कैलालीका पत्रकार भुलको हत्या सम्बन्धमा अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले पत्रकार सुरेश भुलको कुटपिट पछि भएको मृत्यू सम्बन्धमा एक स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । 
दलित पत्रकार संघको अध्यन टोलीले दलित तथा मानवअधिकारकर्मी र पत्रकारहरुको विचमा एक कार्यक्रम गरी पत्रकार सुरेश भूलको मृत्यू सुनियोजित ढंगले कुटपिट गरी भएको तथ्य सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । 

अध्ययन प्रतिवेदन सार्वजनिक गरेको संघले घटनाको विस्तृत छानविन गरी दोसीहरुलाई कानुनको दायरामा ल्याई कडा कारवाही गरिनु पर्ने, पीडित परिवारलाई तत्काल राहत र न्यायिक क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।  
कैलालीको गौरीगंगा नगरपालिका –११ कान्तिपुरका सुरेश भुललाई स्थानीयले बाख्रा चोरको आरोप लगाएका थिए । आरोपमा एक ठूलो भिडले आक्रमणरगरी मरणासन्न हुनेगरी कुटपीट गरेपछि  उपचारको क्रममा गत कात्तिक २४ गते राति मृत्यू भएको थियो । 

राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष एवं संविधानसभा सदस्य विनोद पहाडीले पत्रकार सुरेश भूल निर्दाेष सावित हुदाहुदै पनि चोरीको आरोपमा ३० हजार रुपैया जरिवाना लगाउनु र फेरी कुटपिट गरी हत्या गरिनुले घटना सुनियोजित ढंगले गराइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “ केही दिनदेखी बाख्रा हराएको खबर आएको र वडा कार्यालय नजिकै सार्वजनिक स्थानमा बाखा चिसोले कठाग्रिएको अवस्थामा भेटिएपछि सुरेश भुलले आफ्नै पसल अगाडि बाँधेर राखिदिएका थिए । तर स्थानीयले चोरको आरोप लगाएर ३० हजार रुपियाँ जरिवाना तिर्दा पनि उनको हत्या भयो । घटना सुनियोनित देखिन्छ ।”  

सूचनाको हक राष्ट्रिय महासंघका अध्यक्ष एवं धनगढीस्थित विविसीका पत्रकार उमिद वागचन्दले पत्रकार सुरेश भूल सार्वजनिक संघसंस्थाहरुमा सूचनाको हक प्रयोग गरी समाचार रिपोर्टिंग गर्दै आएको बताउनुभयो । उहाले यसै शिलसिलामा मृतक पत्रकार भूलमाथी रिसवी लिएको वहाना बाख्रा चोरको आरोपमा कुटपिट गरी हत्या गरिएको हो भन्नुभयो । 

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न ढिलाइ गरेपछि संघले काठमाडौँबाट मिसन टोली पठाएर स्थलगल अध्ययन गरेको थियो । संघका अध्यक्ष विनोद पहाडीको नेतृत्वमा गएको पत्रकारको मिसन टोलीले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको थियो ।  

अध्यक्ष पहाडीले भन्नुभयो, “घटना निकै दुःखदायी छ । निर्दोषलाई कुटेर मारिएको छ । प्रहरी प्रशासनको गैरजिम्मेवारीपन देख्दा न्याय पाउनमा आशंका छ । हामी दोषीलाई कारवाही, पीडितलाई न्याय र क्षतिपूर्तिको माग गर्दछौं ।” 

संघका अनुसार पीडित परिवारको किटानी जाहेरी दिएपछि आठमध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –११ का जंगबहादुर भुल, विशाल विक, दिनेश विक, दिनेश भुल, बिस्ना भुल, रमा रावल र धर्मसिँह विक हुनुहुन्छ । किटानी जाहेरी मध्येका गौरीगंगा नगरपालिका–९ का पवन बोगटी फरार छन् । भुल संघको कैलाली जिल्ला सहसचिव हुनुहुनथ्यो ।
 

प्रतिक्रिया