसएलसीसम्म पास गरेकाहरू त्यसपछि के पढ्ने, कता जाने भनेर गन्तव्यहीन यात्रीझैं अलमलिएर बसेको पाइन्छ ।’ उनलाई पनि त्यो बेला त्यस्तै भयो । लोक सेवा दिनुपर्छ भन्ने हेक्का पछि मात्रै भयो । त्यो पनि साथीभाइको जोडबलबाट ।

‘झापातिरै पढेको भए त त्यो पनि सम्भव नहुने रहेछ,’ विश्वदीप भन्छन्, ‘काठमाडौंले विकल्पहरू, आइडियाहरूचाहिँ धेरै दियो है ।’ काठमाडौं जाने निर्णय परिवारकै थियो । ठूलो मान्छे बन्न सहर पस्नैपर्छ भन्ने ज्ञानचाहिँ बाबु सुन्दरबाट पाएका थिए । बिरानो सहरमा उनको चिनजान गाउँले दाइ दिलीप बास्केसँग मात्रै थियो । लोक सेवा पढ्ने बेलामा दिलीपले उनलाई धेरै सहयोग र हौसला दिए जसले उनलाई सफलताको शिखर चुम्न सजिलो भयो । शिक्षकको छोरा भएकाले गाउँको स्कुलमा खासै हेपिनु परेन ।

तर, काठमाडौंमा चाहिँ उनले घुमाउरो पारामा विभेद भोग्नुपर्‍यो । खासगरी उनले रङका आधारमा उनीमाथि धेरै विभेद भयो । तर, उनले कहिल्यै प्रतिरोध गर्न सकेनन् । बरु सहेर बसे । ‘रङका आधारमा भएको विभेदले कताकता हतोत्साहितजस्तो बनाउँथ्यो,’ उनी सम्झिन्छन्, ‘त्यही विभेदले मलाई अझै मिहिनेती र परिश्रमी बन्न सिकायो ।’

Source: ekantipur.com 

प्रतिक्रिया